रवि लामिछानेप्रतिको क्रेजः पुराना दलहरु प्रतिको बितृष्णा

न कुनै झण्डा, न कुनै दलीय फण्डा, न कुनै ह्विप न कुनै आदेश। मनको आदेशमा हजारौँ मान्छे मात्र एउटा सञ्चारकर्मीको पक्षमा सडकमा उर्ले। बिद्यमान सरकारी अनुसन्धान पद्दति र न्याँय प्रणालीप्रति तीब्र रोष प्रकट गरे, जिन्दाबाद र मुर्दावादका नारा घन्काए।

देख्नेहरुले लेखे, “दलहरुलाई यति मान्छे जम्मा गर्न कति खर्च गर्नुपथ्र्यो होला?” सुन्नेहरुले सामाजिक सञ्जालका भित्तामा लेखे, “दलको कोटाबाट छानिएका र नेताहरुद्वारा योग्य ठानिएका न्यायाधीस र प्रहरी अधिकृतहरुबाट डेलिभर हुने न्यायमा अन्याय हुन्न भन्ने कसरी पत्याउनु?”

त्यही जनसागरमा स्वःस्फूर्त सहभागी हुनेहरुले भन्दै थिए, “निर्मला हत्याकाण्ड जस्तै यो घटनामा दोषी उम्कने देखियो, निर्दोष फँस्ने देखियो।” लोकतन्त्रका १२ बर्षमा नेतृत्वहरुको कार्यशैलीमा प्रश्न मात्र उठेनन्, लोकतन्त्रकै बिकल्प चाहियो भन्नेहरु बर्गेल्ती भेटिईरहे। राजनीतिलाई रहस्यनीति ठान्दै बितृष्णा ब्यक्त गर्नेहरु बढिरहे।

एकजना सञ्चारकर्मीको पक्षमा चितवनमा उर्लेको पछिल्लो जनसागरले त्यही बितृष्णालाई पोखिदियो, सरकारी न्याँयलाई भीडको तुलोले चुनौति दिईरह्यो, दुई तिहाई जनमत जनताको मनमत हैन है भनेर औला ठड्यायो। बिधि र प्रतिनिधि दुबैलाई चुनौति थपियो।

रवि दोषी देखिएलान्, या निर्दोष सावित होलान् त्यो कुरा अदालतले नै टुंगो लगाउला, तर सरकारमा बसेर बिधि मिचेका बिभिन्न हर्कतले समाजमा खिचेका धेरै तस्विरहरुले मौजूदा पद्दतिमा सधै प्रश्न चिन्ह तेर्स्याईरहेकै छन्। दुरुस्तै यस्तै भीडले पञ्चायतलाई परलोक पठायो, राजालाई ठेगान लगायो, नागरिकका छोरा छोरीलाई राष्ट्रपति बनायो, प्रधानमन्त्री बनायो। जनताका छोराछोरीले बोल्न पाए। मैले त्यही हक उपभोग गरेर यो लेख्दैछु।

तर समय अन्तरालमा परिवर्तनको पर्याय यो भिडले खबरदार ! आज लोकतन्त्रमा गलत हुन थालेको छ भन्दै गर्दा नेताहरुले यसबाट सिक्नु त कता हो कता उल्टै जनतालाई भेँडाको भीडको उपाधि दिए।

अनि फेरि मान्छेहरु बोल्न थाले, “न्याँय समाधिमा गयो, लोकतन्त्रमा यो के भयो?” रवि लामिछाने एउटा पत्रकार भईकन पनि शक्ति बनेर उदाए, अन्याँयमा परेकाहरुका लागि मुक्ति बनेर उदाए। तर बिडम्वना, हिजो जयजयकार गरिएका लोकतन्त्रका मसिहाहरु झन् झन् आलोचित बन्दै गईरहेका छन्, तर नेताहरुको आफूलाई सुधार्नुपर्छ भन्ने चेत सधै अचेत भईरह्यो।

ईमान कोमामा पस्यो, सत्य भँड्खालोमा फँस्यो, सरकारी जवाफदेहीता टाप कँस्यो। पकेटबाट जन्मेका न्याँयमूर्ति आँखै अगाडि अन्याँयमूर्ति बनेको, बलात्कारीलाई संरक्षण गरेको र न्याँय माग्दा अबोला मरेको देखेका जनताको शान्तिपूर्ण भेलालाई स्वतन्त्रताका लागि बलिदानी दिएका नेताहरुले नै आतंकको पर्याय घोषणा गरेको सह्य हुने कुरै भएन। कर्फ्यू तोडियो, घेरावन्दी फोडियो।

जनताले बिसंगतिको बिरोध गर्दा सरकारले निरोध गर्न खोज्नु उसकै लागि प्रत्युत्पादक हुने कुरा सरकारमा बसेकाले बुझ्नुपर्थ्यो, बुझ्नुको अर्थ नेताहरु सच्चिनुपर्थ्यो। तर कुनै साईँ सुईँ देखिएको छैन।

