सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच भेटवार्ता, पार्टीभित्रको असमझदारी हल गर्न समिति गठन

काठमाडौं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। आज बिहान पौडलेनिवास बोहोराटारमा सभापति देउवा र पौडेलबीच भेट भएको हो।

केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेपछि पौडेललाई मनाउन देउवा बोहोराटार पुगेका थिए। भेटमा दुई नेताबीच पार्टी सहमति र सहकार्यमा सञ्चालन गर्नुपर्ने बारे छलफल भएको थियो।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले सभापति देउवासँग पार्टीभित्र भएका समस्या र समाधान गर्ने विषयमा छलफल भएको बताए।

सभापतिको कार्यकाल कति थप हुने भन्ने कुरा महाधिवेशन कार्यतालिकाले निर्धारण गर्ने भएकाले यो एजेण्डा बैठकमा प्रस्तुत हुनुपर्ने उनको धारणा थियो।

छलफलमा सहभागी उपसभापति विमलेन्द्र निधिले समायोजनको काम सकिएपछि महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने विषयमा पहिले नै सहमति भइसकेकाले यो विषयलाई अन्यथा लिन नहुने बताए।

सभापतिको कार्यतालिका बनाउन एक वर्षको समय थप गर्नुपर्ने आवश्यकता देखिएको उल्लेख गर्दै असन्तुष्टी देखिएजस्तो सभापति देउवाले महाधिवेशनको कार्यतालिका नै नबनाउने उल्लेख नगरेको उनको दावी थियो।

पार्टीभित्र देखिएको असमझदारीलाई हल गर्न पौडेल समूहबाट प्रकाशमान सिंह र देउवा समूहबाट विमलेन्द्र निधिको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ।

शुक्रबारको बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषयमा प्रस्ताव पेश नभएपछि पौडेल समूहले बैठक बहिस्कार गरेको थियो।