कांग्रेसले वीपीको मर्म बुझेनः वरिष्ठ नेता पौडेल

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले वीपीको मर्म बुझ्न नसकेको बताएका छन्।

राष्ट्रिय जागरण अभियानका अवसरमा कांग्रेस तनहुँद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले पार्टीका कार्यकर्ताले वीपीको मर्मलाई आत्मसाथ नगरेको बताएका हुन्।

‘वीपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर कांग्रेस कार्यकर्ताले वीपीको आदर्शलाई बुझेका छन् कि छैनन्, यो मुख्य प्रश्न हो,’ पौडेलले भने, ‘वीपीको सिद्धान्त र आदर्शलाई बुझेर अगाडि बढ्नुपर्छ।’

वीपीले सबै जनताका लागि राजनीति गर्न चाहे पनि अहिलेको राजनीति त्यस्तो नरहेको पौडेलको भनाइ थियो। निमुखालाई न्याय र विपन्नलाई आय कांग्रेसको मूल सिद्धान्त रहेको बताउँदै उनले गाउँ–गाउँमा रोजगारी सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउनुपर्नेमा जोड दिए।

सो अवसरमा पौडेलले वीपी कोइरालाले विसं २०३६ असोज ६ गते व्यास नगरपालिका–३ वीपी वनवाटिकामा उपस्थित भएर राखेको भनाइ अंकित बोर्डको अनावरण गरेका थिए।

तपाईंको प्रतिक्रिया/टिप्पणी