सत्याग्रही गोविन्द केसीको ‘नोस्टाल्जिक’ दोलखा डायरी

-संजिव कार्की

अवकाश पाएको भोलिपल्ट सार्वजनिक बस चढेर डाक्टर गोविन्द के सी दोलखाको चरिकोट पुगे, चरिकोटको प्राथमिक स्वास्थ्य केन्द्रको अवलोकन गरे, डाक्टर बिनोद दंगालबाट अस्पतालको सेवा सुविधा, उपकरण, भौतिक संरचना प्राविधिक सामग्री औषधी र जनशक्ति बारे जानकारी लिए, अस्पताल परिवारसँग संयुक्त फोटो खिचाए अनि स्वास्थ्य कर्मीलाई हौसला प्रदान गर्दै बाहिरिए।

२०२९ सालमा एस एल सी दिएको तत्कालीन भीम पब्लिक स्कुल समेत पुगेर आफ्नो अनुराग व्यक्त गर्दै प्रख्यात दोलखा भीमसेन मन्दिरको दर्शन गरेर चरिकोटमा एक रात बसे। आफ्ना मामाको छोरा प्रचण्डदीप कार्कीको मोटरसाइकलको लिफ्ट लिएर डाक्टर केसी दोलखा तामाकोसी गाउँपालिकास्थित आफ्नो मामाघर जफे पुगे र जफे चनौटे बेसीको धान खेतमा सुनौला धानको बालासँग रमाउँदै सुदूर अतीतको रोमान्चक सम्झना गरे। फोटो खिचाए। आफ्ना मामाहरू कुवेर र जित बहादुरसँग भेट गरे, ९० वर्षीय मामा कुबेर कार्कीको हातले बनाएको खाना प्रेमपूर्वक खाए। अनि झुले पुगे, जहाँ उनको बाल्यकाल र स्कुले जीवनको अधिकांश समय व्यतीत भएको थियो। त्यो रात आफू हुर्केको बसेको र सँगैपढेका कान्छा मामाको मूलघरमा बसे। बिरामी साइला मामाको स्वास्थ्य र वृद्ध माइली माइजूको हालखबर सोधे, साइला मामाका हातपाउ सुम्सुम्याउँदै हरेस नखान आफ्ना मामालाई सम्झाए।

दश पाँचको झन्डै चालीस वर्षको सरकारी औपचारिक जागिरको बन्धन युक्त जिन्दगीको रुटिन सकिएको भोलिपल्टै दोलखा आफ्नो मावली घर जानुमा अर्थपूर्ण, भावनात्मक सम्बन्ध र बाल्यकालको सुमधुर स्मृतिले काम गरेको छ भनेर बुझ्न सकिन्छ। आफ्नो निजी भ्रमण भन्दै दोलखा पुगेका डाक्टर केसी आफ्ना बूढा मामाहरू र माइजूहरु, दाजुभाइ दिदीबहिनी अनि अन्य निकट आफन्तसँग दिनभर रमाए, दुख सुखका कुरा गरे, रोग बिमारबारे जानकारी लिए, बिरामी र आफन्तको जाँचगरे, बिभिन्न रोग लागेकाहरूलाई सल्लाह सुझाव दिए। झुलेमा रहेको स्वास्थ्य चौकीको सामान्य निरीक्षण गरे। अनि तामाकोसी गाउँ पालिका झुलेमा रहेको वडा कार्यालयमा पुगे जहाँ उनलाई वडा अध्यक्ष हर्कबहादुर योन्जनले न्यानो आतिथ्यता प्रदान गरे, प्रेमपूर्ण अंगालोमा हर्कबहादुर योञ्जनले धेरैबेर कसेर राखे । विगतको स्मरण गर्दै बर्तमानको परिवर्तनबारे वडा अध्यक्षसँग मिठो भलाकुसारी गरे।खेलकुद गरेको भत्येरे चौरको पुर्व स्मृति सुनाए। आफूले अध्ययन गरेको अमर मा.बि.को नयाँ रुप र संरचनाको अवलोकन गरे। पुरानो र भूकम्पले क्षतिग्रस्त भवनको फोटो लिए, नोस्टाल्जिक बने। आफ्ना मावली हजुरबुबा स्वर्गीय अमरबहादुर कार्की र हजुर आमा रत्न कुमारीको श्रद्दा पुर्वक स्मरण गरे जसले अमर माध्यमिक विद्यालय स्थापना गरेर सो क्षेत्रमा शैक्षिक योगदान, बिभिन्न धार्मिक अनुस्ठान र परोपकारी सामाजिक कार्य गरेका थिए जिल्लाका धेरै ठाउमा पाटीपौवा, धारा चौतारा मन्दिर निर्माण गर्ने देखि ठाउँ ठाउँमा वर पिपल रोपेर आफ्नो सामाजिक सुकर्मको प्रभाव छोडेका थिए। दुई वर्षको उमेरमा नै मावली घरमा बस्न पुगेका के सीको बाल्यकालको लालनपालन शिक्षा दिक्षा र रेखदेख हजुर आमा र मावलीहरुबाट भएको थियो तसर्थ पनि मावलीप्रति विशेष, स्नेह र लगाव राख्छन डाक्टर के सी। जफे , झुले सो आसपास र प्राय दोलखालीहरु भान्जा बाबुको प्रिय सम्बोधन गर्छन डाक्टर केसीलाई।

स्वास्थ्य र शिक्षामा थुप्रिएको विकृति सत्याग्रह मार्फत बडार्ने उदेश्य राखेका केसी जिन्दगीको प्राथमिकतानै स्वास्थ्य सुधार र शिक्षामा आमुल परिवर्तन हो भन्छन्। आफू हुर्की बढेको खेलेको माटो धुलो, हावापानीसँग त्यहाँको परिवेशसँग आफ्नो अन्तरंग स्पर्श गरेर अन्तर कुन्तरमा रहेको आध्यात्मिक भाव र चेत मार्फत आशिर्वाद लिनको लागि पनि अवकाश पछि मावली गाउँ पहिलो रोजाईमा परेको हुनसक्छ। केसी आफ्नो आसन्न १७ औ अनशन कार्तिक १३ गते शुरु गर्ने तयारीमा छन् । देश र जनताको लागि निर्जल, निराहार व्रत बसेर न्यायिक उपासना गर्ने केसीलाई भरपुर आशिर्वाद र सफलताको शुभकामना दिएर पठाएका छौ, डाक्टर केसी असफल हुनु पर्दैन, भन्छन उनका मावली गाउँका आफन्तहरु।

भान्जा बाबुको लागि आशिरवर्चन भनेर भोक खप्ने शक्ति मिलोस हामीले त्यति भनेका छौ उनका आफन्तको भनाइ छ। आफूलाई माया गर्ने भीमबहादुर घर्ती सम्झिएर भेट्न गए उनको घर, भीमबहादुर घर्ती करिब ८० बर्षका श्रमजीवी एकल पुरुष हुन् । आफ्ना वाल्यकालिनलिन दौतरी, आफूलाई पढाउने गुरु लगायत सबैलाई आफ्नो तीन दिने बषाईमा सम्झिए भेट्न गए । मामाघर बसाईमा सहयोग गर्न साहित्यकार भाइ श्रीबाबु कार्कीको साथ लिए।कार्तिक १३ गते देखि अनशन बस्ने तयारीमा रहेका केसीको दोलखा आगमनलाई अनशन स्थल रेकीको रुपमा पनि धेरैले अड्कलबाजी गरेका छन्। कतिपय समाचार माध्यमले किटान गरेर र कतिले यस्तै आशयको समाचार सम्प्रेषण गरेर सात्याग्रही केसीको दोलखा टूरले चर्चा पाएको छ। यस सम्बन्धमा प्रश्न सोध्दा चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर बिनोद दंगाल आफूहरुले कुनै त्यस्तो क्लु र संकेत नपाएको बताउछन्। काठमाण्डौ बाहेक जुम्ला, ईलाम लगायतका ठाउँमा अनशन बसेका केसीको अनसनको पुर्व सन्ध्यामा दोलखा चरिकोट आगमनलाई सोही रुपमा बुझे पनि म देसको जुनसुकै कुनामा अनशन बस्न सक्छु दोलखामा वार्मअप गर्न आएको होइन भन्छन स्वयं के सी नेपालको हर स्थान मेरो छनौट हुनसक्छ भन्नुमा दोलखा नपर्नुपर्ने कुनै कारण छैन। उनले स्थान चुज नगरेसम्म अड्कलबाजीहरु भै रहन्छन।

हाडजोर्नीका प्रख्यात डाक्टर, चुडिएको हात जोडेर नेपालमा पहिलो रेकर्ड बनाएका व्यक्ति प्राध्यापक डाक्टर केसी असोज २७ गते उमेर हदको कारण अनिवार्य अवकाश लिन पुगे र आफुले २२ वर्ष बसेको २६ वर्ष सेवा गरेको अस्पतालको आवास गृहबाट निस्कन लाग्दा तीन पोका सामानको कुम्लो, किताबका केही थान कार्टुन र एउटा झोला बोकेर निस्के। भाइको घरमा बोरा बिस्तारा राखेर भोलिपल्ट बिहानै दोलखा आएका डाक्टर केसी निर्धन र सामान्य जीवन शैलीका अजिव पात्र हुन्। आफ्ना समर्थक, साथीभाई र शुभचिन्तकहरुबाट सन्त चिकित्सकको उपमा पाएका केसी धन सम्पति र लाभको पद लिने थुप्रै सम्भावना र अवसरलाई आफ्नो जीवनको धेय नभएको बताउछन।

जनहितको कार्य र समाजसेवामा आफुलाई सम्पन्न देख्छन। आफ्नो धन नै मान हो , सम्पति जोड्नु भन्दा चुडिएका हातपाउ जोर्नु चै ठुलो र महत्वपूर्ण कुरा ठान्छन। रोगी बिरामीका घाउ ,पिप, सिंगान ,दिशा, पिसाब,मलमुत्र, रगत खकार सोहोरेका के सी ७७ जिल्ला कम्तिमा पनि तीन पटक पुगेर मानवीय सेवामा कटिबद्द छन्। केसी आफ्नो यात्रा र गन्तव्य बारेमा हत्तपत्त खुलेर बताउन चाहदैनन्।

दोलखा पछि तपाईको गन्तव्य कता हो। भन्ने जिज्ञासामा केसी आफू फकिर र घुमन्ते भएकोले जतापनि जान सक्छु ‘म यस्तै त हो नि ब्रो’ टाइपमा प्रतिउत्तर दिन्छन। उनले सपाट जबाफ र उत्तर नदिए पनि आफ्नो जन्म स्थल रामेछापको माकादुम सिम्ले पुग्ने र जन्मभूमिको माटो स्पर्श गर्ने अनि त्यहाँ रहेका आफन्तसँग भेटघाट गरेर समयको सदुपयोग गर्ने संकेतको रुपमा बुझिन्थ्यो। खैर उनी जहाँ जाउन जता पुगुन उनी त्यो माटोको सुगन्धले बशिभूत हुन्छन ।

देसको माटोको सुगन्ध मृत्यु पर्यन्त आफ्नो लागि प्रिय सम्झन्छन तसर्थ देश छोडेर कतै जाने र बस्ने सोच उनको छैन। सरकारले दिने पेन्सन नै आफ्नो बाच्ने आधार रहेकोले भावी जिन्दगी गुल्जार गर्न समस्या नभएको आफू एक छाक खाएर बाँच्न सक्ने अल्पहारी भएको सुनाउछन। आफ्नो लागि अत्यावश्यक सामानको झोला बोकेर हिड्ने केसी त्यहि हुलियामा देस बिदेस जहाँ पनि पुगेका देखिन्छन तसर्थ उनको भ्रमण प्राय गोप्य नै हुन्छ र उनी जहाँ पुग्छन पुगेपछि मात्र जानकारी पाइन्छ।

जोगी जिन्दगी बाँचेका यी डाक्टर फोटोग्राफी र पैदल यात्राका सौखिन छन्। देशका सबै जिल्लाका भेष, भुषा संस्कृति, रहनसहन, रितिथिति, चालचलन र परम्पराका राम्रो जानकार के सीले दुई पटक फोटो प्रदर्शनी गरेका छन्। शाकाहारी डाक्टर के सी अल्पहारी र भात भन्दा दुध पाउरोटी, जाम , दहि चिउरा मफिन केक र कोकलाई आफ्नो आहारा बनाउछन्।

यस पटक मामा घर झुलेमा पनि सिस्नो र ढिंडो खाएर बल्यास्मृतिलाई ताजा बनाए। सिस्नो खान पाउदा दंग परेर सिस्नोको औसधीय गुणको बर्णन गरेर सिस्नो खाई रहन सुझाए। उहिले गरिबको बाध्यताको खान्की सिस्नो अहिले रोगी र धनीको औषधी भएको हास्दै सिस्नोको महत्व र प्राकृतिक रुपमा पनि देश औषधी र जडीबुटीले धनी रहेको तर हामीले यसबाट उल्लेख्य फाइदा लिन नसकेको तथ्यउजागर गर्दै थिए।

अतिरिक्त पैसा आफ्नो जीवनको मेनुमा छैन भन्ने कुरा यिनको सादगी पारा र भ्रमणमा जाँदा सस्तो होटेल खोज्ने, सामान्य बास रोज्ने, आफ्नो काम आफै गर्ने, पकाउने तुल्याउने सरसफाई सबै आफै गर्ने यिनको आदत छ। कम भन्दा कम खर्चमा गन्तव्य पुग्ने बान कपडा सौख र फेसन होइन बाध्यता मात्र सम्झने उनको कपडा लगाईको प्राय एकै किसिमको हुलियाले पनि बताउछ। सरकारहरुले बारम्बार र सम्झौता गरेर फर्जी चेक थमाए झैँ पटकपटक बेइमानी गरिरहन्छ त्यसैले उनको अनशन पनि १६औ शृंखला सकेर १७औ बन्ने तरखरमा छ। दर्जन पटक सम्झौता गरेको सरकार के सीलाई फर्जी चेक हातमा राखिदिएर आम नेपालीको स्वास्थ्य र शिक्षामा भएको खेलवाडको साक्षी र संरक्षक बन्छ।

आफैले गरेको सम्झौता र कानुन उलंघन गर्दै सरकार केसीलाई चिढ्याउदै जनतामाथि घात गरिरहन्छ चिकित्सा क्षेत्र सुधारको लागि कम्तिमा चार दिन देखि २७ दिन सम्म १६औ पटक भोको बसेका केसी भोक खप्न राजिछन, मृत्युको नजिक जान इच्छुक छन तर कसैसँग डराउदैनन। ज्यान मार्ने धम्की देखि लोभ, आश्वासन र थुप्रै र ठुला पदको अवसर भन्दा आफ्नो निष्ठा, आदर्श र पुण्य र परोपकारी कर्मलाई महान सम्झन्छन। सादा जीवन र उच्च विचार यिनको आदर्श सहितको प्रतिबिम्बित यथार्थ ब्यबहार र संस्कार हो हठी स्वभावका केसी आफ्नो पागलपन र समर्पण प्रति दृढ छन्।

घर परिवार सम्पति केही नजोडेका केसी बिरामीहरुको सेवा र सत्कर्म नै आफ्नो लागि ठुलो सम्पति र रोगी , घाइते बिरामीहरुले गर्ने माया र इज्जत नै धनदौलत हो भन्छन्। देश, देशान्तर डुलेर समाज बुझेको कारण नै समाजमा ब्याप्त रोग, गरिबी अशिक्षा, भ्रस्टाचार र बेथिति नजिकबाट देखेका छन्, जनताले स्वास्थ्य सेवाबाट बन्चित भएको हृदयविदारक र कारुणिक दृश्य पनि हेरेका छन। दुखसँग एकदम नजिक बसेर साक्षात्कार गरेका छन्। सेवा र अवसर कस्तो हुनुपर्छ त्यो हेरेका, बुझेका छन त्यसैले नेपालीको दुख: देखेर भावुक बन्छन र नेपाल र नेपालीप्रति राज्यसत्ता गैरजिम्मेवार बनेकोमा आक्रोश पोख्छन।

द्वन्दको समयमा माओवादीले सुराकी र सेना प्रहरीले मिलिसिया भनेको अनि दोलखाको रोलवालिंग क्षेत्रमा आफू डाक्टर भएको कसैले नपत्याएको र मिलिसिया भनेर गाउँमा खाना नपाएको अनि सुराकी भनेर घन्टौ नियन्त्रणमा रहेको कुरा रोलवालिंग हिमश्रृंखलाहरु हेर्दै के सीले सम्झना गरे। आफ्नो बाल्यकाल, साथी संगी अनि १० कक्षा पढ्दा सम्म पाँच स्कुल चाहार्नु परेको काठमाडौँको पद्मोदय देखि दोलखाको जिरी झुले अनि भीम मा वि सम्मको रोमान्चक र दुखद अतीतको याद आफन्तलाई सुनाए। कुशल सर्जन डाक्टर के सी सर्जनमा हातको गुण, चिलका जस्ता आँखा र साहस चाहिन्छ भनेर चिकित्सकीय विशेषताको चित्र भन्छन दोलखाको झुलेमा क ख चिनेर अक्षर आरम्भ गरेका केसी बंगलादेशको राजशाही मेडिकल कलेजका स्नातक र ढाका कै एम एस हुन्।

