मंसिर ५ र ६ गते काठमाण्डौमा ऊर्जा सम्मेलन हुने

काठमाण्डौ । आउँदो मंसिर ५ र ६ गते काठमाण्डौमा ऊर्जा सम्मेलन हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल इप्पानको आयोजनामा काठमाण्डौमा हुने सम्मेलनमा नेपालमा बिजुली उत्पादन र अन्तराष्ट्रिय बजारबारे छलफल हुने आयोजकले जनाएको छ।

‘पावरिङ द एसियन सेन्चुरी’ नारासहित हुने सम्मेलनमा भारत र बंगलादेशका ऊर्जा मन्त्रीसहित अमेरिका, नर्वे, दक्षिण कोरिया, क्यानडा, बेलायत, नेदरल्याण्ड्स, भुटानलगायतका देशबाट प्रतिनिधि सहिभागी हुने स्वतन्त्र ऊर्जा उत्पादक संघ(इप्पान)ले जनाएको छ।

सम्मेलनमा भारतीय जलशक्ति मन्त्री गजेन्द्रसिंह शेखावत, बंगलादेशका शक्ति, ऊर्जा तथा प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हमिद, भारतीय पावर ग्रिड कर्पोरेशनका अध्यक्ष श्री के श्रीकान्त, पावरसेल बंगलादेशका मोहम्मद हसिन, भारतीय कम्पनी सतलजका अध्यक्ष नन्दलाल शर्मालगायत मुख्य वक्ता रहनेछन्।

सम्मेलनमा क्षेत्रीय विद्युत व्यापार, विद्युत बजार, विद्युत बजार नियमन, वित्तीय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघीयतामा ऊर्जा परियोजनाहरु सञ्चालन र व्यवस्थापन, ऊर्जामा लगानी तथा विभिन्न आयोजना प्रदर्शनी रहनेछन्।

सम्मेलनमा विशेषगरी भारत र बंगलादेशमा बिजुली निर्यातको विषयमा मुख्य छलफल हुने इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईँले जानकारी दिए। सम्मेलनमा नेपालसहित विभिन्न देशका ७ सयभन्दा धेरै सहभागी हुनेछन्।

तपाईंको प्रतिक्रिया/टिप्पणी