सिङ्गै सिनो पाएर दङ्ग छ..

- हरिप्रसाद गौतम


जुठेल्नो चाट्दै थ्यो
आज थालै चाट्न पाएर दङ्ग छ
फ्याँकेको निरस हड्डी कुर्दै थ्यो
सिङ्गै सिनो पाएर दङ्ग छ
काईकुई गर्दै
पुच्छर हल्लाउँथ्यो
चचहुईँ हल्लिन पाउँदा दङ्ग छ
माखे साङ्लो वरिपरि संसार ठान्थ्यो
महलमा चहलपहल गर्दा दङ्ग छ।

बफादारीको त के कुरा भो र?
लात हान्दा पनि पछि लाग्थ्यो
अचेल उसमा छुट्टै उमङ्ग छ
गुलामीले काम गरेकोमा दङ्ग छ
अचेल मिठो खाने दाउमा
कालेको निद्रा भङ्ग छ
कैयौँ पटक पापड़ बेलेपछि
मालिकको आर्शिवादले दङ्ग छ।

मालिकको तलुवा चाट्दै फकाउँथ्यो
अचेल साँढे हुन पाउदा दङ्ग छ
आफैलाई भुस्याहा ठान्थ्यो
अचेल ठूलो भएँ भनेर दङ्ग छ
जुठेल्नो चाट्दै थ्यो
थालै चाट्न पाएर दङ्ग छ…
फ्याँकेको हड्डी कुर्दै थ्यो
सिङ्गै सिनो पाएर दङ्ग छ।

– नवलपुर

तपाईंको प्रतिक्रिया/टिप्पणी