गाउँ–गाउँमा उद्यममुखी शिक्षाः समृद्ध नेपालको पहिलो परीक्षा

 


“आज कक्षा ८ को मेरो विज्ञानको कक्षा तँ पढाई दे न बाबु।“
म गर्मीको छुट्टीमा गाउँ आएको बेला मेरी आमाले मलाई आग्रह गर्नुभयो। मेरी आमा दुर्गम बझाङ बाजुरामा विज्ञान शिक्षिका हुनुहुन्थ्यो। “तँ जस्तो विज्ञानमा स्नातकोत्तर गरेको युवाले केही क्लास पढायो भने मेरा विद्यार्थी उच्च शिक्षामा विज्ञान पढ्न आकर्षित हुने छन्।” आमाले थप्नु भो।

“हुन्छ आमा, मेरा गाउँघरका भाइ–बहिनीहरुलाई आफूले जानेको कुरा पढाउन म उत्सुक छु।”, मैले सहर्ष स्वीकार गरेँ!

त्यो दिनको पाठ मेरुदण्ड नभएका जीवहरूको वर्गीकरण रहेछ। भूपरिवेष्टित देशका दुर्गम गाउँका विद्यार्थीलाई समुन्द्रको पिँधमा पाइने “स्टार फिस“ र “सी–अर्चिन“ जस्ता “एकीनोडरमाटा” प्रजातिका जीवहरूका गुण–बिशेषताहरुको वर्णन गर्न निकै कठिन भयो। यसो फोटो, भिडियो देखाऊँ भने न इन्टरनेट छ न कम्प्युटर नै। कालो पाटीमा स्टार फिसको चित्र कोर्दा यो तारा जस्तै चम्किन्छ र सर ? र ती पाँच कुना यसका खुट्टा हुन् कि हातका औँला सर ? भन्ने प्रश्न गर्न थाले! केही बेर मैले धैर्यताका साथ सबै बखान गरेँ तर कसैले खासै बुझे जस्तो लागेन। बुझुन् पनि कसरी ? कहिल्यै नदेखेको, नसुनेको कुरो !

त्यो दिन मलाई महसुस भयो हाम्रो पाठ्यक्रम कति असान्दर्भिक र अमौलिक छ। त्यो पाठ्यक्रम पक्कै भारतको माध्यमिक शिक्षाका किताबहरूबाट साभार गरिएको हुनुपर्छ। कमसेकम पाठ्यक्रम विकास गर्नेले आवश्यक उपयुक्त शैक्षिक सामग्री त राख्दिनु पर्ने। नत्र त विद्यार्थीहरुलाई विज्ञान कक्षा गरुड पुराण झैँ लाग्दो हो !

कम्प्युटर शिक्षामा आर र पाइथन प्रोग्रामिंग सिकाइ रहेको बेलामा हामी आफ्ना विद्यार्थीहरूलाई चार्लस् ब्याबेजको जीवनी घोकाइरहेका छौँ। हाम्रा स्कूल, कलेजमा विज्ञान हैन विज्ञानको इतिहास पढाइन्छ।

हाम्रा पाठ्यक्रम समयानुसार परिमार्जित पनि छैनन्। जीव विज्ञानमा विश्वमा आज नवीनतम क्रिस्पर क्यासजस्ता वंशाणुगत गुण निर्धारक सम्पादन  प्रविधि (Gene Editing Tools) र आरएनए अनुक्रमण (Sequencing) को प्रयोगात्मक पठन-पाठन हुँदै गर्दा हामी गँड्यौला चिर्न र भ्यागुतो र खरायोका हड्डी गन्नै व्यस्त छौँ। कम्प्युटर शिक्षामा आर र पाइथन प्रोग्रामिंग सिकाइ रहेको बेलामा हामी आफ्ना विद्यार्थीहरूलाई चार्लस् ब्याबेजको जीवनी घोकाइरहेका छौँ। हाम्रा स्कूल, कलेजमा विज्ञान हैन विज्ञानको इतिहास पढाइन्छ।

अनि कसरी हुन्छ शिक्षा व्यावहारिक र परिमार्जित ?
यस्तै असान्दर्भिक र असीपमूलक शिक्षा हुनाले एक दशक अघि केही समूहले आफ्नो सत्ता साध्ने महत्त्वाकाङ्क्षा पूरा गर्न १ पुस्ता गाउँ–घरका युवालाई किताब फाल्न लगाई आफ्ना साम्यवादी झोला भिडाउन सफल भए होलान्, तर संरचना भत्काउन जान्नेहरूलाई सत्तामा पुगेपछि आफ्ना आफन्तहरुको भविष्य बनाउने बाहेक अरूको बारेमा चासो नै भएन। यो शिक्षा “बुर्जुवा“ भन्नेले लाखौँ युवाहरूको भविष्यसँग जुवा खेले।

त्यो कक्षा पछि मध्यान्हमा मैले आमालाई सोधेँ, “के तपाईँको श्रोत–केन्द्र या शिक्षा शाखाले शैक्षिक सामग्री दिँदैन?”