देश निर्मम बिरामी छ, तर नेताहरु झन् बिरामी छन्, आफ्नै देशका डाक्टर र अस्पतालहरु प्रति नेताहरुको बिश्वाश छैन, राज्यकोषको खर्चबाट नेताहरुले ज्वरो जचाउँदा जनताले फेर्ने शुद्द श्वाश छैन। तर निसंकोच नेताहरु ज्वरो जचाउन देखि आराम गर्न बिदेश हुईकिएको हुईकियै छन्, यसै वीचमा भ्रष्टाचारले आफ्ना जरा अझ फराकिलो बनाएको छ।

जनताले ब्यवस्थाको बिकल्प चाहेका छैनन्, बिकल्प चाहेको वर्तमान अवस्थाको हो, जनताप्रतिको बेवास्ताको हो। त्यसो त जनताको असन्तुष्टि भजाएर कुत्सित स्वार्थ पूर्ति गर्नेहरुको जगजगी चारैतिर देखिएको छ। रवि लामिछानेको समर्थनमा त्यस्तै कुत्सित मनसाय बोकेका केही पश्चगामी शक्तिहरुले आङ तानेको कुरा पनि देखिएको छ, धमिलो पानीमा माछा मार्न खोज्नेहरु र ब्यवस्थालाई बदनाम गर्नेहरु पनि देखिएका छन्। तर यसलाई निस्तेज पार्ने एउटै उपाय नेताहरु सुध्रिनु हो।

त्यसो त मान्छेहरुले अचेल मान्छेलाई नै देवत्वकरण गरिरहेका पनि छन्, मानवीय गल्तीलाई पनि नजरअन्दाज गरिरहेका छन्। मन पर्नेले गल्ती नै गर्दैनन् र नपर्नेले सधै गल्ती मात्रै गरिरहन्छन् भन्ने मान्यता बलियो हुदै गएको छ। मान्छेलाई भगवान मान्ने एक पक्ष र नांगेझार बनाउने अर्को पक्ष दुबैले परिस्थितिलाई अराजक बनाईरहेका छन्।

तर बिदेशमा फँसेका, बेचिएका र हेपिएकालाई रविले गरेको उद्दारले आसञ्चार क्षेत्रमा नयाँ नजीर स्थापना गरेको छ। रवीन्द्र मिश्रको परोपकारी पत्रकारिताकै नयाँ भर्सन लामिछानेको ‘रेस्क्यु जर्नालिजम’ ले देश र परिवेशमा राज्यले भन्दा साहसिक काम गरेको छ तर यसले देश बदल्न सक्दैन त्यसका लागि राजनीति बदलिन जरुरी छ भन्ने कुरा बुझ्न जरुरी छ।

रवि लामिछानेप्रतिको यो बढ्दो क्रेज लोकतन्त्रका कथित मसिहाहरुप्रतिको अविश्वास हो, उनीहरुको भड्किलो जीवनशैली र अकर्मण्यता प्रतिको कटाक्ष हो, लोकतन्त्रको आवरणमा लुटतन्त्र मच्चाएको बिरोध र गरीखान पाउने देशको स्थापनाको समर्थन हो। जनताले पुराना दलहरुको बिकल्प खोजेका छन् भन्ने कुराको बलियो प्रमाण हो, त्यसैगरी आलटाल र छलछाम गरी पत्रकारिता गर्नेहरुका लागि समेत सोचनीय कुरा हो।

पुराना दलहरु सच्चिने लक्षण देखिएको छैन, अझैपनि दलहरु सच्चिएनन् भने सक्किन्छन् तर यसै बेला बैकल्पिक दलहरुले आफूलाई अझ परिस्कृत र परिमार्जित गर्नु जरुरी भईसकेको छ। भ्रष्टाचार र भ्रष्टाचारीको भण्डाफोर गर्दै जनताका सबै खाले समस्याहरुमा सहजकर्ता बन्न जरुरी भईसकेको छ। रवि लामिछाने जस्ता देशका शुभचिन्तक राजनीतिमा आउन जरुरी छ, जहाँबाट बिग्रिएको राजनीतिलाई सुधार्न सकियोस्।

यद्यपि औला ठड्याएर भाषण गर्नु र राजनीतिमा आएर शासन गर्नु बिल्कुलै फरक कुराहरु हुन्। आफूले पाएको सद्भावलाई सम्मान गर्दै थप जिम्मेवार हुन यसले सबैलाई पाठ समेत सिकाएको छ। रविले आफ्नो बढ्दो छवि बचाउने कठिन बेला पनि हो यो।

रवि निर्दोष ठहरिऊन्, राजनीतिमा आऊन्, समाजमा बिग्रेको राजनीतिको भाष्य परिवर्तन गर्न सक्षम होऊन् मेरो अनण्य शुभकामना।

तर संगठन नै बल हो, हिजो रविको सद्भावमा जुटेका भीडहरु सुसंस्कृत संगठनमा आवद्द भई बिसंगति बिरुद्धका बाँकी लडाई लड्न एक ढिक्का भएको देख्न पाईयोस्….

तपाईंको प्रतिक्रिया/टिप्पणी