खबरदार ! बरु भोकै मर्छौँ, नेपालको एक मुठी माटो पनि चोर्न दिदैनौ

-संजिव कार्की

चिहानमा लास जलोस् देश जल्न दिन्न!

अकालमै ज्यान ढलोस् देश ढल्न दिन्न!!

गीतकार डा. हरिप्रसाद सिलवालका यी भावझैँ प्रत्येक नेपालीमा देश ढल्न नदिने तर आफू ढल्दा फरक नपर्ने अगाध देशप्रेमको भाव झङ्कृत भएको छ। हाम्रो सिमा मिचिँदा, आफ्नै भूमि अर्काको नक्सा र नियन्त्रणमा रहँदा कुन नेपालीको रगत उम्लदैनौ र? मौसममा चिसो पस्दै गरे पनि राजनीतिमा बिस्तारै गरम र राष्ट्रिय भावमा एकाएक हाई फिवर देखिएको छ। आफ्नो मुटु चोइटिएको र शिरमा बज्र परेको अनुभूति हर नेपालीमा भएको छ।

देशको भूभाग भारतीय आधिकारिक नक्सामा समेटिँदा नेपाली छाती चरक्क चर्किएको छ रगत उम्लिएको छ। त्यसैले गोर्खे गर्जन निस्कन्छ हाम्रो भूमिको एक मुठी माटो पनि चोर्न दिदैनौ।

मुसोलिनी भन्थे रे ‘साना र निर्बल राष्ट्रहरूलाई यो संसारमा रहने कुनै अधिकार छैन। ’ सानो भौगोलिक सिमा र करिब करिब तीन करोड मात्रै जनसङ्ख्या बोकेर विश्व मानचित्रमा आफ्नो उपस्थिति र अस्तित्व देखाउनु हाम्रो लागि पक्कै निर्बल हुनुको प्रमाण होइन होला। बलशाली देशले निर्बल र सानो राष्ट्रलाई जे सुकै गर्ने छुट आधुनिक कानुन र सभ्यताले ठिक मान्दैन। विशाल दुई ठूला छिमेकी राष्ट्र भारत र चीनको बीचमा आफ्नो अस्तित्व जोगाउन नेपाललाई मुसोलिनीले भने झैँ भएको भान बारम्बार भएको छ, सानो हुनु निर्बल हुनु हाम्रो कमजोरी यसर्थ पनि होइन कि संसारमा नेपाल भन्दा साना, भौगोलिक सिमा भएका अरु थुप्रै राष्ट्र छन्। राष्ट्र र राष्ट्रियता स्वाभिमान र सम्मान सानो ठूलो भूगोल र सीमाको आधारमा मापन गरिन्न। राष्ट्र सानो, ठूलो छ, हुनसक्छ तर सार्वभौमसत्ता सानोठूलो हुदैन स्वाभिमानको उचाइ कम, बेसी हुदैन।

सानो भूमि भएकै कारण छिमेकीबाट हेपिनु, चेपिनु र छोपिनु पर्ने नियति कुनै पनि सार्वभौम मुलुकका लागि सह्य विषय होइन र छैन पनि। हामी सुगौली सन्धि १८१६ देखि जुन सीमामा रहन बाध्य छौ अब त्यो भन्दा वर आएर बाँकी भूगोल मिचाउने कुनै रहर र सोख छैन तर पनि बेला बेला हाम्रा सीमाहरू रातारात मिचिन्छन् जङ्गे पिलरहरू उखालेर गायब पारिन्छन् र नेपाली सिमा खुम्च्याउन छिमेकी साँघुरो छाती लिएर प्रस्तुत हुन्छ।

यतिबेला पनि भारतले हाम्रो भूमि आफ्नो नक्सामा राखेर हामीमाथि विस्तारवादी चरित्र प्रदर्शन गरेको छ। विगत देखि नै भारतले हाम्रो भूमि र हाम्रो अस्मिता माथि बारम्बार गिद्दे नजर लगाएर दाह्रा, नंग्रा धसेको नमिठो अनुभव र अनुभूति छ। विशाल छिमेकी राष्ट्र भारतसँग हाम्रो २६ जिल्लामा साँध सिमा जोडिएको छ जस मध्ये तीन जिल्लाहरु धनुषा, बैतडी र डडेल्धुरा बाहेक अन्यत्र धेरथोर सिमा विवाद छ, भारतले सिमा मिचेको कुरा सिमाबिदहरु र अरु अन्वेषकहरु अनि सीमामा बसेर भारतीय ज्यादतिको शिकार बन्ने सिमारक्षक नेपालीहरु बताउछन्।

सिमा कहाँ कति मिचियो, कहिलेदेखी मिचिन पुग्यो त्यो मेरो आलेखको खोज होइन तर किन संधै हाम्रो सिमा मिचिन्छन्। हाम्रा कमजोरी, बाध्यता र भारतको हामीलाई हेर्ने नजर बारे सानो र भावनात्मक समीक्षा हो। भारतले हामीलाई मित्रको रुपमा भन्दा ठूलोदाइको हैकमी सान देखाउछ भन्ने अनुभूति धेरै नेपाली समकक्षी नेताहरुले बेलाबखत बोलेको लेखेको तीतो सत्य हो।

आजको एक्काईसौं शताब्दीमा पनि हामीलाई हेर्ने नजर र गर्ने ब्यबहारमा भारतले बदलाव ल्याएको छैन जसको ताजा उदाहरण हो भूकम्प, बाढी पहिरो लगायत दैवी र प्राकृतिक प्रकोपले थिलथिलो भएको बेला पनि नाकाबन्दीको घोर अमानवीय उपहार दियो भारतले । सबैभन्दा नजिकको छिमेकी दुखमा सबै भन्दा पहिले हार गुहार माग्नुपर्ने छिमेकी एन मौकामा हामीमाथि निर्लज्ज हमला गर्न तयार हुन्छ र भर अभरमा पारेर दुख दिईरहन्छ।

मुटुमा किला ठोकेपछि नदुख्ने र नरुने कुन आत्मा होला र हामीलाई पनि छिमेकीले गर्ने दुर्व्यवहार सम्झदा मुसोलीनिले भनेको सम्झना हुन्छ। कम्जोर र निर्वलहरुलाई यो संसारमा रहने हक छैन अनि मोदीको अनुहारमा मुसोलिनीको प्रतिबिम्ब झल्किन्छ। सिमाविदहरु भन्छन अहिले नयाँ चोट लागेको हैन पुरानै घाउ बल्झेको हो। घाउ हाम्रा तर्फबाट बल्झाइएको होइन भारतीयहरुले फेरि नूनचूक छरिदिएका हुन्। घाउ बल्झाएका हुन्।

नेपाल भारत लामो खुला सिमा हुनुको बेफाइदा भारतलाई पनि पक्कै नभएको छैन होला यदाकदा उसलाई पनि अप्ठ्यारो परेको होला तर अप्ठ्यारो सुल्झाउने कुटनीतिक मर्यादा, कौशलता र सम भावले हो अनादर, अत्याचार र दुराग्रह राखेर बलमिच्याई गरेर होइन। भारत जस्तो विश्व कै ठूलो प्रजातान्त्रिक मुलुकले कसैलाई पनि त्यस्तो गर्न सुहाउदैन झन नेपाल जस्तो भौगोलिक आर्थिक, सामाजिक र सांसकृतिक सम्बन्धको अभेद्य जालोमा सन्निकट छिमेकीलाई नराम्रो गर्न, हेला होचो गर्न सुहाउदैन मिल्दैन। तर पनि किन संकुचित छाती लिएर नेपालीको मन दुखाउन उद्यत हुन्छ भारत। कतै हाम्रा कमजोरीमा उसले खेल्ने मौका पाएको त छैन?

उसको क्रिडास्थल बनाएर उसले गर्ने हर हस्तक्षेप हाम्रा कारणले निम्तिएको त होइन छातीमा हात राखेर नेपाली राजनीतिक पार्टीहरु र नेताले सोच्न जरुरि छ। छिमेकी हो उसको सर सहयोग, लेनादेना हाम्रो लागि चल्छ चल्नुपर्छ तर सहयोग लिने नाउमा हामीले जे पनि जो सँग पनि हात थापेर हामीलाई मगन्ते बनाएको कारण हाम्रो स्वाभिमान कतै कम्जोर भयो कि? सत्तामा बस्दा र सत्ता बाहिर बस्दा भारतलाई हेर्ने दृष्टिकोणमा हामीले अन्तर राख्यौ कि? भाइ भाइको अंश लेनदेन , थोरै मन मुटाव र असहमतिमा पनि भारतको निर्देशन, अग्रसरता र हस्तक्षेप हाम्रा लागि स्वीकार्य किन बन्यो? पंचायत जोगाउन आफूलाई भारतको सहयोग चाहिने हुनाले भारत नचिढ्याउन राजा महेन्द्रले कालापानीमा भारतीय सेनाको बसाइलाई आँखा चिम्लेको तथ्य पनि इतिहासकारहरुले सार्वजनिक गरेका छन्।

सहयोगमा एउटा स्कुल भवन, गाउँमा एउटा एम्बुलेन्स उदघाटन गराउन हाम्रा प्रधानमन्त्री, मन्त्रीहरु राजदूतको पछि लागेर देश दौडाहमा निस्कदा कति उचित कति अनुचित पदीय मर्यादाक्रमको हेक्का राखियो राखिएन? केहि थान छात्रवृत्तिको लागि हाम्रा नेताहरुको लोभ र मोहले हाम्रो बास्तविक हैसियत कँहा बाट कँहा पुग्यो यतातिर पनि ध्यान जानु आवश्यक होला।

सांसद, मन्त्री, प्रधानमन्त्री बन्न लैनचौरमुकाम बनाउने र राजनीतिमा  आशिर्वाद लिन आज पनि काँसी र गया ठान्दै दिल्लीमा पुग्ने चलनले हाम्रो स्थान निर्धारण गर्दैन र? कुटनीति र राजनीतिमा देखाउनु पर्ने परिपक्वता कौशलता र बुद्दिमताको अभावमा आज पनि ठाडो शिर गरेर हामीलाई परेको मर्का भन्न सक्ने स्थिति नेताहरुमा छ कि छैन? हाम्रो पररास्ट्र मन्त्रालय मार्फत जारी गरिएको लगभग बेबारिसे टाइपको वक्तव्यले पनि हाम्रो पोजिसन अझै दयनीय देखाउछ। भारतलाई हेर्ने दृष्टिकोणमा आइरहने परिवर्तन, फेरिरहने बोली, सत्तामा पुग्ने आशा र सत्ताबाट निकालिने भयको मनोविज्ञान रहुन्जेल हामी खुलस्त आफ्ना कुरा राख्न सक्दैनौ।

हामीलाई कालापानी दुखेको, सुस्ताले पिरोलेको तिलाठीले चहराएको आज मात्रै होइन वर्षौं पुरानो घाउ हो जुन बल्झिरह्न्छ, सत्ताको फेरबदल संगै अल्झिरहन्छ कोफी अन्नान संयुक्त राष्ट्र संघको महासचिव हुँदा कालापानीमा भारतले गरेको ज्यादती बारे गुहार्ने तत्कालिन नौ बाम समुहका नेता मध्ये अमिक शेरचन आज पनि नेकपाको नेता र प्रदेश प्रमुख छन त्यतिबेला संयुक्त रास्ट्रसंघले सरकार मार्फत कुरा लिएर आउ समस्या सामाधान हामी गरिदिन्छौ भनेको कुरा आज सत्तासिन हुदा सम्झीए कति जाति हुन्थ्यो। १९५० को नेपाल भारत सन्धि त्यसमा रहेका कतिपय असमान  प्रावधान हटाउन आज सरकारलाई रोक्ने छेक्ने कोही  छैन।

सत्तामा नरहँदा आकर्षक लाग्ने र धेरै चलेको नारा १९५० को सन्धि खारेजी आज सत्ता आफ्नै हातमा हुँदा बामपन्थीहरुको प्रिय रोजाइमा नपर्नु पर्ने दृश्य अदृश्य कारण के होला रु हो हामी जसले जति भने पनि सुरुंग युद्दको धमास दिएर खाल्डो खनाए पनि, विस्तारवादीलाई खुकुरीमा रगत नै नलाई च्वाटट छिनाउने भनेर कालापानीमा परेड खेले पनि हामी भौतिकरुपमा लडन सक्तैनौ, लड्छौ भन्नु भावनात्मक कुरा र राजनितिमा देश भक्त देखिन चलाउने राजनीतिको व्यापार र नारा हो।

सिधै भन्नुपर्छ कुस्ती खेलेर जितिन्न तर कुस्ती भौतिक हैन बौद्दिक र कुटनीतिक खेल्नु जरुरी हुन्छ, अपरिहार्य छ। परिपक्व, शसक्त, तार्किक धारिलो अनि तेजिलो बौद्दिक हतियारले कूटनीतिक लडाई लड्नुपर्छ। आल्कंचो, अल्लारे र छुद्र आवेगले कुटनीति चल्दैन। न निम्छरो भएर चल्छ कुटनीति न छुद्र भएर नै? कुटनीतिमा भद्रताले यथार्थलाई मुखरित गर्ने सामर्थ्यको खोज गर्छ।

राष्ट्रियता मुटुमा हुनुपर्छ ओठमा झिल्के राष्ट्रवाद बोकेर भित्र भित्र लम्पसार पर्ने प्रवृति घातक र प्रत्युत्पादक सिद्द भएको तथ्य हेर्न टाढा जानु पर्दैन। छिमेकीप्रति हामी कहिल्यै असहिष्णु र बदला लिने मनशाय राख्दैनौ, दिल्लीमा आतंकारी हमला हुँदा होस् या मुम्बई आक्रमण, पाकिस्तान संगको तनाव होस् या कश्मिर दुखोस हामीले कहिल्यै ठिक्क पर्यो भनेका छैनौ, हामी तपाईहरुको सुरक्षा संवेदनशीलता पनि बुझ्छौ हाम्रो राष्ट्रिय अस्मितामा आँखा नलगाउनु होला भनेर कुटनीतिको टेवलमा बसेर सम्झाउनु पर्छ।

हस्तक्षेप र सिमा मिचेको बारे देशले एक ढिक्का भएर आफ्नो बिरोध र असहमति सडकमा प्रदर्शन गर्नुपर्छ ताकि हस्तक्षेप विरुद्द नेपालीहरु एक छन भन्ने संदेश प्रवाहित होस्।  दवाब सिर्जना गरोस् पार्टीहरु छिन्नभिन्न भएर कसैलाई रास्ट्रवाद देखाउन सडकमा निस्कनु परेको छ, कसैलाई यसो बोलेर औपचारिकता दिनु मात्रै छ, बिरोध गर्दा भारत रिसाउने पो हो कि भन्ने हीनताबोधले ग्रस्त छन् कतिपय पार्टी र नेताहरु।  आ आफ्नै डम्फु ठोकेर आन्तरिक प्रतिस्पर्धा गर्नुपर्ने  टिठ लाग्दो बाध्यता छ। देश दुख्दा तमाम आफ्ना आन्तरिक असहमति र राजनीति छोडेर सबै एकै मुख एकै मंचबाट प्रतिरोध गर्नु पर्ने होइन र? देशको ध्यान खिचिएको कुरा देशको स्वतन्त्रता र सार्वभौमसत्तालाई दख्खल  पुग्ने कुरामा सरकारको अग्रसरतामा सर्वदलीय बैठक हुनुपर्ने हो देस बिरुद्द देखिने हुने गतिबिधि विरुद्द एक स्वरले प्रतिरोध गर्न सरकारको पहलकदमी देख्न सकिएको छैन अझ ढिलो भयो भने हामी आफ्ना कारणले पनि हेपिएका छौ भन्ने पुष्टी हुन्छ ।

यतिबेला आ आफ्नो पार्टीको झण्डा बोकेर निस्कनु भन्दा सबै देशको झण्डा बोकेर राष्ट्रियताको पक्षमा हातेमालो गर्नुमा उर्जा र तागत देखिन्छ। म त भन्छु राष्ट्रियताको सवालमा पुर्व राजा ज्ञानेन्द्रलाई पनि सँगै हिडाउदा कूटनीतिमा बार्गेनिङ पावर बढ्छ।

भारतलाई सचेततापूर्वक सालिन प्रतिरोध देखाउनु कुटनीतिक पहलामनिको लागि सहयोगी हुन्छ। मोई माग्ने ढुङ्ग्रो लुकाउने किन गर्नु कुटनीतिको टेवलमा आज सम्म जहाँ जहाँ समस्या छ त्यो सबै निसंकोच बताउनु पर्छ, हराएका जङ्गे पिलर, मिचिएका सीमालाई पुन ब्यबस्थित गर्न लाग्नुपर्छ। सन्धि सम्झौता खारेज गर्न, पुनरावलोकन गर्न सबै तयारी गर्नु र त्यसको लागि लविंग गर्न देशका अनुभवी कुटनीतिक व्यक्तित्वहरु, प्रतिभाशाली कुटनीतिक शिक्षार्थी , सीमाका अध्येता, राजनीतिक व्यक्तित्वहरु सबैलाई म्यान्डेट दिएर देशको पक्षमा प्रयोग गर्नुपर्छ। सिमा विवादमा नेता विभाजित होलान स्वार्थबस तर जनता विभाजित छैनन् र हुदैनन्।

त्रि देशीय नाकामा भारत र चीन बीच सन२०१५मा  सम्झौता हुदाँ नेपाललाई नसोधिएको विषयमा पनि नेपालले चीन र भारतको संयुक्त उपस्थितिमा आफ्नो दावी र आफुलाई बेवास्ता गरेर सन्धि सम्झौता गर्नुको कारण सोध्नुपर्छ। कालापानी हुँदै लिपुलेक नाकाबाट प्राय सबै मौसममा तिब्बततर्फ आउजाउ गर्न सकिन्छ। कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीको लागि सबैभन्दा नजिकको बाटो, चीन र भारतको राजधानी दिल्लीलाई जोड्ने सबभन्दा छोटो दुरीको नाका पनि यही हो। सबैखाले धार्मिक, ब्यापारिक र सामरिक महत्व भएको क्षेत्र भएकोले भारत कालापानी छोडन चाहदैन भन्नेकुरा घाम जत्तिकै छर्लंग छ तर उसको चाहना जे भए पनि त्यो नेपालको भूमि हो नेपाल भारतको सिमा हो तर एकलौटी उपभोग भारत र चीन दुवैले गर्न पाउदैनन। हामीले हाम्रो कुटनीतिक कौशलता देखाउनु पर्छ। दुवै छिमेकीलाई भन्नुपर्छ नुन तेलमा हाम्रो माटो साटन सकिदैन। नेपालीलाई नेपाल भन्दा अर्को स्वर्ग छैन, डाक्टर सिलवालका गीति हरफ पुन सापटी लिदै नेपालीले गर्ने देशको माया बोले, लेखे।

दुई चार गर्धन छिन्ला तर देश रेटीदैन!

अलिनो नै खाउला बरु माटो बेचिदैन!!

हो अलिनो नै खाउला, एक छाक र आधा पेट नै खाउला तर देशको एक चिम्टी माटो पनि पराइले आफ्नो भनेको सहिन्न। चरेको सह्य र निको लाग्दैन। आगो सहन तयार नेपाली अन्याय सहन मन्जुरी गर्दैनन्।  सस्तो लोकप्रियताको लागि बोलिने जलप लागेको झिल्के र कस्मेटिकयुक्त रास्ट्रवाद भन्दा असली र ओरिजिनल राष्ट्रवाद नेपाल र नेपालीले आज संयमताका साथ उजागर गर्नुपरेको छ।

 

तपाईंको प्रतिक्रिया/टिप्पणी