विज्ञान सामग्री किन्न भनेर आएको बजेट लेखापाल र विद्यालय व्यवस्थापन समितिको अध्यक्षले रक्सी खाई उडाए भन्थे बाबु ! रु. ५०,००० को बजेट सकी २ ओटा हाते लेन्स ल्याएका थिए। हुन त विद्यालयका लागि भनी आएका ल्यापटप प्रधान–अध्यापकका घरका निजी कम्प्युटर बनेका समाचार पनि नसुनेका हैनौँ।

म स्कूलको अफिसमा बसिरहँदा गणितका अध्यापक म कहाँ आएर भने, “ विष्णुजी तपाईँ यहाँ हुँदा मेरा कक्षा ९ का विद्यार्थीहरूलाई समूह र सम्भाव्यताका पाठहरू पढाई दिनुहोस् न। मलाई ती आउँदैन, हाम्रो पालामा यी गणितका पाठ्यक्रममा थिएनन्।” हुन्छ सर तर म १,२ हप्तामा गईहाल्छु बरु म यी नयाँ गणितीय अवधारणाहरू तपाइलाई बुझाई दिउँला ता कि भविष्यमा विद्यार्थीहरूलाई केही संशय या प्रश्न भए तपाईँ आफैँ सम्झाउन सक्नुहुन्छ भनेँ।

“हैन अब पेन्सन पाक्न २ वर्ष बाँकी रहँदा के टेन्सन लिनु ? “, सरले भने। त्यसो भए मैले कक्षा लिँदा तपाईँ आएर बस्नुहोस् भन्दा “ हैट ! कहाँ विद्यार्थीहरूसँग बस्नु, मेरो इज्जत जान्छ” पो भने।

मलाई त्यो दिन नेपालको सरकारी विद्यालयको शिक्षादेखि देशको भविष्यको चिन्ता लाग्यो। मौलिक पाठ्यक्रम छैन, दक्ष शिक्षक छैनन् अनि त्यसमाथि योग्य शिक्षकहरू माथि विभिन्न दल निकट भातृ सङ्गठनहरूको पेलान्त र राजनैतिक हस्तक्षेप।

नजान्नु पाप हैन तर सिक्नै नचाहने शिक्षकलाई के भन्नु ? मलाई त्यो दिन नेपालको सरकारी विद्यालयको शिक्षादेखि देशको भविष्यको चिन्ता लाग्यो। मौलिक पाठ्यक्रम छैन, दक्ष शिक्षक छैनन् अनि त्यसमाथि योग्य शिक्षकहरू माथि विभिन्न दल निकट भातृ सङ्गठनहरूको पेलान्त र राजनैतिक हस्तक्षेप।

शिक्षकहरु माथि विभिन्न दल निकट भ्रातृ संगठनहरुको पेलान्त र राजनैतिक हस्तक्षेप
आज शैक्षिक नीति निर्माण र तिनको कार्यसम्पादन र निरक्षण गर्ने उच्च पदहरु विभिन्न दलका कार्यकर्ता भर्ति केन्द्र भएका छन्। विद्यालयदेखि कलेज हुँदै विश्वविद्यालयमा व्याप्त राजनैतिक नियुक्ति र भ्रातृ संगठनहरु खारेज नहुँदासम्म “घुम्ने मेचमाथि अन्धा मान्छे” कै राज चलिरहने छ।

स्कूल, कलेज, विश्वविद्यालयलाई राजनीति अनि बिभिन्न दलीय संगठन मुक्त बनाईनुपर्छ। युवा पुस्ताले पढ़न छोडी उद्धमशीलता गुमाई आज परदेशिनु परेको छ। आफ्ना स्वार्थपूर्तिका लागि जाति, धर्म, प्रदेश, अनि बर्गको नाउँमा बिभिन्न गुटले फेरि आज युवालाई भड्काउने प्रयास गर्दैछन्। अब हामी युवाले स्वविवेक प्रयोग गर्नुपर्छ। सड़कमा गई बन्द–हडताल हैन, अब हामीले सुशासन र निष्पक्षताको प्रवर्धन गर्नैपर्छ। विध्वंसकारी आंदोलनमा आफ्नो ऊर्जा र समय खर्ची देशको भौतिक संरचनाको क्षति पुर्याउने काम कदापि गर्नुहुन्न।

देशमा गुणस्तरीय शिक्षा प्रणालीको विकास, उद्यमशीलता प्रवर्धन, रोजगारी सृजना गर्न व्यक्तिगत, सामूहिक प्रयासका साथै सक्षम नेतृत्वको पनि आवश्यकता पर्दछ। दिल्लीका सामुदायिक विद्यालयहरूमा वैकल्पिक राजनीति मार्फत सत्तामा पुगेको आम आदमी पार्टीको सबल शिक्षा नीतिको कारण ५ वर्षमै उल्लेखनीय सुधार भएको छ र विद्यार्थीहरू निजी विद्यालयबाट सामुदायिक विद्यालयमा आउन थालेका छन्। शिक्षा मन्त्री सहितको टोली विश्वको सर्वोत्तम गुणस्तरीय शिक्षा भएको फिनल्यान्ड गएर प्रशिक्षण लिई, त्यहाँका शिक्षाका सृजनशील पक्षहरूलाई दिल्लीका सामुदायिक विद्यालयहरूमा लागु गरेका छन्।

नेपालको माटो सुहाउँदो गुणस्तरीय शिक्षा प्रणाली लागू गर्न के–के आवश्यक छ त ? पहिलो कुरा हामीले हाम्रा उच्च शिक्षा संयन्त्र किन उद्यमशीलता हुन सकेन भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्छ, दोस्रो शिक्षा प्रणालीलाई गुणस्तरीय र उद्यमशीलता बनाउन पूर्वाधार, सञ्जाल र संरचना निर्माणमा युवा पुस्ताले जुट्नुपर्छ।

हाम्रा उच्च शिक्षा संयन्त्र किन उद्यमशीलता हुन सकेनन् ?
मैले बझाङ, बाजुरा, डोटी, अछाम, कैलाली, कंचनपुर, काठमाडौँ, भारत हुँदै अमेरिकासम्म प्राथमिक तहदेखि स्नातकोत्तर र विद्यावारिधि गरिरहेका विद्यार्थी हरूलाई अङ्ग्रेजी, गणित र विज्ञान पढाएको छु। रोजगारी सृजना र उद्यमशीलता सम्बन्धी गोष्ठी, सम्मेलन हरूमा सहभागी हुनुका साथै ग्रामीण उद्यमशीलता प्रवर्धन समूहहरूमा प्रत्यक्ष रूपमा सहभागी भई केही कृषि तथा ग्रामीण साना उद्योग–धन्दा स्थापित गर्न प्रयासरत छु। मेरो शिक्षा, रोजगारी सिर्जना र उद्यमशीलताको प्रवर्धन क्षेत्रको लामो समयको व्यक्तिगत अनुभवको आधारमा नेपाल र विकसित देशको शिक्षा प्रणालीमा के तात्त्विक भिन्नता छ ? हाम्रो शिक्षा संयन्त्र किन गुणस्तरीय र उद्यमशीलता हुन सकेन त ? भन्ने विषयमा समीक्षा गर्न चाहन्छु।

शिक्षा र सिप आर्जनको यात्रामा लक्ष एउटै भए पनि बाटाहरू फरक हुन सक्छन्, त्यसैले आफ्नै बाटो चुनेर लक्ष्य प्राप्ति गर्न सुझाईन्छ। यस्तो प्रवृत्तिले रचनात्मकताक, सृजनशीलता र मौलिकताको प्रवर्धन गर्छ।

विकसित देशहरूमा खास गरी युरोप र अमेरिकामा स्वतन्त्रता, स्व–अध्ययन र प्रयोगात्मक शिक्षणलाई प्रवर्धन गरिन्छ। क्रियाकलाप, स्थलगत भ्रमण र समस्या समाधान जस्ता पठन–पाठनका विधिमा जोड दिइन्छ। विद्यार्थीहरूलाई कुनै जवाफ उत्तरलाई सही गलतको श्याम या श्वेत द्वैत उत्तर खोज्ने सङ्कीर्ण मानसिकताबाट मुक्त गरिन्छ। मौलिक, स्वच्छन्द र आफ्नै शब्दमा उत्तर लेख्न प्रेरित गरिन्छ। अमेरिकामा कुनै विद्यार्थीको उत्तर ३० ५ हुबहु भए या अन्य कुनै प्रकाशित लेखहरूसँग सँग मिल्न गए त्यसलाई बदर गरिन्छ। शिक्षा र सिप आर्जनको यात्रामा लक्ष एउटै भए पनि बाटाहरू फरक हुन सक्छन्, त्यसैले आफ्नै बाटो चुनेर लक्ष्य प्राप्ति गर्न सुझाईन्छ। यस्तो प्रवृत्तिले रचनात्मकताक, सृजनशीलता र मौलिकताको प्रवर्धन गर्छ।

