‘पठाओ’को स्कुटर पछाडि बसेका नेता

- सनिस खड्गी

          – लेखक

मेरो नाउँ सनिस खड्गी हो। म एउटा सञ्चार गृहमा फोटो र भिडियोग्राफी सम्बन्धी काम गर्छु। म कहिलेकाहीं गीतका शब्दहरू लेख्छु तर अहिलेसम्म मैले कुनै ब्लग या आलेखहरू लेखेको छैन। मलाई राजनीति भनेको के हो? भन्ने प्रश्नको जवाफ पनि थाहा छैन न त राजनीतिमा रुचि नै छ मेरो। दिनहुँ अखबार पत्रपत्रिका, सामाजिक सञ्जाल तिर राजनीतिसँग जोडिएका समाचारहरू हेर्दा मलाई राजनीति भनेको खराब चीज हो र खराब मान्छेहरूले गर्ने पेशा हो भन्ने लाग्छ। मैले काम गर्ने कार्यालयमा सञ्चारगृह भएको कारणले पनि होला, राजनीतिक गफहरू भने खुबै हुने गर्छन तर आफ्नो रुचिको विषय नभएकाले होला ती कुराहरूमा कहिल्यै ध्यान जाँदैन।

गत बिहीबार भने मैले राजनीतिसँग जोडिएका केही कुराहरूमा नयाँ अनुभव लिने मौका पाएँ। बिहीबार साझा पार्टीको केन्द्रीय कार्यालयमा फोटो र भिडियो खिच्न जानुपर्ने मेरो कार्यतालिका रहेछ। कार्यक्रम थियो उपनिर्वाचनका लागि भक्तपुर १ (क) को उम्मेदवार घोषणा गर्ने। कार्यक्रम समयमै शुरु भयो। पार्टीका संयोजक रवीन्द्र मिश्रले बोल्न शुरु गरे मैले भिडियो खिच्न शुरु गरे। कार्यक्रमको हल पत्रकार र फोटोग्राफरहरूले भरिएको थियो। बोल्ने क्रममै मिश्रले भक्तपुर १ (क) का लागि सुरज प्रधानलाई उम्मेदवार घोषणा गरे, अनि माइक्रोफोन नवघोषित उम्मेदवार प्रधानलाई हस्तान्तरण गरे।

प्रधानले पनि बोल्ने क्रममा आफ्ना केही चुनावी प्रतिवद्दताहरू जनाए, त्यसपछि बोल्ने पालो थियो साझा पार्टीको प्रदेश नं.३ की संयोजक समिक्षा बाँस्कोटाको। बाँस्कोटाले बोल्ने क्रम सकिएपछि संयोजक मिश्र र पत्रकारबीच प्रश्नोत्तरको सेसन शुरु भयो। हलमा यी सबै राजनीतिक प्रक्रिया चलिरहँदा मलाई कुनैपनि कुराले आकर्षण गरेन तर त्यो हलको स्टेज (अगाडिको भाग) ले भने मलाई आकर्षित गर्यो। कारण थियो, स्टेजमा राखिएको ३ वटा कुर्सी र ती ३ वटा कुर्सीमा पार्टीका संयोजक मिश्र, उम्मेदवार प्रधान र प्रदेश ३ की संयोजक बाँस्कोटा मात्र बसेका थिए। थुप्रै कार्यक्रममा अटाई नअटाई स्टेजमै कोच्चिएर बसेका नेताहरू देखेको मेरा लागि यो बिल्कुल नयाँ दृष्य थियो किनकी साझा पार्टीका अन्य थुप्रै केन्द्रीय नेताहरू हलको पछाडिपट्टिको लहरमा बसेका थिए।

कार्यक्रम सकियो, बाहिर निस्किएर सबैजना कोही गफगाफमा कोही चियापानमा व्यस्त हुन थाले। म भने पार्टी कार्यालयको गेट बाहिरपट्टी पार्किंङ गरेर राखेको आफ्नो स्कुटरमा क्यामेरा राख्न जाँदै थिएँ, गेटमै एकजना नेता उभिएका थिए, अनुहार परिचित जस्तो लाग्ने तर नाम भने ठ्याक्कै सम्झिन सकिन। यति याद गरेँ, यीनी स्थानीय तह निर्वाचनका बेला काठमाण्डौं महानगरपालिको मेयर पदका लागि उम्मेदवार थिए। मैले उनलाई बोलाएर नाम सोधौं की भन्ने पनि सोचे तर थुप्रै नेताहरू नजिकबाट देखे पनि अहिले सम्म कसैसँग नबोलेको मेरा लागि उनीसँग उनकै नाम सोध्नु फलामको च्यूरा चपाउनु सरह थियो। अहँ! अनेक प्रयास गर्दा पनि मैले उनलाई नाम सोध्ने या बोलाउने आँट गर्नै सकिन।

