के महिला सुन्दर देखिनुपर्छ?

-उषा आचार्य

केही दिनदेखि दिमागमा एउटा प्रश्न घुमिराखेको थियो, “महिलाको शक्ति के शारीरिक सौन्दर्यमा भर पर्छ?”

अनेकौँ तर्क, वितर्कले मानसपटलमा डेरा जमाएर बसेका छन् जसलाई कलमबाट पोख्ने प्रयास गर्दैछु। प्रश्न सुन्दा सामान्य उक्ति जस्तो लाग्न सक्छ। तर गम्भीर भएर सोच्ने हो भने यस प्रश्नले अनुसन्धानात्मक उत्तर खोजेको छ। सर्वप्रथम शक्तिको कुरा गरौँ किनकि संसारमा सबैभन्दा प्रिय तत्व नै शक्ति हो। शक्तिले नै मानिसलाई खुशी एवम् सन्तुष्टि प्रदान गर्छ। शक्तिका धेरै रूपहरू छन्, आर्थिक, धार्मिक, सांस्कृतिक, शैक्षिक, सामाजिक, पारिवारिक, शारीरिक र यस्तै धेरै नै। रह्यो महिला शक्तिको कुरा। आभार छौँ हामी एक्काईसौँ शताब्दीका महिला ती पूर्वज महिला स्वतन्त्रताका अभियन्ताहरू प्रति जसको लडाइँ र सङ्घर्षको फलस्वरूप आज हामी यो अवस्थामा आइपुगेका छौँ।

एउटै व्यक्ति एउटै समयमा धेरै शक्तिहरूको मालिक हुन सक्छ। वर्तमान परिप्रेक्ष्यमा मुख्यतया मानिस राजनीतिक र आर्थिक रुपमा शक्तिशाली छ भने अन्य शक्तिहरू पनि ऊ सँग गुरुत्वाकर्षण जस्तै आवद्ध हुन आफैं आउँछन्, यसमा दुईमत नहोला।

उदाहरणस्वरूप हाम्रा हजुरआमा र हाम्रो पीढी बिचको असमानता अथवा भनौँ प्रगति र स्वतन्त्रता हेर्दा नै थाहा हुन्छ महिलाको अवस्थामा उल्लेखनीय सुधार आएको धेरै भएकै छैन। हजुरआमाको पीढी चरम पितृसत्तात्मक व्यवस्थाबाट ग्रसित थियो। पितृसत्ताले पनि आफ्नो सत्ता र स्वार्थको लागि आफ्नो एकल पक्षमा शक्तिको प्रयोग गरेको थियो महिलालाई बन्दी बनाएर। तर अवस्था बिल्कुलै फेरिइसकेको छ वर्तमानमा। किनकी हामी महिलाहरूले पनि स्वतन्त्रता पूर्वक बाँच्न पाउने एवम् अन्य आवश्यकता परिपूर्ति गर्न पाउने शक्ति प्राप्त गरेका छौँ। शक्ति एउटा यस्तो हतियार हो जसको प्रयोगबाट मानिस सन्तुष्टि प्राप्त गर्न चाहन्छ।

एउटै व्यक्ति एउटै समयमा धेरै शक्तिहरूको मालिक हुन सक्छ। वर्तमान परिप्रेक्ष्यमा मुख्यतया मानिस राजनीतिक र आर्थिक रुपमा शक्तिशाली छ भने अन्य शक्तिहरू पनि ऊ सँग गुरुत्वाकर्षण जस्तै आवद्ध हुन आफैं आउँछन्, यसमा दुईमत नहोला।

फ्रान्सेली लेखक मिशेल फूकोका अनुसार ’शक्तिले नै सत्यताको निर्धारण गर्छ।‘ अर्थात् सत्यको परिभाषा शक्तिको माध्यमबाट गरिन्छ। उपनिवेशकाल तिर युरोपियनहरू शक्तिशाली थिए फलस्वरूप सुन्दरताको परिभाषामा उनीहरूको छालाको गोरो रङ्ग पर्न गयो। अफ्रिकन र एशियनहरू पनि सकी नसकी छाला गोरो बनाउने कृत्रिम वस्तुको उपभोग गर्न थाले। हिन्दू धर्मग्रन्थ रामायणमा उल्लेख गरिए अनुसार नेपालको तराई भूभागमा पर्ने जनकपुरमा जन्मिएकी सीता शारीरिक रुपमा अत्यन्तै सुन्दर र आकर्षक थिइन्। तराईका मानिसहरू भौगोलिक कारणले गर्दा कालो वर्णका हुन्छन, सीता पनि अपवाद थिइनन् होला। काली हुँदा पनि उनी राम्री थिइन्। यसर्थ सुन्दरताको सूचक कुनैपनि भौगोलिक स्थान, जातजाति अनुसार फरक(फरक हुन्छन्। अफ्रिकामा ओंठ जति ठूलो भयो त्यति नै सुन्दर। चीनमा आँखा साना भएपनि सुन्दर। तर उपनिवेशवाद र पछि विश्वव्यापीकरणले गर्दा सुन्दरताको सूचक पनि पश्चिमीकरणले नै प्रभाव पारेको छ। यो भिन्न पाटो हो।

शारीरिक सुन्दरता भोग गर्ने तत्व हो भने भोग गर्ने व्यक्तिको मात्रै सरोकार को विषयवस्तु हुनुपर्ने। यहाँ त प्रायः मानिसहरू एकजना महिलाको सुन्दरताको पारखी भएर बसेका हुन्छन्।

यहाँ उठाउन खोजेको समस्या भनेको वर्तमान अवस्थामा महिलाहरू राजनीतिक, आर्थिक एवं शैक्षिक तीन महत्वपूर्ण पक्षबाट शक्तिशाली हुदाँहुँदै पनि महिलाको शारीरिक सुन्दरतालाई किन समाजले प्राथमिकतामा राख्छ त?
के साँच्चिकै महिलाको शारीरिक सुन्दरता यी तीन शक्तिहरू भन्दा पनि उत्कृष्ट छ त? एउटी महिला शारीरिक रूपमा सुन्दर छिन् या भनौँ सौन्दर्यका सबै सूचकाङ्कहरूमा पर्छिन्। तर उनीसँग माथिका तीन विशेष शक्तिहरू छैनन् भनेपछि समाजले के उनलाई प्राथमिकता दिन्छ त? आजको परिप्रेक्ष्यमा अशिक्षित, गरीब र राजनीतिक पहुँच नभएकी महिला पक्कै पनि कसैको रोजाइमा पर्दिनन्। र अर्कोतिर एउटी महिला यी तीन विशेष शक्तिले भरिपूर्ण हुँदाहुँदै हाम्रो समाज उनमा शारीरिक सुन्दरता किन खोज्छ त?

शारीरिक सुन्दरता भोग गर्ने तत्व हो भने भोग गर्ने व्यक्तिको मात्रै सरोकारको विषयवस्तु हुनुपर्ने। यहाँ त प्रायः मानिसहरू एकजना महिलाको सुन्दरताको पारखी भएर बसेका हुन्छन्। मेरै उदाहरण दिनुपर्दा म क्याम्पसमा प्राध्यापकको रुपमा जान्छु। विद्यार्थीहरूलाई पढाउनु मेरो उत्तरदायित्व हो। त्यहाँ म जस्ता अरु प्राध्यापकहरू पनि हुनुहुन्छ, भेट हुँदा हामी नमस्कार आदानप्रदान गर्छौं। नमस्कार गरेको हात तल झारिनसक्दै कतिपयको कमेन्ट आइहाल्छ, कति धेरै मोटाउनु भएछ म्याम त !

म सोच्छु के मोटाउनु शारीरिक कुरुपता हो? बरु यो कसैको स्वास्थ्यसँग जोडिएको विषय हो। मोटाउनु र दुब्लाउनु रहर अथवा बाध्यता हुनसक्छ। कुनै महिला आफ्नो मोटो शरीर मै फुर्तिलो अनुभव गर्न सक्छन्। कुनै महिलाले केही विशेष औषधि सेवन गर्नाले या कुनै शारीरिक बाध्यताका कारणले मोटाएको हुनसक्छ। साथीभाइबीच कुराकानीका क्रममा प्रसङ्गवश कसैको शरीरलाई लिएर प्रतिक्रिया र सुझाव दिइन्छ भने त्यो सान्दर्भिक पनि हुन्छ। तर भेट हुन पाएको छैन फ्याट्ट प्रतिक्रिया दिने व्यक्तिले चाहिँ महिलाको शरीरलाई वस्तुको रुपमा मूल्याङ्कन गरिरहेको हुन्छ।

यो कमेन्ट त्यहाँ मात्र होइन, अन्यत्र पनि मैले भोगिरहेको हुन्छु। त्यहाँको उदाहरण किन दिएको हो भने क्याम्पस भनेको प्राज्ञिक थलो हो। त्यहाँ त शैक्षिक गतिबिधिहरु बारे चर्चा परिचर्चा हुनुपर्ने। तर अफसोच, त्यहाँ पनि मैले उही मोटाएको बारेमा नै प्रतिक्रिया को भार झेल्नुपर्छ जुन अन्य क्षेत्रका मानिसबाट खेप्ने गर्छु। म घरबाट निस्कँदा फ्रेश मूडमा निस्किएको हुन्छु, मज्जाले फूर्तिसाथ क्लास लिन्छु। तर जब हजुर त मोटाउनु भएछ, व्यायाम गर्नुपर्यो, कम खानुपर्यो, विहान विहान दौडिनुपर्यो जस्ता निस्शुल्क सुझाव र विनाप्रसंगका टिप्पणी सुन्छु, आफू त एकदमै पो मोटाएछु कि जस्तो लाग्छ। होइन भने मेरो शरीरको वजनले मलाई अरु केही काम गर्नलाई बाधा पुर्याएको भने छैन। यत्ति हो, कहिलेकाहीँ बजारमा देखेर मन पराएको लुगा ठीक हुदैन र निराश भइन्छ केहीबेरसम्म। यो समस्या त दुब्लोलाई पनि छ, अग्लोलाई पनि छ, होचोलाई पनि छ। सबैजना सबै कुराले परिपूर्ण कहाँ हुन्छन् र?

सौन्दर्य प्रतियोगिताहरुमा महिलाको मोटाई, उचाई, संरचना, कपाल, हातगोडा, वर्ण लगायतका धेरै शिर्षकहरु समाबेश गरिएका हुन्छन्। हिंडाई, बोलाई, हसाई, उठाई, बसाई लगायत सम्पूर्ण क्रियाकलापहरु पनि मूल्याङ्कन गरिन्छ। त्यो त सुन्दरी प्रतियोगीहरुका लागि बनाइएका नियमहरू हुन्। तर एउटा महिला प्राध्यापक, इन्जिनियर, डाक्टर, शिक्षक, व्यापारी, राजनीतिज्ञ, अर्थशास्त्री जस्ता विभिन्न पेशामा आवद्ध महिलाहरू पनि पूँजीवादी समाजको सुन्दरी प्रतियोगिताको जस्तो कसीमा उभिरहनु पर्ने नै हो त? उनीहरूको योग्यता, क्षमता, व्यक्तित्व एवं योगदान आफैंमा सशक्त छंदैछ त। विद्यार्थीकालमा उत्तरपुस्तिकामा न महिला या पुरुष भनेर कतै लेखिएको हुन्छ, न त फोटो नै टाँसिएको हुन्छ, सो पनि निष्पक्ष नै हुन्छ। तर समाजले चाहिँ किन शारीरिक सुन्दरता खोज्छ त?

म एउटा जागीरे महिला भएको हुनाले म आफूलाई शक्तिशाली मान्छु। तर के म शारीरिक रूपमा पनि सुन्दर देखिनु नै पर्छ त? म सोच्छु, मेरो शरीरको बारेमा चासो राख्नुपर्ने मानिस मेरो श्रीमान् एकजना हुन सक्नुहुन्छ तर उहाँ कहिल्यै आफ्नो चाहना र निर्णय म माथि थोपर्नुहुन्न। अब अन्य मानिसहरू जसलाई मेरो शारीरिक सौन्दर्यको कुनै सरोकार नै नहुनुपर्ने हो, उनीहरू किन यति धेरै चिन्तित छन् त? के हाम्रो समाजका मानिसहरू महिलालाई अझै पनि उपभोग्य वस्तु नै सम्झिरहेका हुन्छन् त? उनीहरूको आँखाको तृप्तिका लागि एउटा महिला सुन्दर देखिनुपर्छ? शैक्षिक योग्यताले प्रवेश गरेको ठाउँमा पनि महिलाले अझै शारीरिक सुन्दरताको परीक्षा दिइरहनु पर्ने नै हो? प्रश्न निकै गम्भीर छ।

आजकल बलात्कारका समाचारहरु निकै आउँछन्। बलात्कारका समाचारहरु आजकल बढेको होला, आम मानिसको संचारप्रतिको पहुँचले गर्दा तर यो समस्या त पहिले पनि थियो, अहिले पनि छ। यस्ता आपराधिक घटना किन र कसरी घट्न जान्छन् भनेर अध्ययन गर्ने हो भने प्रमुख कारण भनेको पुरुषले महिलालाई उपभोगको वस्तु ठान्नु र आफूलाई पुरुष मात्रै भएकैले महिलाभन्दा शक्तिशाली ठान्नु हो। पितृसत्तात्मक समाजले पुरुषलाई बलवान र महिलालाई निष्कृय हुनुपर्ने लैंगिक दायित्व दिएकाले हाम्रो सोंचाई नै ग्रसित छ।

यसर्थ अहिलेको एक्काइसौँ शताब्दीका महिलाहरू एकतर्फ महिला स्वतन्त्रता उपयोग गरेर शैक्षिक, आर्थिक, राजनीतिक एवं सामाजिक रुपले शक्तिशाली भएका छौँ भने अफशोच छ अर्कोतर्फ यही समाजको उपभोग्य वस्तुका रूपमा पनि कहीँ न कतै प्रयोग पनि भइरहेको आभाष हुन्छ। जबसम्म हामी यस कुराको विरोध गर्दैनौ तबसम्म समाजले महिलालाई उपभोगको वस्तुकै रुपमा हेर्छ र बलात्कारजस्ता नकारात्मक आपराधिक घटनाहरु घट्न जान्छन्।

अमेरिकी लेखक जुडिथ बट्लरले भनेकी छन्, हामीले कुनैपनि व्यवहार जब दोहोर्याएर गर्छौं त्यो हाम्रो बानी हुनजान्छ। सो बानी संस्थागत भयो भने विचारको जन्म हुन्छ। समाज परिवर्तन गर्ने नै विचारमा परिवर्तन ल्याएर हो र विचारलाई हाम्रो आचरणले प्रभाव पार्दछ। त्यसकारण परिवर्तित सन्दर्भमा पुरातन विचार बदल्न सक्यौं भने मात्र स्वस्थ समाज निर्माण हुन्छ। महिलाको शारीरिक आवरणको सुन्दरतामा कुनै शक्ति नखोजौं, महिलाको सक्षमतामा स्वस्थ समाज निर्माण गरौँ।

– लेखक नेपाल संस्कृत विश्वविद्यालयका उप प्राध्यापक हुन।

तपाईंको प्रतिक्रिया/टिप्पणी