यसको विपरित नेपालमा धेरै शिक्षक प्राध्यापक आफ्ना १० वर्ष अघिको टिपोट (नोट) बाट कालो सेतोपाटीमा उत्तर लेख्छन् र हुबहु सार्ने र त्यही उत्तर लेख्नेलाई अब्बल नम्बर दिइन्छ। यस्तो अर्काको रेडीमेड उत्तरलाई घोकेर हुबहु उत्तर पुस्तिकामा उतार्ने प्रवृत्तिले मौलिकतालाई निरुत्साहित गर्छ। यसको दूरगामी असर उद्यमशीलतामा पर्छ। यसले पराश्रित हुने प्रवृत्तिको प्रवर्धन गर्छ। यसले आफैँ उद्यमशीलतामा (अवसरको पहिचान र सदुपयोग) गर्नुको साटो कसैले दिएको नोकरी (जागिर) खोज्ने प्रवृत्ति प्रतिस्थापित हुन्छ। आफैँ गर्न सक्छु भन्ने आत्मविश्वासमा ह्रास आउँछ। यसको फलस्वरूप आज वैदेशिक रोजगारको लागि जान्छु भने जसले पनि ऋण दिन्छन् तर आफ्नै गाउँ–ठाउँमा केही उद्यम फर्म खोल्छुभन्दा लगानीकर्ता भेट्न ग्राहक पर्छ। त्यस्तै विदेश जाने युवालाई धेरै आफ्नो छोरी-बहिनी दिन तैयार हुन्छन् तर आफ्नै गाउँघरमा गरी खान्छु भन्ने उर्जावान युवा हाँसोको पात्र बन्छ।

त्यसैले, आज नेपालको लाखौँको सङ्ख्यामा दक्ष जनशक्ति विदेशमा छ। हुन पनि किन नहोस् त नेपालमा अनुसन्धान गर्ने न प्रयोगशाला छन् न त्यस्ता अनुसन्धानका निष्कर्षलाई प्रविधि बनाई प्रयोगमा ल्याउनका लागि कम्पनी नै छन्। त्यसैले अहिले पहाडका मान्छे तराई झर्न चाहन्छन्, तराईका काठमाडौँ चढ्न चाहन्छन् भने काठमाडौँका विदेश उड्न चाहन्छन्। यो दक्ष जनशक्ति पलायन रोक्न केही दीगो योजनाहरू बनाई तिनको कार्यान्वयन गर्नु आवश्यक छ।

देशको झन्डै एक तिहाइ जनसङ्ख्या र दक्ष युवाशक्ति आज विदेशमा छ। यी युवाले मतदान गर्न पाउनुपर्छ भन्ने अभियान त चलेका छन् तर यी युवाको भावना बुझ्ने सक्षम नेतृत्वको अभाव छ। यदि हाम्रो एक तिहाइ अर्थतन्त्र विदेशबाट विप्रेषित पूँजीबाट चल्छ भने अब हामीले यी युवाबाट शिक्षा र उद्यमशीलता प्रवर्धनमा लगानी र सहकार्य गर्ने सञ्जाल निर्माण गर्नैपर्छ।

नेपालमा प्रयोगशाला, उद्यमशीलता केन्द्र र कम्पनीहरूको स्थापनाका चुनौतीहरू
नेपालमा प्रयोगशाला, उद्यमशीलता केन्द्र र कम्पनीहरू स्थापित गर्न केही चुनौतीहरू छन्। पहिलो कुरास् भौतिक संरचनाहरू पर्याप्त नहुनु हो, दोस्रो दक्ष जनशक्तिको अभाव। हामी दृढ-संकल्पित र सम्बन्धित क्षेत्रका विज्ञहरूसँग सम्पर्कमा छौ भने त्यस्तो कम्पनी बनाउन चाहिने संरचना र प्राविधिक जनशक्ति पनि जुटाउन सकौँला तर तेस्रो र सबभन्दा महत्त्वपूर्ण कुरो स्थानीय, प्रादेशिक र सङ्घीय सरकारको सहयोग हो। सरकारहरूको सहयोग र संरक्षणबिना यस्ता योजनाहरू दिगो हुन कठीन हुन्छ।

सरकार र स्थानीय प्रशासनको सहयोग र संरक्षण चाहिन्छ भन्दा हामी आफ्नो देशको वर्तमान नेतृत्व र सरकारहरू सम्झी निराश हुने अवस्था छ। आफ्नो देशमा भित्रिने तरकारी र फलफूलमा छरिएको विषादी परीक्षण गर्ने पूर्वाधार पनि छैन। मन्त्रीहरूलाई मतलबै छैन। प्रधानमन्त्रीलाई त झन् अत्तो–पत्तो छैन। प्रधानमन्त्री रोजगार योजनाको बजेट असारमा घाँस उखेल्नुको सँगै–सँगै आवश्यक परीक्षण यन्त्रहरू (क्रोमैटोग्राफ, मास स्पेक्ट्रोमीटर र एनएमआर (HPLC, GC/LC-MS, NMR) किनेको भए म जस्ता कैयौँ रसायनशास्त्रीले स्वदेशमै रोजगार पाई आफ्नो मातृभूमिको सेवा गर्ने अवसर पाउनुका साथै जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने सेवामूलक कार्य गर्न पाउने थिए।

हाम्रै छिमेकमा चीन सरकारले १९९० र २००० का दशकमा “ब्रेन सर्कुलेशन“ कार्यक्रम अन्तर्गत प्रवासी चाइनिज मूलका विज्ञहरूलाई चीनको आधुनिकीकरण गर्न प्रोत्साहन गर्ने प्याकेजहरू ल्यायो। हालै भारतको विज्ञान और प्रौद्योगिकी विभाग (DST) ले विदेशका प्रतिष्ठित प्रयोगशालाबाट भारत फर्की त्यस्तै अनुसन्धान अघि बढाए प्रति महिना ४१०,००० सम्मको सहयोग गर्ने घोषणा गरेको छ।

विज्ञप्ति निकालेपछि अब के गर्ने भन्ने परराष्ट्र मन्त्रीलाई थाहा छ जस्तो लाग्दैन। प्रधानमन्त्रीलाई त झन् त्यो विज्ञप्ति निस्केको बारेमै थाहा छैन होला। हाम्रा नेताहरू विदेश आफू र आफ्ना परिवारको उपचार गर्न मात्रै जान्छन् भन्दा अत्युक्ति नहोला अब।

छिमेकमा यति भईसक्दा पनि नेपाल सरकारको तर्फबाट उखान र टुक्का बाहेक अरू केही सुनिएन। निकट भविष्यमा पनि यस्तो पूर्वाधार निर्माण गरी देश–विदेशका दक्ष जनशक्ति भित्र्याउन ठोस योजना देखिँदैन। ब्रेन ड्रेन भनेर परराष्ट्र मन्त्रालयको एउटा विज्ञप्ति निस्कियो तर त्यसपछि प्राविधिक कौशल भएका प्रवासी नेपालीलाई स्वदेश फर्किन केही ठोस कार्यनीति देखिएन। विज्ञप्ति निकालेपछि अब के गर्ने भन्ने परराष्ट्र मन्त्रीलाई थाहा छ जस्तो लाग्दैन। प्रधानमन्त्रीलाई त झन् त्यो विज्ञप्ति निस्केको बारेमै थाहा छैन होला। हाम्रा नेताहरू विदेश आफू र आफ्ना परिवारको उपचार गर्न मात्रै जान्छन् भन्दा अत्युक्ति नहोला अब।

शिक्षा प्रणालीलाई गुणस्तरीय र उद्धमशील बनाउन चाहिने पूर्वाधार, सन्जाल र संरचना
अब शिक्षा प्रणालीलाई गुणस्तरीय र उद्धमशील बनाउन पूर्वाधार, सन्जाल र संरचना निर्माणमा देश विदेशमा छरिएर बसेका सबै नेपाली जुट्नुपर्छ। हरेक प्रदेशमा कम्तिमा एउटा वैज्ञानिक अनुसन्धान तथा प्रविधि प्रवर्धन केन्द्र खोल्न सङ्घीय र प्रादेशिक सरकारहरूले गुरुयोजना बनाउनुपर्छ। त्यसपछि त्यस्ता स्थानीय वैज्ञानिक अनुसन्धान तथा प्रविधि प्रवर्धन केन्द्रहरू सञ्चालन गर्न आवश्यक पर्ने नेपाली मूलका दक्ष जनशक्तिलाई क्षमताका आधारमा खुल्ला प्रतिस्पर्धाबाट चयन गर्नुपर्छ। यसो भए मात्रै सन्तुलित र विकेन्द्रित विकास सम्भव छ। युरोपमा भएका केही अनुसन्धानहरूले वैज्ञानिकहरू आ–आफ्नै जन्मभूमिमा गई प्रयोगहरू गरे झनै मौलिक, व्यवहारिक र समाजसेवा मुखी विज्ञान तथा प्राविधिक विकास हुने तथ्य उजागर गरेका छन्।

हामीले पनि स्थानीय क्षेत्रको आम जन–जीवनमा प्रत्यक्ष असर गर्ने खालको विज्ञान र प्रविधिको त्यही क्षेत्रमा विकास गर्नु आवश्यक छ। उदाहरणको लागि जुम्लामा त्यहीको स्याउ खेती, भण्डारण र जुस प्रशोधन सम्बन्धि अनुसन्धान र प्राविधिक विकासमा जोड दिनुर्पयो भने इलाममा चिया सम्बन्धी या कर्णाली, खप्तडमा जडीबुटी सम्बन्धि। यसो गरेदेखि अरू देशका शैक्षिक संस्था र अनुसन्धान केंद्रहरुसँग सहकार्यका बाटो खुल्छन्, पर्यटनको प्रवर्धन हुन्छ। मुस्ताङमा वायु ऊर्जाको सम्भावना तथा हिमाल पारीबाट बादलले नछेक्ने हुँदा ठूला दूर–दर्शक यन्त्रहरू जडान भई खगोल र अन्तरिक्षको अध्ययन गर्ने केन्द्रहरू स्थापित हुन सक्छन्। बिस्तारै यस्ता विज्ञान अनुसन्धान केन्द्र वरिपरि नवीन साना उद्योग खुल्छन् र स्थानीय विकास र अर्थतन्त्र दीगो र नवीकरणीय हुँदै जान्छ।

हाम्रो गाउँघरमा जे परिवर्तन हेर्न चाहन्छौँ हामीले आफैँ त्यो परिवर्तनको उदाहरण भएर देखाउने बेला हो यो। यहाँनिर गाउँ ठाउँमा स्थानीय युवालाई सीप र प्रविधि प्रवर्धन गर्न प्रयासरत देश विदेशमा छरिएर बसेका नेपालीहरूको चर्चा गर्दा अमेरिकाको मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक र स्टार स्कलरस् नेटवर्कका निर्देशक उत्तम गाउँलेका प्रयासहरूको चर्चा गर्न चाहेँ। उत्तम गाउँले भन्छन्, “स्टार स्कलरस् नेपालजस्ता विकासोन्मुख देशका युवालाई प्राविधिक र व्यावसायिक प्रशिक्षण प्रदान गरी उद्यमशीलता प्रवर्धन गर्छ। यस बाहेक अन्तराष्ट्रिय सम्मेलनहरू आयोजना गरी हाम्रो सञ्जालले विकासोन्मुख देशहरूका उच्च शिक्षाका संस्थानहरूसँग सहकार्य गर्छ। नेपाल भ्रमण वर्षको साइतमा आउँदो नोवेम्बेरमा एउटा सम्मेलन काठमाडौँमा आयोजना गरिँदैछ। हामी सरकार र दातृ संस्थाहरूसँग ग्रामीण युवाहरूलाई दक्ष बनाउन र नवीन उद्योग व्यवसाय सुरु गर्ने वातावरण निर्माण गर्न आग्रह गर्दर्छौँ।”

नेपालीहरू जहाँ भए पनि मन नेपाली नै हुन्छ। भौतिक रूपमा सबै जना नेपाल फर्किन नसके नचाहे पनि आज विदेशमा रहेका लाखौँ नेपाली मनहरू देशको लागि केही गर्ने चाहनाले ओतपोत भएको देखेको छु मैले। परदेशमा भएका धेरै युवा मित्रहरू शैक्षिक, आर्थिक क्रान्ति ल्याउनमा इच्छुक छन्। आफ्नो क्षमता र दक्षतालाई प्रयोग गरी नेपालमै केही तालिम केन्द्र, उद्योग–व्यवसाय खोल्ने इच्छा व्यक्त गर्छन्। उनीहरूसँग विज्ञता, साधन, स्रोत छ तर आफ्नै गाउँ–ठाउँमा त्यो विज्ञता परिचालन गर्न स्थान र सञ्जाल छैन। अर्को्तिर गाउँ–घरमै केही गर्न चाहने युवा मित्रहरू छन् जो सँग समय र जोस–जाँगर त छ तर अवसर अनि साधन–स्रोत छैन। यदि आफ्नो गाउँ ठाउँ आफ्नै पुस्तामा समृद्ध बनाउने साझा सपना बोकेका सबै युवाहरू हातेमालो गरी अघि बढ्ने चौतारी र सञ्जाल बनाउन पाए हाम्रो स्थानीय शैक्षिक , आर्थिक र सीपमूलक विकास दीगो हुनसक्छ।

अब परदेशिएका युवा साथीले विदेशमा कमाएको पुँजीलाई आ–आफ्नै गाउँ ठाउँमा विप्रेषण मात्र नगरी गाउँमै भएका युवालाई रोजगारी समेत सृजना गर्ने गरी लगानी गर्ने सञ्जाल विकसित गर्नु आवश्यक छ। आज सामाजिक सञ्जालको जमाना छ। विदेश बस्ने आफन्त साथीभाइलाई आईफोन, प्ले स्टेसन, डीएसएलआर क्यामरामात्रै नमागौँ। चन्दा र अनुदान मात्रै दिनुहोस् पनि नभनौँ। ग्रामीण शिक्षा र उद्यमशीलतामा लगानी गर्नुहोस् भनौँ।

नेपाल फर्कौँ अभियानको विस्तृत सम्भावनाः
अहिले केही नेपाली बिज्ञ तथा ब्यवसायीहरु नेपाल फर्कौँ महाअभियानमा सक्रिय छन्। उनीहरुले अभियानको वेबसाइट तयार गरेर फर्कन चाहनेहरूको योग्यतालाई लक्षित गरी टिम निर्माण,सम्पर्क बिस्तार, सामूहिक लगानी तथा परामर्श मार्फत नेपाल फर्किन चाहने र फर्की सकेकाको लागि उत्प्रेरणाको काम गर्दै आएका छन्।

अमेरिकाको झण्डै दश बर्षे बसाई बिट मारेर नेपाल फर्केकी बिनिशा श्रेष्ठ भन्छिन्, ‘विदेश पठाउने सयौँ सङ्घ संस्था छन्। तर नेपाल फर्की आफ्नै देशमा केही गरौँ भन्ने चाहना भएका नेपालीलाई फेरि नेपालमै स्थापित हुन सहयोग गर्ने, उनीहरूका अधिकार सुरक्षित गर्ने, उद्योग–व्यवसाय दर्ताको प्रक्रिया सहज बनाउन मद्दत गर्ने संस्थाको रूपमा नेपाल फर्कौँ महाअभियानलाई विकसित गर्दै लैजाने हाम्रो लक्ष्य हो।”

अर्का अभियन्ता राजेन्द्र पंगेनी भन्छन् “हामीले विदेशमा रहेको भौतिक र व्यक्तिगत केही सुविधा त्यागेर आफ्नै देश फर्केर सामूहिक योगदान दिन सकेनौँ भने विदेशमै जन्मे हुर्केका हाम्रा सन्ततिको पुस्ताले हाम्रो देश बनाउने कुरा झनै अकल्पनीय हो। आफ्नो गाउँ–ठाउँ र देशका लागि हामीले यति योगदान नगर्दासम्म मुलुक बन्न मुस्किल नै हुन्छ। यसको लागि आफ्ना गाउँबाट बिदेशिएका व्यक्तिहरूले सामाजिक सञ्जालको सदुपयोग गरेर एउटा सञ्जाल निर्माण गर्न जरुरी छ।गाउँमै गएर केही गर्ने वातावरण निर्माण गर्नुपर्छ।

सुदूरपश्चिम उद्यमशीलता केन्द्रका परिकल्पनाकार हेमराज ढकाल भन्छन्, “ ७ नम्बर प्रदेशको लागी कुनै पायलट प्रोजेक्टको थालनी गर्नका लागि हाम्रो पहिलो कदम एउटा गतिशील मञ्चको स्थापना गर्नु हुनेछ जहाँ हरेक सदस्य एक–अर्कासँग सजिलै संवाद गरी जोडिन सकोस्। यो मञ्चले समान विचार भएका व्यक्तिहरु बिच विश्वास र कुनै परियोजनामा मैत्रीपूर्ण सहकार्यको प्रवर्धन गर्नेछ। संक्षेपमा भन्नुपर्दा, यो मञ्चले दुइटै महत्त्वपूर्ण पाटाहरू लगानीकर्ताको पहिचान र परियोजना सञ्चालनलाई एउटै धरातलमा उभ्याउने छ।”

यस्तै धारणा लामो समयदेखि कोरिया बसेर सुदूरपश्चिम समाज र गैर आवासीय नेपालीहरूका संस्थामा नेत्रृत्वदायी भूमिका निभाउँदै आएका युवा उद्धमी धर्मराज जोशी १ वर्ष भित्रै नेपाल (धनगढी) फर्केर स्थानीय युवाहरूसँग सहकार्य गरेर ग्रामीण उद्यमशीलता प्रवर्धन गरी रोजगारी सिर्जना गर्ने योजनामा छन्। उनी भन्छन्, “हाम्रो लक्ष्य भनेको नेपाल र नेपालीका लागि नेपालमा नै उद्यमशीलताको विकास गरौँ भन्ने हो।” अरूले केही गरेन भन्दा पनि म देश समाज स्वयम् आफ्नो लागि के गर्न सक्छु सुरुवात म बाट गर्नु पर्छ मैले नगरे कसले गर्ने ? समाज पछाडि पर्नुमा मुख्य हात मेरो पनि छ भन्ने कुरा सबै साथीले मनन गर्नु आजको आवश्यकता हो। यदि यति कुरा सबैले मनन र्गयौ भने पक्कै पनि हामी केही न केही सन्देशमूलक कार्य सजिलै गर्न सक्ने कुरामा दुई मत छैन।”

कतिलाई हाम्रो जीवन यहाँ चलेकै छ, हामी किन टाउको दुखाउने भन्ने पनि लाग्ला। तर के हाम्रो आफ्नो गाउँ ठाउँ र देशप्रति दायित्व छैन? के हाम्रो विज्ञता, साधन स्रोत र विदेशको बसाई दुई चार पैसा कमाई महँगा गाडी र फोनहरू किनी, देश विदेश घुमेका सेल्फी र लाइभ भिडीयोहरु सामाजिक सञ्जालमा हाली, आफ्नै बखान गरी, लाइक र कमेन्ट्स गन्दै बस्नका लागि मात्रै हो?

