बाँच्नै नसक्ने भएर अमेरिका गएको होइनः गायक भगवान भण्डारी


एक समय थियो लोक दोहोरीको नाम लिने बित्तिकै गायक भगवान भण्डारीको नाम आउँथ्यो, नेपाली लोक सङ्गीतको क्षेत्रमा आफ्ना थुप्रै सिर्जना दिएका भण्डारी आजकाल गुमनाम जस्तै छन्। स्याङजाको चापाकोटमा जन्मेका भण्डारीका दर्जनौं चर्चित गीतहरू रेकर्ड छन् तर नेपाली लोकदोहोरी सुन्ने पछिल्लो पुस्ताले उनको स्वर सुन्न भने पाएको छैन। सिर्जनात्मक तथा आवाजको माध्यमबाट नेपाली लोकसङ्गीतको क्षेत्रमा योगदान पु¥याएका भण्डारी अहिले परिवारसहित अमेरिकामा बस्छन्। भण्डारीले त्यहाँको ग्रीन कार्ड लिएका छन्।

बिग्य्रो चाल पनि, खैरेनीमा गेट, फूलमा भमरा, दिलको ढोका बन्द, वनमा काँडा छ, आमा तिम्रो दस धारा दूधको भारा तिर्न सकिनँ, डाली लर्कायो, लोकतन्त्रको कोपिला लाग्यो र मेरी माया आइनन् फर्केर, लगायत धेरै चर्चित गीतहरूले नेपाली लोकसङ्गीतको क्षेत्रमा राम्रो चर्चा एवम् लोकप्रियता बटुल्न सफल गायक भण्डारीसँग नेपाली पत्रिकाका लागि सिर्जना बर्देवाले गरेको कुराकानीः

तपाईं नेपाली लोकदोहोरी क्षेत्र बाट पुरै गुमनाम हुनुभएको हो?

गुमनाम भए जस्तो लाग्छ र? अलिकति पछाडि मात्र भएको हो गुमनाम नै चाहिँ भएको छैन। बाहिर बसेर पनि गीतहरू लेख्ने, पठाउने काम गरिरहेको छु। तर नेपालमा नियमित स्टेज कार्यक्रममा नहुदाँ कता हरायो जस्तो लागेको मात्र हो। म सधैँ अपडेट मै छु।

कुनैदिन लोकदोहोरी भन्ने बित्तिकै भगवान भण्डारीको नाम अग्र स्थानमा आउँथ्यो तर एकताकाको त्यो चर्चित नाम आजको पुस्तालाई त थाहा छैन नि है?

पछिल्लो पुस्ताले अलि चिन्नुहुन्न, यो मैले महसुस गरेको छु। केही भाइबहिनीहरूले चिन्नु हुन्छ, कतिले चिन्नु हुन्न, कतिले चाहिँ गीत सुनेर, नाम सुनेर पनि देख्दा खेरि नचिन्ने त्यो पनि छ र कतिपय लाई चाहिँ मेरो नाम मात्र सुनेको तर कुन गीत गाएको हो भन्ने पत्तो नहुँदा पनि अलमल हुने हुँदो रहेछ, कतिपयले खैरेनीमा गेट भनेर गीत गाउनु हुन्छ तर मेरो नाम चाहिँ थाहा नभएको पनि भेटेको छु। पछिल्लो समयमा अलिक पछाडि भएकोले पनि यो पुस्तालाई थाहा नभएको हो। यसलाई परिपूर्ति गर्नेगरी आउँदैछु।

लोकदोहोरी बाट बाँच्न नसकेरै विदेश पलायन हुनु भएको हो या पैसाको आशक्तिले ?

पलायन पनि भएको हैन, म अमेरिका गएर बसेको, नोकरी गरेको, बच्चाहरु पढाउन गएको त्यति मात्र हो। अमेरिका नै जानुको कारण बाँच्नै नसक्ने भएर पनि हैन, बाँच्नको लागि त्यति गाहे थिएन। म मेरो आफ्नो कमाईबाट एउटा सामान्य जीवनयापन गर्न सक्थे, खान, लाउन सक्ने वाताबरण थियो। तर आफ्नो परिवार, छोराछोरीलाई सुविधा सम्पन्न ठाउँमा राख्ने ईच्छा थियो र त्यहि अनुरुप म मेरो बच्चाहरु पढाउनका लागि नै अमेरिका बसेको हुँ।

दशैँको बिचमा आफ्नो जन्मभुमि छाडेर अमेरिका फर्किदै हुनुहुन्छ कस्तो महसुस भएको छ?

मलाई यहाँ बस्न मन थियो तर मेरो परिवार अमेरिकामा छन्। बुवाआमा बितिसक्नु भयो। दाजुभाइ त हुनुहुन्छ तर सबै आफ्नै पारिवारिक हुनुहुन्छ, आ आफ्नै जिम्मेवारीमा हुनुहुन्छ सायदै बुवाआमा भइदिएको भए यतै बसेर दशैँ मनाउने थिए होला तर अहिले चाहिँ मेरो परिवारलाई नै प्राथमिकता दिनुपर्छ भन्ने लागेर फर्किदैछु।

अमेरिकामा बसेर पनि यहाँले धेरैपटक दशैँ मनाइसक्नु भएको छ। उहाँको दशैँ र यहाँको दशैँमा फरक के पाउनु भयो?

नेपालमा जस्तो त्यति रमाइलो अमेरिकामा हुदैन, हुन त संस्कार एउटै हो। आफ्न्त भेटघाट गर्ने, टिका लगाउन जाने, आउने चलन त्यहाँ पनि हुन्छ तर एकैदिन छुट्टि नमिल्ने, डिउटी गर्नु पर्ने हुन्छ। किनकी चाड हाम्रो हो अमेरिकनको त होइन त्यसैले पनि उनिहरुले छुट्टि दिदैन्न तर यो हाम्रो चाड हो है भने पछि छुट्टी मिलाएर आफ्न्तको जाने, आउने हुन्छ।

अब, नेपाली लोकदोहोरी क्षेत्रले दिएको चर्चित गायकको बिरासत जोगाइरहन आगामी दिनमा संगीतक्षेत्रमा तपाईको सक्रियता कस्तो हुन्छ?

एकदम सक्रियरुपमा लाग्ने छु। यसैलाई पेशा बनाएर हिड्दा र बाहिर गएर काम गर्दा अलिकति फरक हुदो रहेछ। अब चाहिँ कामलाई भन्दा संगीतलाई प्राथमिकता दिएर अगाडी बढ्छु। यो समयमा सबैकुरा मिलाउदैछु। सायद एक दुईबर्ष लाग्छ अहिले पनि दुईचार वटा गीतहरू रेकर्ड भएका छन्। फुलमाया भन्ने गीत सार्वजनिक भइसकेको छ। अरु बिस्तारै आउने छन्। निरन्तरता दिइरहेको छु। लोक सङ्गीतको क्षेत्रमा पहिले भन्दा थप सक्रियता रहने छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी