कैदीबन्दीलाई कारागारमै टीका र जमरा

काभ्रे। जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई आफन्तहरूले कारागारमै टीका र जमरा लगाइदिएका छन् ।

कैदीबन्दीका परिवार र आफन्तका लागि जिल्ला कारागार काभ्रेको व्यवस्थापन शाखाले टीका र जमराको व्यवस्था गरेको थियो । उनीहरूका आफन्तले आज टीका र जमरा लगाइदिएको कारागारको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक उमेश आचार्यले बताए।

कारागार प्रशासनले टीका लगाउन आउनेहरुका लागि दसैँभरि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म समय तोकिएको र त्यसका लागि आवश्यक व्यवस्था मिलाइएको पनि उनले बताए। जिल्लाभित्रका कैदीबन्दीको परिवार र आफन्तले टीका कै दिन आउने गरेको भएपनि अन्य बाहिरी जिल्लाबाट टीकाको भोलि र पर्सिपल्टसम्म पनि आउने गरेकाले यस्तो व्यवस्था मिलाइएको आचार्यले बताए।

जिल्ला कारागार काभ्रेपलाञ्चोकमा २३५ कैदीबन्दी रहेका छन् ।

तपाईंको प्रतिक्रिया/टिप्पणी