ओली र प्रचण्डबीच छलफल, मंगलबार सचिवालय बैठक बस्ने

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी एकताका विषयमा परामर्श गरेका छन्। आइतवार दिउसो १ बजेतिर प्रचण्ड बालुवाटार पुगेर पार्टी एकताका विषय र अन्य समसामयिक विषयमा छलफल गरेका हुन्।

पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रममा बारेमा दुई अध्यक्षबीच पटक पटक भेटघाट हुने भएपनि पछिल्लो छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्रधानमन्त्री ओलीले शुक्रवार आफ्नो सचिवालय र सल्लाहकार टीमका सबै सदस्यलाई राजीनामा दिन निर्देशन दिएका थिए।

त्यससँगै मन्त्रिपरिषद् हेरफेर हुने चर्चा पनि चलेको छ। मन्त्रिपरिषद् हेरफेर गर्ने विषयमा दुई अध्यक्षबीच यसअघि पनि पटक पटक छलफल हुने गरेको थियो। पार्टीको केन्द्रीय कमिटी एक भएको तीन महिनाभित्र एकताका बाँकी सबै काम पूरा गर्ने प्रतिबद्धता नेताहरूले गरे पनि १७ महिनासम्म एकता प्रक्रिया टुंगो लागेको छैन।

मंगलबारको सचिवालय बैठकले पार्टी एकताको बाँकी काम टुङ्ग्याउने स्रोतले बताएका छ।अध्यक्ष प्रचण्ड सोमबार चितवन जाने कार्यक्रम छ। उनी चितवनबाट फर्किएलगत्तै नेकपाको सचिवालय बैठक बस्न लागेको हो।

तपाईंको प्रतिक्रिया/टिप्पणी