बेलायत, अमेरिका, जापान लगायतथुप्रै देश र कलेजमा डाक्टरी सिप र तालिम लिएका केसी आफ्नो मातृभूमि र जन्मभूमिको लगावको कारण स्वदेशकै भूमिलाई आफूले आजन्म सकेको गरिरहने संकल्प गर्छन। त्यसो त आफ्नो परोपकारी भावनालाई जाति, भूगोल र धर्मको परिधिले नछेक्ने हुदाँ मानवतावादी हात लिएर भारतको गुजरात, उत्तराखण्ड ,पाकिस्थानको कश्मिर हाइटीको महाभूकम्प ,पाकिस्तानको बाढी, बर्मा र फिलिपिन्सको समुन्द्री तुफानको कारण भएको अप्ठ्यारो र क्षतिको लागि मलम लगाउन स्वयंसेवी डाक्टरको रुपमा पुगेका छन्।

बर्मामा उपचार गर्दा त्यहाँको सरकारले सुइँको पाएको भए १५ वर्ष जेल हाल्न सक्थ्यो तर त्यो खतरा मोलेर स्थानीय शिक्षकको सहयोगमा भेष बदलेर उपचार गरेको कुरा पनि दोलखा बसाइमा डाक्टर केसीले सेयर गरे। आफ्ना लागि संचय गर्नुपर्ने केहि नभएकोले आफु फकिर र फुक्काफाल भएर अन्यायको विरुद्द लडन सहज भएको के सिको बुझाई छ। गान्धी बारे आफ्ना बुबा स्वर्गीय उदय बहादुर खत्री बाट सुनेक, महात्मा गान्धीको जीवनी पढेर के सी गान्धीको सत्याग्रहबाट प्रभावित भएर आफुलाई पनि गान्धीछापे सत्याग्राहिको रुपमा देश बिदेशमा चिनाउन सफल छन्।

दुराग्राही, मुढाग्राही र इमान बेच्नेहरुले यिनलाई बिबिध आरोप र लान्छना लगाएका छन, आफुलाई लाग्ने आरोपबारे सोध्दा यी भन्छन सारा दुनियाको आरोपको खण्डन गर्नुको तुक छैन म जे छु खुल्ला छु,जसले जे भने पनि त्यो उनीहरुको बुझाई हो सत्य ढिलो चांडो बुझिहाल्छन नि। मेरो सत्याग्रह र अडान मागको कारण स्वार्थमा ठेस लाग्ने केही मान्छेहरु, तिनको संरक्षण गर्ने सत्ताले मलाई गालीगलौज गर्छन म तिनको जबाफ त ओठले दिन सक्तिन जति सक्छु कामले दिने इमान्दार प्रयास गर्नेछु। यिनको जीवन शैली र आत्म अनुशासन हेर्दा लाग्छ जबाफ आवरणमा होइन आचरणमा हुन्छ।

यी कुनै राजनीति र सिद्दान्त प्रति छुट्टै झुकाव राख्दैनन् तर यिनको शैली र जीवन वाच्ने कला अनि ब्यबहार विसुद्द सर्वहारा कम्युनिस्ट चरित्र सँग मेल खान्छ शायद यिनको जबाफ यहि आचरण र ब्यबहारले झल्काउछ, बताउछ। सामान्य जीवन यापनमा विश्वास राख्ने डाक्टर के सी अरुलाई त के आफन्तलाई समेत दुख दिन हुदैन भन्छन कसैलाई दुख दिन हुदैन भन्ने मान्यताकै कारण के सी सुटुक्क सार्वजनिक बस चढेर चरिकोट पुगे र मोटरसाइकलको लिफ्ट मागेर कच्ची बाटो मामाघर गए। यिनले चाहेको भए, यिनलाई छुट्टै गाडीको ब्यबस्था गरेर यिनको आवश्यकता अनुसार प्राइभेट गाडी बन्दोबस्त गरिदिने हैसियत भएका आफन्तहरु धेरै थिए छन्।

सुभेच्छा प्रकट गर्ने र यिनको अभियानलाई समर्थन गर्नेहरुले आर्थिक र भौतिक सहयोग गर्न मरिहत्ते गर्छन तर त्यो स्वीकार गर्दैनन्, सहयोग लिन रुचाउदैनन बरु दुख गरेर हिडन मन पराउछन आफ्नो कारण अरुले दुख नपाउन, अरुको सम्पति आफ्नो आवस्यकताको बन्दी नबनोस भन्ने यिनको चाहना छ । सहयोग गरेपछि मान्छेहरु आफ्नो स्वार्थको गोटी बनाउन खोज्छन त्यसैले व्यक्तिगत र संस्थागत जुनसुकै सहयोग लिनुहुदैन भन्ने यिनको पवित्र र चोखो विश्वास छ। यही र यस्तै विशेषताको कारण डाक्टर केसी अरु भन्दा बेग्लै छन। फरक मात्र हैन फराकिलो परिचय र फरक धार, अलग पहिचान सहितको चिनारीमा छन। आफ्नी आमा असाध्यै रोगग्रस्त भएर क्यान्सर रोगको गम्भीर अप्रेसन गर्दै गरेको बेला आमालाई भाइहरुले हेर्छन म देशरुपी आमाको हेरचाह गर्छु भन्दै आफ्नो अनशन स्थल टिचिंग अस्पतालको कुनामा यी जीवन मरणको दोसाँधमा लडिरहेको पंतिकार लगायत धेरैले देखेको सत्य यहाँ भनिरहनु परोइन। निस्वार्थ सेवाभाव यिनको आदर्श हो।

एक व्यक्तिको रुपमा बरु आफ्नो विश्वसनीयता गुम्दा राज्यलाई घाटा हुदैन तर राज्यस्तरको विश्वसनीयता गुम्यो भने देस र जनताको लागि गम्भीर घाटा र दुर्घटना हुनपुग्छ। राज्यको विश्वसनीयतामा कमि आएकोले नै पटकपटक आफुले अनशन गर्नु परेको र जनताले दुख पाएको के सिको बुझाई छ। ढिलो बुझ्लान तर जनताले सत्य बुझछन सत्यको लागि साथ दिन्छन आफ्नो सम्पूर्ण तागत भनेको जनताको माया समर्थन र विश्वास हो।

राज्य इमान्दार हुने हो भने जनताले दुख पाउनु पर्थेन, पद्दति बसाउनको लागि सधै आन्दोलन जरुरि थिएन। आफूले हारेर फरक पर्दैन, म एक्लो व्यक्ति मरेर राज्यलाई ठुलो घाटा छैन तर राज्यले हार्यो भने नैतिकता गुमायो भने देशले बेहोर्नुपर्ने क्षतिको फेहरिस्त लामो हुने के सिको तर्क छ। आफूसंग गरिएको सम्झौता राज्यले चटपटे बेच्न र मशला पोको पार्ने कागजको खोस्टो सम्झेको कारण नै एकै र उस्तै उही मुद्दाको लागि बिगत दस वर्ष देखि लड्नु परेको डाक्टर केसीको दावीमा बिमति जनाउने ठाउँ भेटिएन।

देसको माया, म आफ्नो माया नगरेर नै गर्छु मलाई यो देसको माया छ तसर्थ म भोकै मरेर देसले जित्छ, जनताले सुख पाउछन र समृद्द नेपालको सपना पुरा हुन्छ भने म मृत्यु पत्रमा हस्ताक्षर गर्न सधै तयार छु के सी आफ्नो दृढता व्यक्त गर्छन। अस्थिर सरकार , संयुक्त सरकार र बिभिन्न पार्टी गठबन्धनको सरकार, पुजिवादी पार्टी र सरकारले ढाँटे त्यहाँ बाध्यता थियो होला त्यो हदलाई म कठिन नै लागे पनि स्वीकार गर्छु तर कम्युनिस्टहरुको शक्तिशाली दुई तिहाइको एकमना सरकार , कम्युनिस्ट सिद्दान्तलाई नै म्याच हुने स्वास्थ्य र शिक्षाको आमुल परिवर्तन, जनमुखी बैज्ञानिक बिधि र पद्दतिको पक्षमा बहस पैरवी गर्दा स्वयं कम्युनिस्ट पार्टीको सरकारले वास्ता नगर्दा धोका दिदा, आफूलाई पूजीवादको दलालको बिल्ला भिराइ दिएकोमा भने चित्त दुखाएका छन्। ओलीले इमान भुलेकोमा्, आफ्नै निर्णय लत्याएकोमा आक्रोशित छन के सी। ‘लाज बेचेर लुगा किन्ने मान्छे जस्तो लागेको छ डाक्टर केसीलाई राज्यको नियत। ’

कुनै अभियन्ता संबिधान, कानुन र बिधि विधानको साइत हेरेर जन्मदैनन भन्ने उदाहरण हुन् केसी। अनशन बस्न असाइतमानै साइत निकाल्छन केसी त्यसैले यिनको लहड, सनक र ढीटले यिनका शुभचिन्तक,आफन्त र समर्थकहरु आजित हुन्छन पनि। अनुकुल समय होइन भनेर उनको अनशनप्रति असन्तुस्टी प्रकट पनि गर्छन तर सत्कर्म गर्न कुनै अनुकुल समय चाहिदैन प्रतिकूलतालाई अनुकुलतामा बदल्ने अठोट र संकल्पले हो भन्ने आफ्नो जोदाह अड्डी लिन्छन र भोकै लम्पसार पर्छन केसी।

असमन्जसमा पर्दा पर्दै पनि केसी सनकको अघि अरुको केही जोड चल्दैन समर्थन र अभियान गर्न बाध्य हुन्छन सुभेच्छुकहरु अविवेकी चिकित्सा, अदूरदर्शीनिर्णय, अव्यवहारिक शिक्षा, अब्यबस्थित परिपाटी, अगतिशील प्रणाली, अधकल्चो स्वास्थ्य सेवा सुधार नगरेसम्म आफ्नो जीवनको सार्थकता हुदैन भन्ने यिनको बुझाई छ त्यसैले यिनी समाज र देशका लागि पागल बन्छन। हामीले किताबमा मात्रै देखेका पढेका कम्युनिस्ट ब्यबहारमा केसीको जीवनसँग ठयाक्कै मिल्दोजुल्दो छ।

सिद्दान्तले कम्युनिस्ट कहलिने त थुप्रैछन, देसमानै कम्युनिस्टहरूको बाहुल्यता छ तर ब्यबहारले सच्चा कम्युनिस्टचै डाक्टर केसी हुन। आचरण र शैलीले कम्युनिस्ट देखिने थोरै मान्छे उदाहरण बन्दारहेछन, कम्युनिस्ट चरित्र र शैलीका अब्बल उदाहरण हुन डाक्टर गोविन्द के सी। गान्धीलाई किताबमा देखेको र कम्युनिस्ट चरित्र रेडबुकमा घोकेका मान्छेहरुलाई दुवैको झल्को र नियास्रो मेटाउने कम्बाईन जीवनशैली बोकेर हिडेका छन् डाक्टर केसी।

डाक्टर के सी पनि यही समाज र परिवेशका उत्पादन हुन, मान्छे हुन् कमीकमजोरी यिनका नहोलान र छैनन् भन्न सकिन्न तर बग्रेल्ती कमजोरी भएका, बारम्बार थुप्रै पटक कमजोरी गर्ने, शक्ति र सत्तालाई आफ्नो पेवा र पैतृक सम्पति सम्झने, शक्तिका मालिकहरुको दाँजोमा यी भुइँ मान्छे थोरै मानवीय कमजोरी सहितका आचरणले कम्युनिस्ट चरित्र र चित्र भएका गैर कम्युनिस्ट साधारण मानव हुन भलो होस् यी मनुवाको। धेरैले अनशनको विकल्प खोज्न सम्झाएका छन् बारम्बारको अनशन कमजोरी भनेका छन सरकारले कमजोरी सच्याए, जनतामुखी चिकित्सा निति ल्याए यिनले अनशन बस्नुपर्ने थिएन अनशन कमजोरी नै हो भनेपनि, अनशन बसेर जीवन नै दाउमा लाउन कुनै रहर, सौख र आदत नहोला पक्कै पनि?

लेखक कार्की, डाक्टर केसीको अभियानका सहयात्री हुन् -सम्पादक

तपाईंको प्रतिक्रिया/टिप्पणी