आभारी छु जीवनसँग


Prabhu Bank

म आभारी छु जीवनसँग
जे मिल्यो म खुशी छु
त्यसैसँग
गुनासो के गरूँ म
म त बाँचेकै छु यहाँ
खल्तीभरि खुशी बोकी
हिडेकै छु यहाँ।

Saftey Pads

कहाली लाग्दो रात त उनको
जो खुला आकाश मुनि लडेको छ
खुला खुला आँखाभरि
शून्य सपना बोकेको छ।

हिउँ तुषारो र चिसा स्याँठहरुमा
चट्याङ्ग, हुरी अनि झरीहरुमा
छहारी खोज्दै जो भौतारिन्छ यहाँ
निर्वस्त्र वदन अनि कामेको अधर बोकी
सहारा खोज्दै जो लडेको
छ यहाँ।

काँपेर काला रातहरुमा
जो बिहानी कुरी बस्दछ
सबै गुमाएर पनि यहाँ
जो बिना गुनासो बाँच्दछ
देखेर यी सबै फेरि
गुनासो के गरूँ यहाँ।

छतमुनि शिर लुकाई
म त बाँचेकै छु यहाँ
मुटुभित्र गुलाफ फूलाई
हाँसेकै छु यहाँ
बेरेर रेशमले आफूलाई
म उन्मुक्त नाँचेकै छु
गुनासो छैन केही यहाँ
म जीवनसँग आभारी छु।
(कविता र गीतहरुको संग्रह हृदयका पानाहरुबाट)

Maruti Cement