आजदेखि दशैं तिहारका लागि टिकट बुकिङ् खुल्यो

काठमाडौँ । दशैंमा घर जाने यात्रुहरुको चापलाई मध्यनजर गर्दै आइतबार (आज)देखि टिकट बुकिङ खुल्ला गरिएको छ।

काठमाडौँ उपत्यकाबाट विभिन्न जिल्ला जाने यात्रुहरुका लागि सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

दशैं तिहारजस्ता चाडपर्वमा काठमाडौँबाट देशका विभिन्न जिल्ला जाने यात्रुको संख्या अत्याधिक हुने भएकाले अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको विभाग महानिर्देशक गोगनबहादुर हमालले बताए।

विभागका अनुसार यस वर्षको दशैँ, तिहार, छठलगायतका चाडपर्वको अवसरमा मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला गरिने भएको छ।

सीमित रुट इजाजत पाएका सवारी साधन पनि देशभर चल्न पाउने विभागले जनाएको छ। विभागका महानिर्देशक हमालले यो वर्ष चाडपर्वको समयमा सवारी साधनको रुट इजाजत खुला गर्नका लागि गृहकार्य भइरहेको पनि बताए।

रुट खुल्ला भएपछि दशैंमा घर जाने यात्रुहरुलाई सवारी साधनको कमी नहुने विभागको विश्वास छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी