ट्रक र अटो ठोक्‍किँदा दुई जनाको घटनास्थलमै मृत्यु दुई जना घाईते

धनकुटा। धनकुटाको छथर जोरपाटी गाउँपालिका फलैचामा आज दिउँसो ट्रक र अटो ठोक्‍किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुई जना घाईते भएका छन्।

हिलेबाट जोरपाटीतर्फ जाँदै गरेको को २ ह ६६११ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको को १ ख ६९१२ नम्बरको ट्रक दिउँसो करिव १२ बजे ठक्कर खाएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी टेम्पु चालक धनकुटाका २५ वर्षीय दशरथ पाख्रिन र अटोमा सवार तेह्रथुम छथर गाउँपालिका का ४२ वर्षीय साङ्गे शेर्पाको घटनास्थलमै मृत्यु भएको हो।

अटोमा सवार छथर जोरपाटी गाउँपालिका का २२ वर्षीय रविन घिमिरे र तेह्रथुमको लालीगुँरास नगरपालिका का २५ वर्षीय प्रदिप बस्नेत घाइते भएका छन्।

उनीहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको छ। ट्रक चालक सङ्खुवासभा मादीमूलखर्क का ३९ वर्षीय ज्ञानबहादुर गुरुङलाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ।