श्रीमानले धेरै मायाँ गरेको भन्दै श्रीमतीले मागिन् ‘डिभोर्स’

काठमाडौं। ‘डिभोर्स’को कारण सोधियो भने अधिकांशले दिने उत्तर हो, झै–झगडा, एकअर्काबीचको घृणा तथा हिंसा,यस्तै यस्तै…

तर, यूएईका एक महिलाले ‘चिनी पनि धेरै खायो भने तितो हुन्छ’ भन्ने उखानलाई पुष्टि गर्दै आफूलाई श्रीमानले धेरै मायाँ गरेको भन्दै डिभोर्स मागेकी छन्।

यूएई फुजौराकी एक महिलाले नजिकै रहेको सारिया कोर्टमा श्रीमानसँग सम्बन्धविच्छेद गर्न पुगेकी हुन्। विवाह भएको एक वर्षसम्म पनि श्रीमानले आफूसँग झगडा नगरेको तथा खाली मायाँ मात्र गर्ने भन्दै उनले डिभार्स मागेकी समाचार पोर्टल इन्डिया टूडेले जनाएको छ।

उनले अदालतमा आफूलाई श्रीमानको मायाँ देखेर रिससमेत उठेको बताएकी छिन्।

‘उनले मलाई कहिल्यै पनि चर्को आवाजमा बोलेनन्,’उनले भनेकी छिन्। ‘मलाई उनको अत्याधिक मायाँ र प्रेमले घाँटी अठ्याएजस्तो भएको छ। अझ उनले मलाई घर सरसफाई गर्नसमेत सघाए।’

‘उनीसँग एक दिन त झगडा होला भनेर सोच्थेँ तर मेरा रोमान्टिक श्रीमानले सधैं मलाई माफ गरे र उपहारको वर्षा गराए,’ उनले थपिन्। ‘मलाई वास्तविक छलफल र तर्क वितर्क मन पर्छ।’

प्रारम्भिक सुनुवाइको क्रममा अदालतमा उपस्थित श्रीमानले चकित न्यायाधीशसामू आफूले कहिल्यै पनि गलत नगरेको बताए। दयालु र उत्तम श्रीमान् हुने उद्देश्यसहित आफूले यस्तो गरेको उनको भनाइ थियो। श्रीमतीलाई खुसी पार्ने आफ्नो उत्कृष्ट इच्छाले नै सम्बन्ध समाप्तिको बाटोमा लागेको जस्तो देखिएको उनले बताए।

श्रीमतीलाई खुसी पार्न उनले निकै मेहनत गरेको श्रीमानले न्यायाधीशसामु स्वीकार गरे। उनले श्रीमतीलाई सम्झाइदिन अदालतलाई आग्रह गरेका छन्।

‘विवाहको पहिलो वर्षमा नै यसबारे निर्णय गर्नु गलत हो र सबैले आफ्नो गल्तीबाट सिक्छन्,’ श्रीमानले भनेका छन्।

अदालतले यी दुई पक्षलाई मिल्न सुझाव दिएको छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी