नवलपरासीको लुम्बिनी चिनी मिल बिरुद्ध किसान आन्दोलित

नवलपरासी । पश्चिम नवलपरासीमा रहेको सबैभन्दा ठूलो चिनिमिल लुम्बिनी मिलविरुद्ध उखु किसानहरूले आन्दोलन सुरु गरेका छन्। चिनीमिलले गत वर्षको उखुको रकम भुक्तानी गर्दा सरकारले तोकेको मूल्यभन्दा कम मूल्य भुक्तानी गरेपछि किसानहरू आन्दोलित भएका छन्। गत वर्ष केही समय उखु क्रसिङ गरी सूचना टाँस गरेर मिल बन्द गरेको थियो ।

बन्द रहेको चिनी मिल तत्काल सञ्चालन गर्न र सरकारले तोकेकै मूल्य निर्धारण गर्न किसानले माग गरेका छन्। गत वर्ष सरकारले प्रतिक्विन्टल उखुको मूल्य ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको थियो। जसमा चिनी मिलले ४७१ रुपैयाँ मिलले किसानलाई भुक्तानी गर्नुपर्छ भने बाँकी ६५ रुपैयाँ २८ पैसा सरकारले किसानलाई अनुदानस्वरूप उपलब्ध गराउनेछ। लुम्बिनीले भने किसानहरूलाई सरकारले तोकेको दर रेटमा प्रतिक्विन्टल ८६ रुपैयाँ कम गर्दै ३८५ रुपैयाँ मात्र भुक्तानी गरेको किसानहरूले बताएका छन्। राज्यले तोकेको रेटमा पनि कम गरेर भुक्तानी दिन सुरु गरेपछि किसानहरु बाध्य आन्दोलित हुनुपरेको सुनवलका उखु किसानले गुनासो गरेका छन्।

मिलले आफूले दिएको रकम नलिए भुक्तानी नगर्ने भन्दै किसानहरुलाई धम्क्याउने गरेका छन्। मिल व्‍यवस्थापन पक्षले मिल सञ्‍चालन नगर्ने बताएपछि किसानहरुलाई यस वर्ष क्रसिङ गर्न तयारी रहेको उखु कहाँ बिक्री गर्ने भन्ने पिरलोमा परेको रामग्राम–१७ का किसान अर्जुन चौधरीले बताए। ‘गत वर्षकै दुई हजार २०० क्विन्टल उखुको भुक्तानी पाएको छैन, यो वर्ष पनि मिल नचल्ने भएपछि अब उखु कहाँ व्यवस्थापन गर्ने, निकै मर्कामा परेका छौँ’ उनले भने। किसानले विगत एक वर्षदेखिको उखुको रकम भुक्तानी र मिल सञ्चालनको वातावरण बनाइदिन सम्बन्धित निकायसँग माग गरेका छन्। किसानको समस्याका बारेमा कसैले ध्यान नदिए बाध्य भएर आन्दोलनमा जाने परासीका किसान रामभवन यादवले बताए।
प्रजिअ भन्छन समाधानको पहल जारी छ :
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले किसानका समस्या समाधान गर्न पहल भइरहेको बताएका छन्। मरासिनिले सम्बन्धीत क्षेत्रमा पहल गरिरहेको र कृषि मन्त्रालय, उद्योग मन्त्रालयबाटै पहल गर्नुपर्ने कुरा भएकोले त्यसको लागि पनि मन्त्रालयसँग समन्वय भइरहेको बताएका छन्।

तपाईंको प्रतिक्रिया/टिप्पणी