देशभर मौसम बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाण्डौ । देशको मध्य तथा पूर्वी भूभागको मौसम आज सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिमी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

अरब सागरको पूर्वीमध्य भागमा एउटा न्यूनचापीय प्रणाली विकशित भैरहेको र भारतको उत्तरप्रदेशमा अर्को न्यूनचापीय प्रणाली अवस्थित हुनुका साथै उत्तर पश्चिमी भारतमा पश्चिमी वायूको प्रभावका कारण मौसम बदली भएको मौसमविद्हरुले बताएका छन्।

मौसममा आएको बदलीसँगै देशभर चिसो बढेको छ। मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ भने मध्य तथा पूर्वी हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ।

सोमबार राति पनि देशका मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी