आज फूलपातीः दशैंको रौनक शुरु

काठमाडौं । आज बडादशैंको सातौँ दिन अर्थात् फूलपाती। घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा आज बेलुका विधिपूर्वक फूलपाती भित्र्याइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ । आजैका दिन देखि दशैंको रौनक पनि शुरु हुने गर्दछ। सरकारी तथा निजी क्षेत्रले आज देखि नै बिदा दिने भएकाले पनि आज देखि दशैंको रौनक शुरु हुने भएको हो।

काठमाडौंको हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्राउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पुजारी सहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्ड बाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ।