उप-निर्वाचन नेकपा र काङ्ग्रेसले जनता माथि गरेको विश्वासघात विरुद्धको जनमत सङ्ग्रह होः साझा पार्टी

पोखरा। साझा पार्टीले आसन्न उप-निर्वाचन सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी  काङ्ग्रेसले नेपाली जनता माथि गरेको विश्वासघात विरुद्धको जनमत सङ्ग्रह भएको बताएको छ। पोखरामा दुई दिन सम्म चलेको केन्द्रीय समिति बैठक पछि पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा सत्तासीन र प्रतिपक्षमा रहेका दुवै ठूला दलले जनताको अपेक्षामा गम्भिर तुषारापात गरेको उल्लेख छ।

यो पनि पढ्नुस:यी हुन, कास्की २ मा साझा पार्टीकी उम्मेदवार

बैठकले प्रतिनिधि सभा कास्की क्षेत्र नं २ को रिक्त सांसद पदका लागि पोखरा निवासी पार्टीकी केन्द्रीय सदस्य रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। केसीलाई पार्टीको क्षेत्रीय र जिल्ला समितिको सिफारिस अनुसार उम्मेदवार बनाउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ। 

बैठकले पार्टीलाई नयाँ उचाइमा पुर्याउन केन्द्रीय नेतृत्वले देशभरका बुद्धिजीवी, नागरिक अगुवा, उद्योगी व्यवसायी लगायत आम जन समुदायसँग अन्तरक्रिया गर्ने निर्णय पनि गरेको छ।

देशमा भ्रष्टाचार व्याप्त भएको, शिक्षा र स्वास्थ्यका क्षेत्रमा नाफाखोर व्यापार भएको, नागरिक स्वतन्त्रतालाई अङ्कुश लगाउने गरी सरकार अनुदार लोकतन्त्रतर्फ उन्मुख हुनु चिन्ताजनक भएको साझाको ठहर छ। मुलुकमा विद्यमान यी सबै समस्याको मुख्य जड राजनीतिलाई पेशा र राज्य दोहनको माध्यम बनाउने पुराना दलको राजनीतिक शैली भएको साझाको निष्कर्ष छ।

विज्ञप्तिमा राजनीतिक बेथितिप्रति आमजनताको प्रतिक्रिया र आक्रोशलाई समाधानमुखी सिर्जनात्मक शक्तिमा बदल्न साझा पार्टी मात्र भरपर्दो विकल्प भएको दाबी गर्दै उप-निर्वाचनमा साझा पार्टीलाई मतदान गर्न उपनिर्वाचन हुने क्षेत्रका मतदातामा अपिल गरिएको उल्लेख छ।

मङ्गलबार देखी पोखरामा शुरु भएको केन्द्रीय समिति बैठक बुधबार सम्पन्न भएको हो।

 

तपाईंको प्रतिक्रिया/टिप्पणी