मरेको कुखुराको मासु खाँदा एक जनाको मृत्यु, ९ बिरामी

काठमाडौं । मरेको कुखुराको मासु खाँदा बैतडीको पुर्चौंडी नगरपालिका २ जरसौंमा एक जनाको मृत्यु भएको छ। एकै परिवारका ९ जना बिरामी परेका छन्। शनिबार साँझ मरेको कुखुराको मासु खाएर बिरामी परेका मध्ये १५ वर्षीया पुष्पा पार्कीको मंगलबार बिहान मृत्यु भएको हो।

कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएपछि आइतबारदेखि परिवारका १० जना बिरामी परेको स्थानीय केशव पन्तले जानकारी दिए। मासु खाएपछि बिरामी भएकामा बान्ता हुने, झाडापाखलालगायतका लक्षण देखिएका पन्तले बताए।

बिरामी हुनेमा ७० वर्षीय पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीय जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीय सपना पार्की रहेका छन्। बिरामीलाई घरमै गएर औषधि दिँदा पनि बचाउन नसकिएको महादेवस्थान स्वास्थ्यचौकीका अहेव राधिका कुँवरले जानकारी दिइन्।

बिरामीलाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले औषधि दिएपनि ठीक नभएपछि थप उपचारका लागि हाट स्वास्थ्यचौकीमा लगेको पन्तले बताए। ७० वर्षीय पार्वतीबाहेक सबैलाई उपचारका लागि हाट स्वास्थ्यचौकी लगिएको छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी