जनकपुरधाम विमान स्थललाई क्षेत्रीय विमानस्थलमा विस्तार गर्छौं: मन्त्री भट्टराई

जनकपुरधाम। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले मधेश–पहाडको एकता र संस्कृतिलाई सदृढ एवं भाषाको आदानप्रदानको योजना कार्यान्वयनको तयारी गरिरहेको बताएक छन्।

नेपाल पत्रकार महासङ्घ धनुषाद्वारा आज जनकपुरधाममा आयोजित छलफल कार्यक्रममा मन्त्री भट्टराईले मैथिली भाषाका महाकवि विद्यापति देशकै महाकवि भएको भावनालाई विस्तार गर्न पहाडमा विद्यापतिको सालिक निर्माणको तयारी गरिरहेको बताए।

पहाडी जिल्लाहरू इलाम, दैलेख र डडेलधुरा लगायतका क्षेत्रमा महाकवि विद्यापतिको सालिक निर्माणको योजना सकारात्मकरूपमा अघि बढिरहेको भट्टराईले जानकारी दिए। उनले सरकारले प्रदेश नं. २ मा धार्मिक एवं सांस्कृतिक पर्यटन ‘सर्किट’ निर्माण गर्ने र रामायण सर्किट विस्तारको योजनाका बारेमा छलफल गरिरहेको बताए।

पर्यटकीय प्रवद्र्धनका लागि अन्तरप्रदेश हवाई सेवा सञ्चालन तथा जनकपुरधामदेखि पशुपतिनाथ, पशुपतिनाथदेखि मुक्तिनाथ र मुक्तिनाथदेखि दामोदर कुण्डसम्म हवाई मार्ग विस्तार गर्ने गृह कार्य भइरहेको पनि उनले स्पष्ट पारे।

मन्त्री भट्टराईले सरकारले जनकपुरधाम विमान स्थललाई क्षेत्रीय विमानस्थलमा विस्तार गर्ने र दामोदर कुण्ड नजिकै सबैभन्दा अधिक उचाइमा विमानस्थल निर्माण गर्ने तथा सोबाट पर्यटकीय आकर्षणमा वृद्धि हुने अवधारणा कार्यान्वयनको पक्षमा गृहकार्य गरिरहेको दाबी गरे।

मन्त्री भट्टराईले सरकारले सातै प्रदेशमा एउटा प्रमुख पर्यटकीय गन्तव्य स्थलको निर्माण गर्ने अवधारणा राखेको भन्दै प्रदेश नं. २ मा धार्मिक र सांस्कृतिक स्थललाई जोडने सर्किट निर्माणको आवश्यकतामा जोड दिए। प्रदेश नं. २ मा धार्मिक, सांस्कृतिक पर्यटनका साथै कृषि र औद्यागिक पर्यटनको विकास संभावना प्रबल रहेको चर्चा गर्दै उनले यसका पर्यटकीय विविधतामूलक योजना कार्यान्वयन गर्नु जरूरी रहेको बताए।

उनले जनकपुरधामको जानकी मन्दिर परिसरमा रहेको विवाह मण्डपलाई अन्तर्रा्ष्ट्रियस्तरको वैवाहिक स्थलका रूपमा प्रवद्र्धनको खाँचौ औल्याए। मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० समापन वर्ष नमानी आधार वर्षका रूपमा लिई एक दशकसम्म पर्यटन पूर्वाधार विकासका कार्यतर्फ उन्मुख हुन जरूरी रहेको बताए।

तपाईंको प्रतिक्रिया/टिप्पणी