सत्यकथा : स्वास्नी विदेश पसेपछि…


सन् २००२ तिरको कुरा हो, भारतको मुम्बईमा बि.कम.को परीक्षा दिएर बसेको थिएँ। मेरो सामान्य परिवार घरको जेठो म भन्दा मुनि दुई भाइ र बहिनी। बाबाको मात्र कमाई भाइहरू र बहिनीको शिक्षा दीक्षामा पर्याप्त थिएन त्यसमाथि मेरो उच्च शिक्षाको चाहना मेरो मात्रै थिएन मेरो बाबाको चाहना अझ धेरै थियो किनकी शिक्षाको अभावमा मेरो बाबाले भोगेको पीडा यहाँ वर्णन गरेर साध्य छैन कतिपय मैले देख्न पाएँ तर कतिपय बाबाले ती सबै पीडा हामीलाई देखाउन वा महशुस गर्न दिनु भएन आफू सकेको संघर्ष गर्दै जानुभयो।

एउटा विकट जिल्लाको त्यो पनि जंगलको किनार हामीलाई वर्ष भरिलाई एक छाक टार्न धौ धौ थियो। म छ वर्षको हुँदो हूँ म सहित भाइ र आमालाई टपक्क टिपेर भारतको सहरमा संघर्ष गर्न उत्रिनु भयो।कहिल्यै नजानेको देश कहिल्यै नजानेको भाषा काम पाउनु पर्ने चुनौती दूधे बालकहरु…यति लेख्दै गर्दा बाबालाई सम्झेर आँशु थामिएन।

बाबाले भोगेको दुःख पीडा बिर्सेर हामीलाई हौसला दिदै जानु भयो।बाबाले कति दु:ख भोग्नु भयो भन्ने कुरा मैले अनुभव गरे भन्दा लाखौँ गुना बढि हुनुपर्छ।मामाले सायद बाबाको संघर्ष बुझ्नुभयो,अनि मामाकै सुझावमा अरबको सपना बुनियो। मुटुमाथि ढुङ्गा राखेर बूढेसकालको टेक्ने लौरो अरबलाई सुम्पन बाबा राजी हुनुभयो।

सन् २००२ मा बाबा भारतमै हुँदा काठमाण्डुमा मेरो पासपोर्ट बन्यो र ओमानको भिसा प्रोसेस त्यसको केही समय मै एक प्रतिष्ठित कम्पनीमा सेल्स ब्वाएको काम पाएँ। सानै उमेर केही अपरिपक्क बैशालु समयमा म रमाउँदै गएँ। एउटै कम्पनीमा हाम्रा नाता भित्रबाट अरु २ जना पनि हुनुहुन्थ्यो,त्यसमाथि केही फाटफुट मन मिल्ने साथीहरु पनि भेट भयौं। दिन राम्रै बितिरहे।कम्पनीको नियम अनुसार प्रत्येक तीन महिनामा नयाँ ब्रान्च वा अर्को ब्राञ्चमा ट्रान्सफर हुनुपर्ने रहेछ त्यति बेला नेपाली भेट्नु भनेको लाग्यो आफ्नै बाबा भाई भेटिए जस्तो लाग्थ्यो। ओमान भर्खर विकासले बुर्कुसी मार्दै थियो सायद विकासबाट परिवर्तन प्रतक्ष्य देख्ने मौका पाएँ ओमानका प्रमुख शहर मस्कट, सोहार, सुर, सलालाह थुप्रै शहरमा राम्रै अनुभव बटुल्न पाएँ।

समय बित्दै गयो सन् २००६ तिर मेरो लामो बसाई ओमानको पर्यटकीय शहर सलालामा भयो। जवानीले काउकुती लगाउँदै थियो। मस्कटको तुलनामा नेपाली प्रशस्त देख्न पाईने रहेछ।एउटा गार्डेन रहेछ यहाँको भाषामा हदिका भनिँदो रहेछ तर म भर्खर नयाँ त्यो शहरमा, शुक्रबारको दिन त्यहाँ पुग्ने अवसर पाएँ तर पहिले त मलाई नेपाली भन्न पनि लाज लाग्यो। मलाई झट्ट हेर्दा मान्छेले फिलिपिनो जस्तो देख्ने हुनाले केही दिन आफ्नो परिचय लुकाउन खोजेपनि एक हप्ता अर्को हप्ता गर्दै जाँदा म लुक्न पनि सकिन तर त्यहाँको वातावरण हेर्दा म आफै रनभूल्ल परेँ।

हो, एउटा लक्का जवान मान्छे अनि त्यहाँको वातावरणबाट म कसरी फुत्किनु ! यत्तिकैमा एकजना केटीसंग म नजिक हुन पुगेँ। ज़िन्दगीमा पहिलोपटक कुनै केटीले मलाई प्रेम प्रस्ताव गरिन्। त्यो प्रेम त्यही दिन नै आँखा हुँदै अंग अंगमा पुगेर छचल्कियो।हामी बिच सबै दूरी सकिए,त्यो पनि उनकै आग्रहमा। उनले गरेको प्रस्तावलाई मैले दायाँ बायाँ केही सोचिन कि त्यो बेलाको परिस्थिति नै त्यस्तै बनेको थियो। त्यो बेलाको कथाले त्यही कुरा मागेको थियो। म डुबेँ, अर्थात हामी दुबै संगै डुब्यौँ।

हाम्रो भेट बाक्लिदै गयो। यत्तिकैमा मलाई अरु केटीहरुको पनि प्रस्ताव आउन थाले त्यो भन्दा पनि मलाई जससँग नजिकिएको थिएँ उनको बारेमा अप्रिय खबर र फोटोहरु आउन थाले तर म प्रेममा डुबेको बेला उनी नै मेरो जिन्दगी सम्झेँ मैले।ओमानमै भएका मेरा आफन्तहरुको सुझावलाई समेत बेवास्ता गरिदिएँ।उनलाई आफ्नै आँखाले कुनै दिन अपरिचित व्यक्तिसँग हिँडेको देख्थे तर मैले कुनै नकारात्मक सोचिन सायद कसैलाई त्यहि इनोसेन्सी (मासुमियत) नै मेरो कमजोरी बन्यो।

हाम्रो जात पनि फरक थियो तर माया न हो, सहर्ष स्वीकार भयो। कुनै एक मेरो मिल्ने साथीले त उसको गर्लफ्रेन्ड भड्कायो भनेर मै सँग बोलेन र अझै बोल्दैन।यानिकी उनी उसकी पनि गर्लफ़्रेण्ड रैछिन्।

उनी बिबाहित रहिछिन्, मलाई भनिनिन्,दुईटा बच्चाको आमा रैछिन्, त्यो पनि भनिनिन्, अनि लोग्नेसंग डिभोर्स भै सकेको रहेछ ! त्यो पनि भनिनिन्, सबै थाहा पाउँदा पनि मैले त्यसलाई समेत स्वीकारेँ।उनको जिन्दगी मेरो कारणले नबिग्रियोस् मेरो मनमा खाली तिनै कुरा विझे मैले उमेर हेरिन, जात हेरिन विगत हेरिन केवल माया दिएँ। चोखो माया मात्र।

परिस्थिति बदलियो: उनी मलाई नभनेरै ओमनबाट नेपाल गईछिन्,त्यो पनि मेरै घर। मेरै बाबाका अगाडि मेरो बच्चाको आमा बन्दैछु भन्दै आँशु झारिछिन्। म जति सोझो छु मेरो बाबा त्यो भन्दा बढी सोझो हुनुहुन्थ्यो त्यसैले मलाई जानकारी नै नदिई बाबाले बुहारीको रुपमा उनलाई भित्र्याई दिनुभएछ। मलाई गुनासो थिएन, किनकि उनी मेरी प्रेमिका थिईन्।उनी हाम्रो सगोलको परिवारमा बस्न थालिन्, हाम्रो कुराकानी भई नै रहन्थ्यो।

तर मान्छे एकैनासको कहाँ हुँदोरहेछ र आफूले सोचें जस्तो नहुँदो रहेछ। उनी मेरो स्वर्ग जस्तो घरमा पसेको दिनदेखि मलाई नौ महिना कोखमा राखेकी आमाको आँखा कहिल्यै ओबानो भएन त्यो हाम्रो परिवारमा लक्ष्मी हैन सुपर्णखा पसेजस्तो भयो। रोगले गलेकी मेरी आमाले उनकै स्याहार गर्नुपर्ने, उनकै खटनमा बस्नुपर्ने भयो तर पनि आमाले सहनुभयो किनकि त्यहाँ मेरै फोटोकपी जस्तो मेरो उत्तराधिकारी आएको थियो।आमा भन्नु हुन्थ्यो, “ऊ पनि म जस्तै कसैकी छोरी हो, भोलि बुद्दि फिरेपछि गल्ती स्वीकार गर्ली।”

तर उनी बदलिनन्। मेरी आमाले भोगेको मानसिक र शारीरिक यातनालाई म यहाँ उल्लेख गर्न चाहन्न, यसले समग्र नारीकै अपमान गर्छ।कुनै चलचित्रको कठोर कथा भन्दा कम दु:खद छैन तर पनि उनी मेरो जिन्दगीमा सबै त्यागेर आएकी थिईन् भनेरै चित्त बुझाएँ।

त्यति बेलासम्म मेरो कमाई पनि ठिकै भएको थियो, रात दिन मेहनत गरेकै थिएँ त्यस पछि मलाई मेरो आफन्त दाईले काठमांडौमा होटल खोल्ने सुझाव दिनुभयो, दुई भाइको लगानीमा होटल चलायौँ। केही महिनामै राम्रो अवसर आएकोले राम्रो चलेको होटललाई मेरो जिम्मा लगाएर दाइ जापान जानुभयो र त्यो होटलमा मैले मेरी उनैलाई जिम्मा लगाईदिएँ।

तर उनको नियतमै खोट रहेछ या हाम्रो खराब दिन,राम्रो चलेको होटल पनि डुब्यो। एक वर्षको अन्तरालमा त्यसले भोगेको ऋण चुक्ता गर्न मलाई बर्षौ लाग्यो। उनी अन्तै रोमान्चित भएको खबर मेरो कानमा परिरहेकै थिए।

त्यसै बिचमा उनको पहिलो लोग्नेपट्टिको बच्चा बिरामी हुँदा मैले मेरै पसिनाको कमाई आठ लाख उपचार खर्च समेत पठाएँ, मेरै अर्धांगिनीको मुटुको टुक्रा बचाउनु मेरो पनि धर्म थियो, कर्तब्य थियो। म मेरो कर्तब्यबाट कहिले भाग्न चाहिन।

होटेल डुबेपछि उनी फेरि गाउँको घर पुगिन्,उनको रवाफ र दवावको त कति कुरा गर्नु र ? तर पनि मुटुको हिस्सा बनेकी मेरी श्रीमतीलाई मैले उनलाई ओमानमैँ आउन आग्रह गरें। त्यति बेलासम्म मैले कम्पनी बदलिसकेको थिएँ र मलाई कम्पनीले फेमिली स्टाटस दिने बताएको थियो। तलब ठिकै थियो सुख दुःख खान बस्न र बाबुलाई पढाएर केही बचत गर्न सकिन्थ्यो तर उनले मेरो आग्रहलाई सिधै नकारी दिइन्।

तर उनले ओमनको सट्टा एकाएक इजरायल जाने प्रस्ताव गरिन्। मैले मेरो मुटुमा ढुङ्गा राखेर त्यो प्रस्ताव स्वीकार गरेँ, किनकी त्यो बिचमा उनले दिएको ज्यादती भनौं वा पीडाले गर्दा उनी घरमा नबसे हुन्थ्यो भन्ने मेरो चाहना थियो, उनकै यातनाले दिएको चोट बल्झेर मेरो आमाको शरीरमा कहिल्यै निको नहुने रोगले आक्रमण गरेको थियो।

पैसाको जोहो गरेँ,उनी इजरायल पुगिन् केवल उनको खुशीको लागि उनले साढे तीन वर्षको काखे बालकलाई चटक्कै छोडेर गईन् तर पनि मलाई सन्तोष मिल्यो किनकि मेरी देवी जस्ती आमालाई उनबाट छुटकारा मिल्यो। बाबुलाई हजुरआमाको काँखले उनको कमी महसुस हुने कुरै भएन।

उनी इजरायल पुगिन्। ईजरायलका केही महिनाहरु हाम्रा लागि सुखद नै रहे। त्यहाँको कमाई सम्मानजनक नै हुन्छ भन्ने सुनेको थिएँ तर त्यो कमाई मैले देख्नै पाईन। आमालाई कहिल्यै निको नहुने गरी रोग लागे पनि आमाभन्दा ठूलो भगवान को नै छ हुन्छ र त्यसैले उहाँको उपचारको लागि म र मेरो भाइहरू हरसम्भव प्रयास गरिरहेका थियौँ।

मेरा दाजुभाइहरुले आमाको उपचारको लागि मलाई साथ दिन कुनै कसर बाँकी छोडेनन्। तर मेरै श्रीमतीको मलाई सहयोग त के सम्पर्क समेत पातलिदै गयो। भएको पैसा सकिएपछि एकदिन बैङ्लोरको हस्पिटलबाट आमाको अवस्थाको बारेमा उनलाई जानकारी गराएँ।

फोनमा चर्का चर्की भयो, त्यो दिन मनको भँडास फालेँ मैले। उनले बोलेका कठोर शब्दले मलाई आगोले भन्दा बढि पोलिरहेका थिए। आमाको उपचारका लागि मैले उनीबाट कुनै आर्थिक सहयोगको अपेक्षा गरिन तर कोशिश गरिरहेँ म उनीसँगै सम्पर्कमा रही रहन चाहें,किनकी जे भए पनि मेरो पहिलो प्रेमिका उनी नै थिईन्।

त्यसपछि पनि प्रत्येक दिन फोन,भिडियो कल गर्ने कोशिस गरिरहेँ तर उनीबाट मेरो अपेक्षा विपरितका चालचलन देखिरहन पर्यो। मैले उनलाई कल गर्दा अरु नै व्यक्तिलाई कुरा गर्न दिन थालिन्, फेसबुकमा मलाई ब्लक गरिन्, मैले नयाँ फेक आईडी बनाएर कुरा गर्दा उनी मस्किन्थिन्। चार वर्षसम्म उनले मेरो मेबाइलमा फोन डायल गरेको कुनै रेकर्ड थिएन। टायरमा हावा बढि भरेपछि त्यो पड्किनैपर्ने थियो। तर मैले पड्कनै आँटेको टायरलाई थामेरै राखेँ।

उनले मलाई सकेजति पीडा र तनाव दिईरहिन्, जवानी र धनले सधै साथ दिदैन भन्दै मन थामेर म बसिरहेँ। मैले जति पीडा सायदै यो संसारमा कसैले भोगेको होला।आज बैँश ढल्किसकेको छ तर हामी तीनतिर छौँ: उनी अलग म अलग अनि हाम्रो मुटुको टुक्रा छोरो पनि अलग। अब छोरो पनि बुझ्ने भइसकेको छ। १२ बर्षसम्म आमाको माया नपाएपछि उनीप्रति उसले पनि कसरी सम्मान गरोस्।म जुन पीडालाई पिएर यो जिन्दगीसँग साक्षात्कार गरिरहेको छु म चाहन्छु त्यस्ती पापी आमाको छायाँ कसरी पर्न दिन्न। नारीको पूजा गर्ने यो नरले आज कसैलाई पापी आईमाई भनेर संबोधन गर्नुपर्दा पटक्कै खुशी छैन।

अचेल हाम्रो दोहोरो सम्पर्क हुन्न, उनले एकोहोरो फ़ोन गरेर तँलाई जिन्दगीभरि यस्तै तनाव दिन्छु भनिरहन्छिन्, मैले तिमी आफ्नो जिन्दगी बाँच म आफ्नो जिन्दगी बाँच्छु भन्दा पनि मलाई सधै मानसिक यातना दिईरहन्छिन्।

उनी जहाँ छिन्, सुखले बाँचून्, खुशीले बाँचून्। तर फेरि उनको मायाजालमा परेर कुनै म जस्तै सोझो मान्छेले पीडा नपाओस्। उनको पहिलो, दोश्रो र तेश्रो बच्चाले जस्तै चौथो बच्चाले पनि आमा भन्ने शब्दको आँशु बगाएर आलोचना गर्न नपरोस् !

( लेखकको आग्रहमा लेखक र पात्रहरुको नाम गोप्य राखिएको छ।)

तपाईंको प्रतिक्रिया/टिप्पणी