सुशासन नारामै सिमित: विशिष्टहरुले यसरी गर्छन राज्य सुविधाको दुरुपयोग

काठमाडौं – शक्तिको आडमा विशिष्ट व्यक्तिले सुरक्षा कार्यविधि लत्याउँदै सुरक्षाकर्मीको प्रयोग गर्दै आएका छन्। पूर्वप्रधानमन्त्रीदेखि गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री तथा पूर्व सांसदले समेत सुरक्षाकर्मीको दुरुपयोग गरिरहेका छन्। कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीले ५ वर्ष मात्रै सुरक्षाकर्मीको सुविधा पाउनेछन्। पूर्वगृहमन्त्रीहरूले दुई वर्ष त्यस्तो सुविधा पाउनेछन् भने अन्य पूर्वमन्त्री वा पूर्वसांसदले त्यस्तो सुविधा पाउने छैनन्।

गृह मन्त्रालयले २०७० सालमा तयार पारेको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिले तय गरेको मापदण्डअनुसार पूर्वराष्ट्रपतिबाहेक अन्य कसैलाई पनि आजीवन सुरक्षाकर्मी दिन प्रावधान नभए पनि दर्जनाैं व्यक्तिले त्यसको दुरुपयोग गरिरहेका छन्। सो कार्यविधिअनुसर पूर्वराष्ट्रपतिले अगुवा पछुवाको गाडीसहित आजीवन सुरक्षाकर्मी पाउने व्यवस्था गरिएको छ। त्यसैगरी पूर्वउपराष्ट्रपतिलाई ५ वर्षसम्म अगुवा पछुवा र सुरक्षाकर्मीसहितको सुरक्षा दिने प्रावधान रहेको छ। गृहमन्त्रालय स्रोतका अनुसार सो कार्यविधिअनुसार पूर्व राष्ट्रपतिबाहेक अन्य कसैले पनि सुरक्षाकर्मी प्रयोग गर्न पाउने छैनन्।

‘अगुवा पछुवासहितको सुरक्षा व्यवस्था पूर्व राष्ट्रपतिलाई मात्रै छ तर यहाँ त सबैले प्रयोग गरिरहेका छन् शक्तिको आडमा उनीहरूले सुरक्षाकर्मी लिएका हुन्,’ गृह मन्त्रालयका एक कर्मचारीले भने। उनका अनुसार मन्त्रिपरिषद्बाट पनि सुरक्षाकर्मी दिन सकिने व्यवस्था गरेका कारण त्यसलाई नै प्रयोग गरेर अगुवा पछुवासहितको सुरक्षा दस्ता खटिएको छ। ‘सुरक्षाकर्मी दुरुपयोग गर्ने मामिलमा सबै नेताहरू एकजुट भएको र उनीहरूले जुनसुकै विधि अबलम्बन गरेर भए पनि सुरक्षाकर्मी लैजाने गरेका छन्,’ मन्त्रालयका ती कर्मचारीले भने। उनका अनुसार विशष्ट सुरक्षा कार्यविधि २०७० मा मुख्यसचिवलाई सुरक्षाकर्मी दिन व्यवस्था नगरेका कारण लामो समयसम्म त्यो कार्यविधि नै पारित भएको थिएन।

‘पछि मुख्यसचिवलाई पनि दुई वर्षसम्म दिन पाउने वा मन्त्रिपरिषद्को निर्णयबाट प्रयोग गर्न पाउने उल्लेख गरेपछि मात्रै सो कार्यविधि पारित भएको थियो,’ ती अधिकारीले भने। सो कार्यविधिले मन्त्रालयका सचिव सुरक्षा निकायका प्रमुख तथा अन्य कसैलाई पनि सुरक्षाकर्मी राख्न पाउने अधिकार दिएको छैन। त्यसैगरी संवैधानिक निकायका प्रमुखहरूलाई दुई वर्षसम्म सुरक्षाकर्मी राख्न पाउने मापदण्ड तोकेका छ। ‘ कतिपय संवैधानिक निकायमा प्रमुख र त्यसका सदस्यहरुले समेत आफूलाई सुरक्षाथ्रेट भएको भन्दै मन्त्रालयमा समेत निवेदन दिन आउने गरेका छन्,’ मन्त्रालयका ती कर्मचारीले भने।

