आज हरिबोधिनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ।आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आजै ब्युँझनुहुने मान्यताअनुसार कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन्। विष्णु क्षीरसागरमा सुत्नुभएकाले यी चार महिनामा विवाह ब्रतवन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ। यस समयमा खोला, नदी नालामा बाढीपहिरो आउने र सर्प जस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ।

हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ। तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ।

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ। ठूलो एकादशी पनि भनिने आजको दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायण स्थानमा विशेष मेला लाग्दछ।

यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी