धाविका मीरालाई अमेरिकी विश्वविद्यालयको मानार्थ विद्यावारिधि

काठमाडौं।धाविका मीरा राईलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको छ।

अमेरिकास्थित विश्वप्रसिद्ध विश्वविद्यालय प्रोभोस्ट वेस्टक्लिफ युनिभर्सिटीले धाविका राईलाई सो उपाधि प्रदान गरेको हो।

राई सन् २०१६ को सुरुमा इटालीमा भएको स्काइरनिङ अल्ट्रारेसमा दोस्रो स्थान हासिल गरेपछि चर्चामा आएकी थिइन्।

त्यसपछि मीराले फ्रान्समा मोन्ट ब्लान्स नामक ८० किलोमिटर दूरीको अल्ट्रा म्याराथन समेत जितेकी थिइन्। त्यस्तै नेशनल ज्योग्राफी च्यानलले प्रदान गर्ने ‘पिपुल च्वाइस एडभेन्चर्स अफ द इयर’ अवार्ड विजेता राईले नेपालको नाम उचो राख्न महत्वपूर्ण भूमिका खेलेकी थिइन्।

राजधानीस्थित प्रिसिडेन्टल विजनेस स्कुलद्वारा आज आयोजित दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सो विश्वविद्यालयका प्रा. डा. डेभिड मेकेनीले राईलाई संयुक्तरुपमा सो उपाधि प्रदान गरेका थिए।

‘मैलेजीवनमा कति कोस दौडेँ, अझै कति दौडिनेछु। यो उपाधि पाउँला भन्ने सोचेको थिइन। उच्च शिक्षा अध्ययन गर्ने सपना सपना नै बन्यो। तर उपाधि पाएँ। योभन्दा अरु के खुशी हुन सक्छ र?’उपाधि ग्रहणपछि उनले भनिन्।

पूर्वी पहाडी जिल्ला भोजपुरको सानो दुम्मामा जन्मिएकी २७ वर्षीय मीरा राई माओवादीकी लडाकु हुँदै खेलकुदमा लागेकी थिइन्।

शान्ति सम्झौतापछि सेनामा अयोग्य बनेकी मीरा एथ्लेटिक्समा लागेकी थिइन्।

तपाईंको प्रतिक्रिया/टिप्पणी