जब दशैँ आउँछ


हुस्सुका कोमल भुवा
चिसा मीठा सिरौटा
न धूप, न धुँवा
न स्याँठ न तुषारो
यस्तो मिठो मौसममा
जब उड़छ सुवास सयपत्रीको
अनि खुशी नहोस् मन पनि किन ?
जब महशुस हुन्छ आगमन दशैँको।

रंगिएका घरहरु, पोतिएका चोटा
भरिएका घैला अनि जमराका पूज़ा
यस्तो पवित्र परम्परामा
जब भित्रिन्छ थाली फूलपातीको
अनि खुशी नहोस् मन पनि किन ?
जब चल्छ हर्ष उल्लास दशैको।

बज्यैले कातेको बत्तीमा
आमा दियो जगाउछिन्
धुपका अपूर्व सुगन्धसंगै भाउजु सेलरोटी फ़ुराउछिन्
भाउजुको पाउजुको छमछमसंगै
जब गुन्जिन्छ झंकार चुराको
अनि खुशी नहोस् मन पनि किन ?
जब झल्कन्छ रौनक दशैँको।

हरिया डाँडाका भिरालीमा,
लिङ्गे पिङ्गका झड्काहरु
मच्चिदै गिल्गिलाउदै,
रमाएका तन्नेरीहरु
लट्टाईका धागामा,
आकाशिएका लडाकु चंगा
जुट्दै टुट्दै बतासिएका,
मेलाका रंगिन चंगा
यस्तो अद्वितीय रमझममा
अनि खुशी नहोस् मन पनि किन ?
जब फैलन्छ उमङ्ग दशैँको।

मन्दिर भित्र पुष्पमा विराजमान देवताहरु
मन्दिर बाहिर घन्टका मिठा तरंगहरु
भक्तहरुका आराधना
श्रीखण्ड र चन्दनको सुवास
यस्तो अलौकिक आस्थासंगै
अनि खुशी नहोस् मन पनि किन ?
जब पवित्र भाव फैलन्छ दशैँको।

निर्धन देखि धनवानसम्म
बालक देखि वृद्दसम्म
भुलेर सबै पीडा
जब बटुलिन्छन् खुशी बाँड्न
यस्तो मनोहर परिवेशमा
अनि खुशी नहोस् मन पनि किन ?
जब शुभकामना दिदै आउँछ दशैँ
हरेकको दैलो दैलोसम्म।

तपाईंको प्रतिक्रिया/टिप्पणी