अनैतिक क्रियाकलापमा संलग्न २ सय ७६ जना पक्राउ

काठमाडौं । अनैतिक क्रियाकलापमा संलग्न २ सय ७६ जनालाई प्रहरीले काठमाडौं बाट पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले यौनजन्य क्रियाकलाप तथा खुल्लमखुल्ला रूपमा हुने यौन बार्गेनिङ रोक्न सुरु गरेको ‘काठमाडौं क्लिन’ अभियानअन्तर्गत १ सय २१ पुरुष र २७ जना महिलालाई नियन्त्रणमा लिएको हो।

सार्वजनिक स्थानमा सर्वसाधारण मानिसलाई हिँड्न अस्वाभाविक हुनेगरी यौन लक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसरले त्यस्ता गतिविधि रोक्न भन्दै आइतबारबाट विशेष अभियान सुरु गरेको थियो।

जसअन्तर्गत आइतबार राति १ सय २५ जना र सोमबार राति १ सय ५१ जना पक्राउ परेका हुन्। सोमबार राति पक्राउ परेकाहरू मध्ये १ सय २१ जना पुरुष, २७ जना महिला र ३ जना अन्य रहेको परिसरका प्रवक्तासमेत रहेका डीएसपी होवेन्द्र बोगटीले जानकारी दिए।

परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले मानिसलाई अपच हुने गरी सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप हुन थालेपछि त्यसलाई रोक्न प्रहरीले अभियान सुरु गरेको बताए।

तपाईंको प्रतिक्रिया/टिप्पणी