अरबमा पैसाको रूख भेटिएन

Prabhu Bank

पदम प्रसाद भट्टराई

Saftey Pads

प्रिय साथी दिनेश,
सञ्चै छौ?

अरबतिर दिनहुँ गर्मी बढ्दो छ तातो बालुवाबाट पनि पसिना आउला जस्तो लागिरहेको छ। कामले फुर्सद हुँदैन, आज समय निकालेर मध्यरातमा यो पत्र तिमीलाई लेख्दा पनि म पसिना पसिना भइरहेको छु।

खाडी मुलुकको विशेषता नै हो जाडोमा अत्याधिक चिसो गर्मीमा अझ धेरै तातो हुनु। सास फेर्ने हावादेखि लिएर सम्पूर्ण चिज नै तातो भएको समय र भूगोलमा शीतलताको अनुभुति र आशा त धेरै टाढा कल्पनामा मात्र भेट्ने न हो।

रातको समयमा समेत वातावरण बाफिलो र तातो बनाउने गर्मी उज्यालो बढ्दै जाँदा तापक्रमको सूचकाङ्क पनि बढ्दै जान्छ। तर त्यो भन्दा पनि आफ्नो गरीबी र बाध्यताको फित्ता झन् लामो हुँदै जाने रहेछ।

न जाडो न गर्मी कुनैको पर्वाह नगरीकन घर परिवार र सन्ततिको खुशी र सुखको खातिर नेपाली लगायत अन्य मुलुकका धेरै युवाहरूले विदेशी मरुभूमिमा गगनचुम्बी र आलिसान भवनहरू चौडा चिल्ला सडकहरू, ग्यास तथा पेट्रोलियम उद्योग निर्माण तथा सञ्चालन गरी खाडी मुलुकहरूलाई समृद्धिको यात्रामा लम्काइरहेका छन्, त्यो भिडमा तिम्रो साथी पनि सामेल छ। तर लाहुरे पदम’ भन्ने पदवी बाहेक अरु केही कमाउन सकेको छैन।

 प्रिय साथी, गर्मीको राप बढ्दै जाँदा पौष्टिक मानिने खजुरका दाना पाक्नका लागि सुनौलो रङ्गमा परिवर्तन हुँदै जान्छन्” गर्मी छिप्पिदै जान्छ, खजुर पाक्दै गर्छ।” यही खजुरका दाना अनि नानीहरूलाई नाना लिएर अfउदै गरेको दशैं मनाउन जानेहरू उत्साहित छन् तर मेरो जीवनको खजुर पाक्ने छाँट देखिएको छैन।

आफूसँग भएको सीमित पैसाले साथीभाइ, घर परिवार, छोराछोरीको ठूलो आशाआकाङ्क्षालाई पुरा गर्न असम्भव हुने भएकोले यसपल्ट पनि घर आउन सक्दिनँ होला।

अचेल चाडपर्वमा हुने र गरिने अतिरिक्त फजुल खर्च, नेपालमा बढ्दो महङ्गीलाई हामी जस्तै सामान्य युवाले खाडीमा कमाउने पैसाले धान्न गाह्रो छ। सीमितताआवश्यकता बिचमा सामञ्जस्यता मिलाउन निकै गाह्रो छ। 

यस्तो बेला घर आएर के गर्नु? तर नजाऊँ धेरै भयो नगएको, धेरै भयो दशैं नमानेको, जाऊँ अझै एउटा गतिलो घर बनाउन सकेको छैन, बूढीलाई गतिलो गहना किनिदिन सकेको छैन। के गर्ने भन्ने अन्योल र कसो गर्ने निर्क्योल भई नसकेको अवस्था छ। 

साथीभाइका मोबाईल, त्यसमा पनि आईफोन अनि ब्ल्याक लेभल, रेड लेभलका माग, छोराछोरीका चकलेट मिठाईका मिठा अfग्रहहरु, श्रीमतीका श्रृङ्गार सामाग्री, गरगहना हुँदै लत्ताकपडा लगायतका अर्डरहरु, नातागोता आफन्तहरुले मुख फोर्न नसकेका तर सहजै बुझ्न सकिने सामानहरु बर्षभरिको कमाईले पनि किन्न गाह्रै छ। 

मोटामोटी १/२ महिनाको कमाई खर्च गरेर दशैं मान्न जानेहरुले बृद्ध बाबुआमाले भने झैं “केही ल्याउनु पर्दैन सकुशल अfए हुन्छ। भन्ने फर्मुला अपनाएर आऊँ कि जस्तो लाग्छ तर साथीभाइ, इष्टमित्र, अfफन्त, छोराछोरी, श्रीमतीका लागि छुट्टै केही पनि नल्याई कसरी आउनू ! लाज लागेर आउँछ। 