उनको छेउमा एउटा स्कुटर आईपुग्यो र स्कुटर चालकले सोध्यो, सरले हो पठाओ अर्डर गर्नु भएको? अब भने मलाई उनीप्रति झन आकर्षण बढ्यो, उनी स्कुटर चढ्दै थिए, म हत्त न पत्त हातको क्यामेरा उठाएर फोटो खिच्न थाले, उनीभने पार्टी कार्यालयमा रहेका आफ्ना साथीहरुका लागि छुट्टीने बेलाको अभिवादन स्वरुप हात हल्लाई रहेका थिए।

मलाई उनको त्यो पठाओ यात्राले गहिरो गरि छोएको थियो किनकी राजनीतिबारे खासै सकारात्मक नबुझेको मेरा लागि नेताहरू आसेपासेका बीचमा मात्रै हिड्छन्, महंगा गाडी चढ्छन भन्ने भ्रम थियो, यो पठाओको स्कुटरले मेरो त्यो भ्रमलाई भित्रैबाट हल्लाई दिएको थियो। हतार हतार अफिसमा पुगेर साझा पार्टीको तर्फबाट काठमाण्डौं महानगरपालिकाको उम्मेदवार भनेर सर्च गरे। स्क्रिनमा अघि पठाओ चढेको त्यहि मान्छेको तस्बिर आयो र नाम लेखिएको थियो- किशोर थापा।

ईन्टरनेटमा किशोर थापाबारे थप विवरणहरु खोज्न थालें, उनी नेपाल सरकारका पूर्वसचिव समेत रहेछन। वागमती सफाई अभियानका अभियन्ता अनि आर्किटेक्ट–इन्जिनियर पनि। मेरो टोल छिमेकमा खरिदार र नायव सुब्बामा रिटायर्ड भएकाहरुका घर र गाडी देखेको मेरा लागि नेपाल सरकारको पूर्व सचिवको पठाओ यात्रा आश्चार्यजनक थियो नै। सँगसँगै नेपालका सबै पार्टी र सबै नेता उस्तै हुन भन्ने भ्रम पालेर हिडेको म जस्ताका लागि यो परिघटना पश्चाताप र पाठ पनि भईदियो। पश्चाताप यस अर्थमा भएको छ की उनी काठमाण्डौ महानगरमा मेयरको उम्मेदवार हुँदा मैले उनलाई मतदान गरिन, म यतिबेला मेरो काठमाण्डौंका मेयर र मेरो अस्तव्यस्त काठमाण्डौं सम्झेर खिन्न मन बनाएर बसेको छु, अनि नयाँ पाठ पनि सिकेको छु, राजनीति फोहोर हुँदैन रहेछ, राजनीति त पात्रहरुले पो फोहोर बनाईदिदा रहेछन।

यो घटनापछि म ईन्टरनेटमा साझा पार्टीका नीति र यस्का नेताहरुबारे खुबै अध्ययन गर्न थालेको छु र महशुस हुन थालेको छ अब्बल क्षमता, सफा नियत र सरल नेतृत्व त साझा पार्टीमा पो रहेछ, यती बुझेपछि म अबका कुनैपनि निर्वाचनमा मतदानपछि पश्चाताप नगर्ने निर्णयमा पुगेको छु। अब म पार्टी, उम्मेदवार, अब्बल क्षमता, ईमान जस्ता आधारभुत कुराहरु हेरी निष्कर्षमा पुगेर मात्र मतदान गर्नेछु।

मैले पठाओमा देखेका किशोर थापा सर, तपाईको वागमती सफाई अभियान मात्रै होईन, देशको मूल नीतिको मुहान सफा गर्ने राजनीतिक यात्रापनि अब्बल बनोस, तपाईलाई भोट नदिएर पश्चातापमा बसिरहेको एउटा नागरिकको शुभकामना।

तपाईंको प्रतिक्रिया/टिप्पणी