आज दशैँको छैटौं दिनः माता कात्यायनी भगवतीको पूजा

काठमाडौँ । वडा दशैंको छैटौं दिन आज माता कात्यायनी भगवतीको पूजाअर्चना गरिँदैछ। साहसकी प्रतीक भगवतीलाई यज्ञयज्ञादि दानलगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्ने देवीको रुपमा समेत धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ।

देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएको मानिन्छ। माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ। हातमा चम्किलो खड्ग धारण गरेको शास्त्रमा चित्रण गरिएको छ।
अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको बध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ। देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छिन्।

काठमाडौं भित्रका गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठहरुमा दर्शनार्थीहरू पुजा आराधना गर्छन।