मन्त्रालय स्रोतका अनुसार सो कार्यविधिलाई परिमार्जन गर्ने गरी मन्त्रिपरिषद्मा पठाएको अर्को विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७४ पनि पारित हुन सकेको छैन। २०७४ ले पनि सुरक्षाकर्मी खटाउने विषयमा कडाइ गरेको छ। पूर्वराष्ट्रपतिबाहेक अन्य कसैलाई पनि गाडीसहितको सुरक्षा व्यवस्था गरेको छैन। ‘सुरक्षा थ्रेट भयो भन्ने हो भने निजी सुरक्षाकम्पनीबाट सुरक्षाकर्मी लिनुपर्ने सधै राज्यले दिन व्यवस्था नहुने भन्दै २०७५ को कार्यविधिले सरकारी सुरक्षाअंगबाट सुरक्षाकर्मी खटाउन नसक्ने प्रावधान राखिएको छ। त्यही कारण अहिले त्यो पारित हुन सकेको छैन,’ मन्त्रालय स्रोतले भन्यो।

गृहमन्त्रालयका पूर्वसचिव एवं सुरक्षाविद् डा.गोविन्द कुसुम विशिष्ट व्यक्तिका सुरक्षाको नाममा खटाइने सुरक्षाकर्मीको सदुपयोग भयो कि दुरुपयोग भइरहेको छ भन्ने बारेमा बहस हुन जरुरी रहेको बताउँछन्। ‘कुनकुन परिस्थितिमा सुरक्षाकर्मी खटिएका छन्। उनीहरूलाई थ्रेट छ कि छैन, थ्रेट हो भने कस्तो हो त्यस विषयमा विचार नगरी खटाइएको हो भने दुरुपयोग हो। होइन साच्चिकै थ्रेट हो भने त्यो राज्यको दायित्वभित्र पर्छ,’ डा. कुसुमले भने। उनले कार्यविधि पालाना भए नभएको ध्यान दिने निकाय गृह मन्त्रालय भएकाले सम्बन्धित निकायले ध्यान दिएर त्यसको विश्लेषण हुन जरुरी रहेको बताए।

‘हरेक देशमा विशिष्ट व्यक्तिलाई सुरक्षा दिनु राज्यको दायित्वभित्र पर्छ तर कति समय दिने भन्नेबारे पनि मापदण्ड आवश्यक पर्छ। सुरक्षाकर्मी नभई पाइला चाल्न सकिँदैन भन्ने मानसिकता त्याग्नुपर्छ,’ उनले भने। २०७० को कार्यविधि विपरित सुरक्षाकर्मी दुरुपयोग गर्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, पूर्वगृहमन्त्री भीम रावल, पूर्व गृह तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व गृहमन्त्रीद्वय जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, तथा कांगे्रस नेता एवं पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेल, पूर्वगृहमन्त्री विलेन्द्र नीधि, उपप्रधानमन्त्री प्रकाशमानसिंह, पूर्वगृहमन्त्री विजयकुमार गच्छेदार, पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला, पूर्वशिक्षामन्त्री गोपालमान श्रेष्ठ, पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का, पूर्वशिक्षामन्त्री गोविन्दराज जोशी, पूर्वअर्थमन्त्री डा. रामशरण महत, पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महत, सांसद अमरेशकुमार सिंह, राप्रपा अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापा, पूर्वसभामुख ओनसरी घर्ती, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा, पूर्वगृहसचिव नारायणगोपाल मलेगो, पूर्वप्रहरी महानिरीक्षक मोतिलाल बोहोरा रहेका छन्। पूर्वमन्त्री खुमबहादुर खड्का र पूर्वमन्त्री माधव घिमिरेको निधनपछि पनि घरको सुरक्षाका लागि सुरक्षाकर्मी खटाइएको छ।

त्यसैगरी नियमविपरीत सवारीचालक लिने व्यक्तिमा पूर्वउपप्रधानमन्त्री सुजता कोइराला, पूर्व रक्षामन्त्री बालकृष्ण खाँड, पूर्वअर्थमन्त्री विष्णु पौडेल, पूर्वमन्त्री अग्नी सापकोटा, पूर्वपर्यटनमन्त्री भीम आचार्य, पूर्वपर्यटनमन्त्री जितेन्द्रनारायणदेव, पूर्वसामान्य प्रशासनमन्त्री रेखा शर्मा, सहसचिव हरिशरण पुडासैनी, पूर्वमहान्याधिवक्ता सूर्यप्रसाद कोइराला, नेकपाका नेता बलराम बाँस्कोटा, धार्मिक गुरु कमल नयनाचार्यलगायत छन्।
-टपेन्द्र कार्की,नागरिक दैनिक वाट

तपाईंको प्रतिक्रिया/टिप्पणी