आलमको थुनछेक बहस सकिएन, आइतबार पनि हुने

काठमाडौं । हत्या अभियोगमा पक्राउ परेका निलम्बित कांग्रेस सांसद मोहमद अफताब आलमको थुनछेक बहस आइतबार पनि हुने भएको छ। जिल्ला अदालत रौतहटमा शुक्रबार भएको थुनछेक बहस नसकिए पछि आइतबार पनि बहस हुने भएको हो।

रौतहटका जिल्ला न्यायाधीश दिपक ढकालको इजलासमा आलमलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष (मुद्दाको सुनुवाई प्रकृया) अघि बढाउने कि थुनाबाहिर राखेर भन्नेबारे बहस जारी छ।शुक्रबार सरकारी वकिलको बहस सकिएपछि जाहेरवालाहरूका वकिलले सुरू गरेका थिए।

जाहेरवालाको तर्फबाट शुक्रबार बरिष्ठ अधिवक्ता यूवराज संग्रौला, दिनेश त्रिपाठी, कुमार शर्मा, अधिवक्ता गोविन्द् बन्दी, आशिकराम कार्की, पुष्पराज पौडेल, ओमप्रकाश अर्याल र मनिषकुमार श्रेष्ठले बहस गरेका थिए। आइतबार आलमका वकिलहरूले बहस गर्ने छन्।

आलमका तर्फबाट भने वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोपालकृष्ण घिमिरे, प्रेम बहादुर खड्का, अधिवक्ता सुनिल पोखरेल र आफूले बहस गर्ने अधिवक्ता योगेन्द्र बहादुर अधिकारीले बताए।

बहस सकिएपछि आलमलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष अघि बढाउने कि थुनाबाहिर राख्ने अदालतले निर्णय गर्नेछ। बम विस्फोटमा परेर घाइते भएकाहरूलाई प्रमाण समेत नष्ट हुने गरी जिउँदै इँट्टाभट्टामा हालेर जलाएको अभियोग लगाएर सरकारी वकिल कार्यालयले आलमविरूद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको थियो।

तपाईंको प्रतिक्रिया/टिप्पणी