धुलोमुक्त अभियानमा अवरोध नगर्न प्रमुख शाक्यको आग्रह

काठमाण्डौं। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धुलोमुक्त शहरका लागि खुलामञ्चस्थित अस्थायी बसपार्कमा अस्थायी रुपमा शुरु गरिएको कालोपत्रमा अवरोध गरिएकामा दुःख व्यक्त गरेका छन्। शाक्यले त्यस क्षेत्रमा अत्यधिक धुलो उडेको र आफ्नो धुलोमुक्त काठमाडौँको अभियान जारी रहेको स्थितिमा त्यहाँ कालोपत्र र ढलानको काममा जनप्रतिनिधिकै उपस्थितिमा अवरोध हुनु दुःखद भएको बताए।

सांसद भीमसेनदास प्रधान, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र वडा नं २८ का वडाध्यक्ष भाइराम खड्गीको उपस्थितिमा आइतबार त्यहाँको काममा अवरोध भएको थियो । दुई पक्षीय विवादका कारण अहिले त्यहाँको काम रोकिएको छ भने ढलान गरिएको ठाउँमा गाडी कुदाएर क्षति पु¥याइएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका क्रममा काठमाडौँका मुख्य क्षेत्रमा सजावट र कालोपत्र लगायतको कामले. तीव्रता पाएसँगै खुलामञ्चको बसपार्कमा पनि कालोपत्र गर्न लागिएको हो ।

शाक्यले धुलोमुक्त काठमाडौँ अभियानमा आफू निरन्तर लागिरहेको भन्दै महानगरको फोहर र धुलोमा राजनीति गर्ने गरेका कारण समस्या भएको बताए। मेयर शाक्यले अहिले महानगरपालिकाकै पहलमा तीनकुनेमा पनि आइल्यान्ड बनाउने काम भइरहेको भन्दै अन्य ठाउँको पनि सजावटको काम अघि बढेको बताए।

काठमाडौँ महानगरपालिका पहिलादेखि नै काठमाडौँ महानगरभित्रका खाल्टाखुल्टी पुर्ने, धुलो हटाउने लगायतका अभियानमा निरन्तर लागिरहेको थियो । चिनियाँ राष्ट्रपति चिनफिङ नेपाल आउने र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर अन्य निकायले समेत चासो देखाएपछि काठमाडौँका सडक थप चिल्ला र खाल्टाखुल्टी मुक्त बन्न थालेका हुन् ।

तपाईंको प्रतिक्रिया/टिप्पणी