आज दशैँको सातौं दिन फूलपाती : कालरात्रिको पूजा गरिँदै

शारदीय नवरात्रिको शनिबार सातौं दिन हो। आज देवी कालरात्रिको पूजा गरी सबै हिन्दुहरूले नवरात्रि मनाउँदै छन्।

देवीको सबैभन्दा डरलाग्दो रूप मानिन्छ, कालरात्रि। यसै रूपमार्फत् देवीले दैत्यद्वय शुम्भ–निशुम्भको वध गरेको धार्मिक कथन छ। यही कथा मार्कण्डेय पुराणअन्तर्गतको सप्तशती चण्डीमा पनि वर्णन पाइन्छ।

कालरात्रिको शाब्दिक अर्थ हुन्छ, मृत्युको राति। कालको अर्को अर्थ लाग्छ, समय। कालरात्रि आफै कालभन्दा ठूलो मानिन्छ।

कालरात्रि र काली प्रायः एउटै रूपमा मानिन्छ। कालरात्रि देवीका अन्य नाममा शुभम्करी, काली, भद्रकाली र महाकाली पनि पर्दछ।

कालरात्रि देवी नवग्रहमध्ये शनिको अधिष्ठात्री मानिन्छ। अध्यात्ममा भने उनलाई मानव शरीरको सहस्रार चक्रसँग सम्बन्धित मानिन्छ।

गाढा कालो वर्णकी कालरात्रिको तीन नेत्र हुन्छ। उनको मूर्तिमा चार हात देखाइन्छ, जसमा दायाँतर्फ खड्ग र वज्र तथा दायाँ हातमा क्रमशः अभय मुद्रा र वरद मुद्रा देखाइएको हुन्छ।

नवरात्रको नौ दिन नवदुर्गाका नौवटा स्वरूपको पूजा गरी मनाइने प्रचलन हिन्दु समाज तथा शाक्त मतावलम्बीमा छ। नवरात्रिभर देशका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।