कोही अरु नै कारणले अनुहार बिगारोस् तर कतै मैले केही नदिएर रिसायो कि जस्तो लाग्ने क्या ! ए साँच्चै ! हाम्रो समाज कति भड्किलो हुँदै गएको ! पूर्वीय दर्शन र सभ्यताको परिचायक हाम्रा परम्परा, संस्कृति र चाडपर्वहरुको महत्व, महिमा र माैलिकता माँसिदै गएछ।

सामान्य तथा मध्यम बर्गका लागि यी परम्परा तथा चाडपर्वहरु निकै महंङ्गा बन्दै गएछन्, जसमा अfधुनिकताको नाममा बिकृति भित्र्याई छाडापन, देखासिकी र बजारमुखी परनिर्भरता हावी हुँदै गएछ यो सबै पूरा गर्न मेरो खाडीको तलबले पुग्दैन, अनि कसरी आउनु दशैँमा?

अचेल त तीजलाई हेर्ने हो भने पनि “प्रतिस्पर्धात्मक गरगहना प्रर्दर्शनी पर्व” भनेर अर्को नामाकरण गर्नुपर्ने अवस्था अfए झैँ लाग्छ। नाँचगान, रमाइलो साथ अfयोजना गरिने “सामूहिक दरखाने” जस्ता कार्यक्रम सकारात्मक भएपनि महिनाै अघिदेखि आयोजना गर्नु, भोजमा अल्कोहलको प्रयोग गर्नु, प्रतिस्पर्धात्मक रुपमा महंङ्गा गहना र भड्किलो स्वरुपमा कपडाको प्रयोग देख्दा यतै अरबमै जवानी बित्ने देखिएको बेला त्यो ब्ल्याक लेबलको पैसा सम्झदा दाँतबाट पसिना तप्प चुहेजस्तो लाग्छ। 

साँच्चै अमेरिकामा आईफोनको रूख नभएजस्तै अरबमा पनि ब्ल्याक लेबलको कुवा नहुने रहेछ। पैसाको रूख नहुने रहेछ। अचेल तीज मात्रै होइन प्रायःजसो सबै चाडपर्वमा बिकृति फैलिसकेको देख्छु। दशै, तिहार, देउसीभैलोमा माैलिकता खस्कदै गएको छ भने देखासिकी,अाडम्बर र तामसीपन हावी हुदैछ। 

पैसामुखी बजारी परनिर्भरताले स्थानीय उत्पादन, स्थानीय सीप, बैज्ञानिक र सन्तुलित घरेलु पाककला मासिदै जंकफुड र हाईब्रिड खाद्य सामग्री प्रत्येक भान्सामा भित्रिन थालेको रहेछ।

म अरबको लाहुरे भएर त्यहाँकै छिमेकीहरुसंग प्रतिस्पर्धा गर्न सक्ने औक़ात छैन अनि कसरी घर आउनु? बिकृतिहरु बढ्दै जानुमा रेमिट्यान्सबाट भित्रिएको पैसाको पनि ठूलो योगदान होला,अचेल महङ्गी यस्तो बढेछ कि खाडीमा कमाएको पैसाले घर घडेरी, जग्गा,जमिन किन्न र व्यापार ब्यवसाय गर्न सकिदैन।

खाडी मुलुकको मेरो कमाईले घर खर्च, छोरा छोरीको पढाइ खर्च र औषधी उपचार खर्च धान्न नै मुश्किल छ। 

घर घडेरी, जग्गा जमिन किन्ने त सपना मात्रै हुन्छ होला। ठूलो सम्पत्ति जोड्न नपुगे पनि अरुको देखासिकी गरेर कमसेकम चाडपर्व त राम्रोसँग मनाऊँ, अलिकति खर्च गराैँ भन्ने भावनाले गर्दा अलिकति भन्दा भन्दै भएको तीन बर्ष पहिलेको खर्च सम्झँदा अझै पोल्छ। 

चाडपर्वहरु महंङ्गा र भड्किला भएको यी आँखाले टुलु टुलु हेरिरहेका छन्, अनि कसरी दशैँमा घर आउनु? मान्छेहरुलाई अfफ्नोभन्दा अर्काको चिन्ता धेरै देखिन्छ। मैले सामान्य तरिकाले चाडपर्व मनाउदा अरुले के भन्लान्, के ठान्लान भन्नेहरुको संख्या बढ्दो छ। 

साँच्चै! अमेरिकामा आईफोनको रूख छैन भन्थे, यतातिर पेट्रोलका कुवा देखियो तर ब्ल्याक लेबलको कुवा कतै भेटिएन। 

मेरा साथीहरुलाई सुनाईदिनू है। 

तिम्रो पदम अरबबाट।

Maruti Cement