कृषिमा आत्मनिर्भर बनाउछौंः मुख्यमन्त्री पौडेल

काठमाडौं । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारलाई कृषिमा आत्मनिर्भर बनाउने बताएका छन्।

मकवानपुरको मनहरी गाउँपालिकाको विभिन्न वडामा रहेका माछा पोखरी तथा तरकारी फर्मको अवलोकनपछि उनले प्रदेश सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेको बताएका हुन्।

उनले भने, ‘कृषि उत्पादन बढाउन प्रदेश सरकार तत्पर छ, स्थानीय कृषकको काम र लगाव देखेर म आफैं पनि लोभिएको छु। कृषि क्षेत्र विकासको मेरुदण्ड रहेको भन्दै उनले आर्थिक विकास गर्न कृषिमा जोड दिन सबैलाई आग्रह गरे।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको कृषि र पशुपालन सँगसँगै लैजाने नीति रहेको उल्लेख गर्दै कृषिलाई निर्वाहमुखीभन्दा व्यावसायिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए।

प्रदेशका ११९ वटै स्थानीय तहमा कम्तीमा एउटा कृषि केन्द्र स्थापना गर्ने लक्ष्य प्रदेश सरकारले लिएको बताए। एक गाउँ एक उत्पादन क्षेत्रको अवधारणामा प्रदेश सरकार अघि बढिरहेको पनि उनले बताए।

तपाईंको प्रतिक्रिया/टिप्पणी