फेसबुक र ट्विटर चलाउन सांसदलाई तालिम

काठमाडौं । प्रदेश १ का सांसदहरुलाई फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जाल प्रयोग गर्न तालिम दिइएको छ। संसद् सहयोग परियोजनाको सहयोग तथा इनोभेटिभ भिजनद्वारा विराटनगरमा १८ जना प्रदेशसभा सांसदहरुलाई तालिम दिइएको हो।

सञ्चारको प्रयोग र सञ्चारसँग जोडिएका सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनु पर्ने सजगता बारे तालिममा जानकारी दिइएको छ। प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले सञ्चार र सामाजिक सञ्जाल व्यक्तित्व विकासको सशक्त माध्यम भएकाले यसको प्रयोग होसियारी पूर्वक गर्नुपर्ने बताए। उनले समाजलाई अग्रगति दिन सबैले सकारात्मक सोच बनाउनुपर्ने बताउँदै पत्रकारिता पनि आग्रह वा पूर्वाग्रहबाट चल्नु नहुने बताए।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेल, संसदीय पत्रकार मञ्चका अध्यक्ष गणेश लम्साल, इनोभेटिभ भिजनका अध्यक्ष कृष्णप्रसाद सिग्देल र संसदीय पत्रकार मञ्चका उपाध्यक्ष बाबुराम भण्डारीले सञ्चारको गलत उपयोग भएमा मानिसको व्यक्तित्व नै धरापमा पर्न जाने भएकाले यस तर्फ सचेत हुनुपर्नेमा जोड दिएका थिए।

तपाईंको प्रतिक्रिया/टिप्पणी