यी हुन, कास्की २ मा साझा पार्टीकी उम्मेदवार

काठमाण्डौं। साझा पार्टीले प्रतिनिधि सभा सदस्यका लागि रिक्त रहेको कास्की क्षेत्र नं. २ मा रजनी केसीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ। दुई दिन सम्म पोखरामा चलेको केन्द्रीय समिति बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की क्षेत्र नं. २ रिक्त रहेको थियो। कास्की क्षेत्र नं. २ लगायत प्रदेश सभा सदस्य र स्थानीय तहमा समेत रिक्त रहेका स्थानमा मंसिर १४ गते उप निर्वाचन हुँदैछ।

यो पनि पढ्नुस: उप-निर्वाचन नेकपा र काङ्ग्रेसले जनता माथि गरेको विश्वासघात विरुद्धको जनमत सङ्ग्रह होः साझा पार्टी

को हुन रजनी केसी?
रजनी केसी लामो समयदेखि समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागि परेको एक जना अभियान कर्ता हुन। उनले सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायत विभिन्न सङ्घ, संस्थाहरूमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुका साथै लामो समय विभिन्न तह र तप्कामा रहेर राजनीतिक अनुभव बटुलेकी छन्। गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासकको पदबाट राजीनामा दिएर उनी साझा पार्टी निर्माणको अभियानमा संलग्न भएकी थिइन। उनले जनसङ्ख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन्। केसी पोखरा महानगरपालिकाकी स्थानीय बासिन्दा हुन।

तपाईंको प्रतिक्रिया/टिप्पणी