छोरो बिदेश उडेको आजै हो

Prabhu Bank

आज औँशीको दिन
परदेशी छोराको आवाज सुन्न कौशी कुर्दैछु
आफ्नै छायाँ आफैदेखि टाढा भएकोमा
आफ्नो भाग्य र देशको भाग्य सम्झेर
निदाउन नपाउँदै घुर्दैछु
त्यो कालो औशीको रात
झन् कालो भएको ताजै भो
राधिका ! तिमीलाई थाहा छ?
छोरो बिदेश उडेको आजै हो।

Saftey Pads

राधिका, तिमीले
धेरै पल्ट मर्दै बाँच्दै जन्माएको छोरो
मैले घटघटी आँशु पिएर
आफ्नै ढाड भाँच्दै हुर्काएको छोरो
बुढेसकालको टेक्ने लठ्ठी
अन्धकारको हाम्रो बत्ती
म्यानपावरमा भर्पाईको अर्धकट्टी लिएपछि
हेर्दाहेर्दै मेरै आँखाअघि
लगेजको ट्रली गुडेको आजै हो
राधिका ! थाहा छ?
छोरो बिदेश उडेको आजै हो।

देश संबृद्ध बनाउँछु भन्नेहरु
आउँछन् पाँच बर्षमा
एक जोर चप्पल दिन्छन्
एक छाक मासुको झोल दिन्छन्
छोरो तिनकै सेवामा अहोरात्र हिड्यो
तर हाम्रो चुल्होमा कहिल्यै संबृद्धि आएन
मेरो कुलोमा कहिल्यै पानी आएन
मनै त हो बहकिन्छ, रुन्छ
अनि धैर्यताको डोरी चुडेको आजै हो
राधिका ! थाहा छ?
छोरो बिदेश उडेको आजै हो।

छोराहरु निर्यात गरेर
सरकार मख्ख पर्छ
बिप्रेषणको बिछ्यौनामा डकार्दै
संबृद्धिको गफ गर्छ
यहाँ मलामी पाईन छाडेको बेला
मेरो छोरोले पनि त्यो नियम तोडेको आजै हो
तिमीलाई र उसको बाउ ‘म’लाई
हठात् एक्लै छोडेको आजै हो
राधिका ! थाहा छ?
छोरो बिदेश उडेको आजै हो।

Maruti Cement