महराविरुद्धको थुनछेक बहस सकिएन, सोमबार पनि हुने

काठमाडौँ । यौन दुर्व्यवहारको अभियोगमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महरामाथिको थुनछेक बहस सरेको छ। आज सुरु भएको बहस नसकिएपछि सोमबार (भोलि) हुने भएको छ।

काठमाडौँ जिल्ला अदालतमा सरकारी वकीलका तर्फबाट बहस सकिएको छ भने महराको पक्षमा लवप्रसाद मैनालीले मात्र बहस गरेका छन्। महराको पक्षमा बहस गर्ने वकीलहरुको संख्या धेरै भएको र समयाभावका कारण थुनछेकबहसलाई सोमबारपनि निरन्तरता दिइने भएको हो।

जिल्ला अदालत काठमाडौँ स्रोतबाट प्राप्त जानकारी अनुसार महराको पक्षमा बहस गर्न पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठको नेतृत्वमा करिब २० जना अधिवक्ताहरुले रुची देखाएका हुन्। नेपाल सरकारको तर्फबाट भने आज ४ जनाले बहस गरेका छन्।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सह न्यायाधिवक्ता चन्द्रकान्त खनालका अनुसार नेपाल सरकारको तर्फबाट सह न्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ताद्वय उमाकान्त पौडेल र हरिप्रसाद रेग्मी तथा सहायक जिल्ला न्यायाधिवक्ता सिर्जना ढकालले बहस गरेका हुन्।

तपाईंको प्रतिक्रिया/टिप्पणी