घ्याम्पो जरुर भर्छ…

- हरिप्रसाद गौतम


जाऊ प्रिय तिमी विदेश जाऊ,
यहाँ नयाँ संस्कार बसाउनु छ।
कामको कुरा जेसुकै होस्,
नयाँ संस्कार सुरुवातको
जस हामीले नै लिनुछ।
म हाम्रो घरको अधिवेशन आव्हान गर्छु,
तिमी अनलाइनमा आऊ भोट खसाऊँ।

बुहारीलाई मनोनित गर,
छोरालाई तिम्रो भोटको
जनमतबाट अनुमोदित गराऊ।

म बूढो त अब थाकेँ,
नातिलाई कार्यकारी बनाऊ।
छरछिमेकमा लहसिएला माईलो,
डाडु पन्यु जिम्मा लगाऊ।
छिमेकी त सब पुरातनवादी,
आऊ चोकमा पुराण सुनाऊ।
असल र राम्रा मान्छे हामी मात्र,
जाऊ बिरोधीका टुप्पी समाऊ।

माइलोले त चतुर्याई पनि जानेको छ,
अस्ति मेरो कोट रित्तो बनाइदियो।
बिदेशको साथीलाई फकाएर
सुन्दै थिए धेरै नै कुम्ल्यायौ।
हाम्रा नेतामा हुनुपर्ने गुण सबै सिकिसक्यो,
अब यसले राम्रै चलाउँछ।
कुवाको भ्यागुतो नै भए पनि
चर्को ट्वार्र ट्वार्र गर्छ।
अरु जेसुकै भए पनि,
आफ्नो घ्याम्पो जरुर भर्छ।
जाऊ प्रिय तिमी परदेश जाऊ,
यहाँ नयाँ संस्कार बसाउनु छ।

– नवलपुर

तपाईंको प्रतिक्रिया/टिप्पणी