सर्वोच्चबाट गिरफ्तार गरिएका पत्रकार हमाललाई रिहा गरः साझा पार्टी गण्डकी

पोखरा।
साझा पार्टी गण्डकी प्रदेशले पत्रकार ओम हमाललाई रिहा गर्न माग गरेको छ। पार्टीका गण्डकी प्रदेश संयोजक महेश भण्डारीले बिहीबार विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालत परिसरबाट पत्रकार हमाललाई गिरफ्तार गरिएको प्रति भर्त्सना गरेका छन्।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाका सदस्य रहेका पत्रकार ओम हमाललाई राज्यले यतिबेला विभिन्न आरोपहरू लगाएर दुख दिइरहेको  भन्दै व्यक्तिगत आस्थाका आधारमा टेकेर कोहीलाई बिनाकारण दुख दिइन्छ भने त्यो सह्य नहुने भन्दै साझाले खेद प्रकट गरेको छ।

पत्रकार हमालको पक्षमा सम्मानित सर्वोच्च अदालतले सफाइ दिइसक्दा पनि एकमाथि अर्को मुद्दा लगाउँदै सर्वोच्च अदालतकै गेटबाट प्रहरीले पक्राउ षड्यन्त्रपूर्ण गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ। अदालत परिसरबाट गिरफ्तारी पत्रकार हमाललाई फसाउनका लागि चालिएको गैर न्यायिक चाल भएको साझाको ठहर छ। सर्वोच्चले रिहा गर्न आदेश दिइसकेपछि पनि अदालत परिसरबाटै पुनः पक्राउ गर्ने राज्यको  प्रवृत्तिले सर्वोच्च अदालतको समेत मानहानी भएको विज्ञप्तिमा जनाईएको छ।

पत्रकार हमाल गत ६ भदौमा कास्कीको सिसुवाबाट पक्राउ परेका थिए। उनलाई रिहा गर्न सर्वोच्च अदालते मंगलबार बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको थियो। तर रिहा भएलगत्तै सर्वोच्च अदालतको गेटबाट प्रहरीले पुनःपक्राउ गरेको थियो।

हेर्नुस् विज्ञप्तिको पूर्णपाठ:

पत्रकार ओम हमालको बिनासर्त रिहाईको माग।
कल्याणकारी राज्यको अवधारणामा अगाडि बढिरहेको साझा पार्टी लोकतन्त्रमा विश्वास राख्दछ।

लोकतन्त्र भन्ने बित्तिकै स्वतन्त्र प्रेसको अवधारणा अगाडि आइहाल्छ। जबसम्म प्रेस स्वतन्त्र हुन सक्दैन, तबसम्म लोकतन्त्रको आभास गर्न सकिदैन। देश लोकतान्त्रिक गणतन्त्रकै अभ्यासमा छ। र, यही लोकतन्त्र प्राप्तिका लागि जनताले दुःख र सङ्घर्ष भोग्नुपरेको इतिहास साक्षी छ। लोकतन्त्र र यो सँगै जोडिएर आउने विभिन्न अधिकार प्राप्तिकै लागि जनताले गरेका सङ्घर्षको वर्तमान सरकारले सम्मान गर्न सकेको छ त? पटक्कै छैन साथै, जनतालाई लोकतन्त्रको प्रत्याभूति दिलाउन नसकेको पनि जग जाहेरै छ। र, यो अत्यन्तै लाजमर्दो कुरा हो।

लोकतान्त्रिक मुलुकको अर्को सौन्दर्यता भनेको वैयक्तिक स्वतन्त्रता पनि हो। तर व्यक्तिगत आस्थाका आधारमा टेकेर कोहीलाई बिनाकारण दुख दिइन्छ भने त्यो पक्कै पनि सह्य हुँदैन। नेपाल पत्रकार महासङ्घ कास्की शाखाका पत्रकार ओम हमाललाई राज्यले यतिबेला यस्तै विभिन्न आरोपहरू लगाएर दुख दिइरहेको छ।

त्यसो त पत्रकार हमालको पक्षमा सम्मानित सर्वोच्च अदालतले सफाइ दिइसकेको अवस्था हो। तर पुनः एकमाथि अर्को मुद्दा लगाउँदै उनलाई सर्वोच्च अदालतकै गेटबाट प्रहरीले पक्राउ गरेको छ। यो सरासर उनलाई फसाउनका लागि चालिएको गैर न्यायिक चाल हो। र, राज्यको यस्तो प्रवृत्तिले सर्वोच्च अदालतको समेत मानहानी भएको महसुस भएको छ।

व्यक्तिगत आस्थाकै आधारमा एउटा पत्रकारलाई भए नभएको आरोपहरू लगाएर राज्यले नियोजित रुपमा यसरी दुख दिनु खेदपूर्ण कुरा हो। पत्रकार महासङ्घ लगायतका विभिन्न पत्रकार सम्बद्ध सङ्घसंस्थाहरूले यस विरुद्धमा आन्दोलन गरिरहेका छन्। पत्रकार हमालको रिहाईका लागि गरिएको आन्दोलनमा साझा पार्टी, गण्डकी प्रदेश ऐक्यबद्धता सहित तत्काल बिनाशर्त रिहाईको माग गर्दछ।

महेश भण्डारी
संयोजक
साझा पार्टी, गण्डकी प्रदेश
मिति: २०७६ भदौ १९ गते बिहीबार

 

तपाईंको प्रतिक्रिया/टिप्पणी