होइन भने आफ्ना गाउँ ठाउँका दाजुभाइहरूलाई मद्दत गर्न अघि सर्ने बेला हो यो। हामी सबै युवा मिलेर नेपालमा विज्ञान तथा प्रविधिको आधारभूत शिक्षा प्रदान गर्ने एउटा संस्थाको खाका कोर्न अबेला भईसक्यो।प्रवासका नेपाली मूलका सबै वैज्ञानिक हरू एकजुट हुने बेला भो।

विदेशमा बसेर पनि आफ्नो विज्ञता र प्राविधिक ज्ञान प्रयोग गरी नेपालका युवालाई उच्च–शिक्षा र सिप प्रदान गर्न, साधन–श्रोत जुटाउन र प्रशिक्षण दिन यूनिवर्सिटी अफ क्यालिफोर्नियाको शल्यक्रिया विभागका प्राध्यापक तथा गैर–आवासीय नेपाली सङ्घ अमेरिका अन्तर्गत साइ–टेक एनोभेशन एन्ड नलेज ट्रान्स्फर कमिटीका अदक्ष डा.तारा सिग्देलका प्रयासहरू सह्राहनीय छन्। सिग्देल भन्छन्, “मूलतः हामीले विदेशबाट आर्जन गरेको सीप र ज्ञान आफ्नो जन्मेको भूमिलाई सहयोग गर्ने भनेको पश्चिममा उपलब्ध ज्ञान र सिप नेपालका केन्द्रीय तथा प्रादेशिक सरकारहरू सँगको सहकार्यमा नेपालकाका विद्यालय तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीसम्म र्पुयाउनु हो।”

उनको बुझाइमा हामीले अहिलेसम्म आर्जेको ज्ञान हाम्रै खर–खाँचा हरूलाई पूर्ति गर्ने्तिर लगाउनु पर्छ। जस्तै, आधुनिक कृषिको ज्ञान हाम्रो स्थानीय बालीहरूको प्रवर्धनमा उपयोग गर्न सके हामी आफ्नै मौलिक कृषिजन्य उत्पादनहरु विश्व बजार सम्म र्पुयाउन सक्छौ। यो सबैको जरो भनेको अहिले उपलब्ध ज्ञानलाई कसरी इन्टरनेट मार्फत उपयोग गर्ने हो र यसको लागि कम्प्युटरको आधारभूत ज्ञान हुनु आवश्यक हुन्छ।“सिग्देल कमिटी यो कुरामा सहयोग गर्ने कार्यक्रमहरूको तर्जुमामा जुटिसकेको छ।

शिक्षामा ठोस सुधारका कुरा गर्दा ग्रामीण भेगका विद्यालयहरूमा पुस्तक, पाठ्यसामग्री, सेतो पाटीका साथै प्रोजेक्ट र कम्पूटर जस्ता आधुनिक उपकरणहरूका साथै इन्टरनेट र्पुयाउनु एउटा मुख्य आधारभूत र व्यवहारिक कदम हो। क्यालिफोर्नियास्थित गैर-लाभकारी सङ्गठन लुमाद्वारा सञ्चालित एउटा परियोजनामा बिना इन्टरनेट र बिजुली (सोलारबाट) खुला स्रोत सफ्टवेयर र प्रोजेक्टरको माध्यमले अन्तरक्रियात्मक तरिकाले पाठ्यक्रम र शिक्षण सामग्री प्रदान गर्न सक्ने प्रविधि विकसित हुँदै छ। डा. तारा सिग्देल गण्डकी प्रदेशसँग सहकार्य गरी यस्ता उपकरण गाउँका विद्यालयहरूमा स्थापित गर्न पहल गर्नका साथै सम्बन्धित निकायलाई यसमा पहल गर्न आग्रह गर्दछन्। डा. महावीर पुनको नेशनल एनोभेशन सेन्टरले पनि यस्ता उपकरणहरूको थोक उत्पादन गर्ने सोच बनाएको छ।

आउनुहोस् देश–विदेशमा रहेका युवाबाट शिक्षा र उद्यमशीलता प्रवर्धनमा लगानी र सहकार्य गर्ने सञ्जाल निर्माण गरौँ। दातृ संस्थाहरूमाझ प्रस्तावहरू लेखौँ, दक्ष जनशक्ति सँगै पुजी र प्रविधि भित्र्याऔँ।

नेपाल फर्कौँ महाअभियान बारे बुझ्न https://www.nepalfarkaun.orgमा हेर्न सकिन्छ।
या [email protected]मा ईमे गर्न सकिन्छ। त्यसैगरी बिनिशा श्रेष्ठ [email protected] या राजेन्द्र प्रसाद पंगेनी [email protected]com लाई सम्पर्क गर्न सकिन्छ। बिदेशबाट लगानी तथा सहकार्य गर्न हेमराज ढकाल [email protected] या विष्णु प्रसाद जोशी  [email protected] लाई सम्पर्क गर्न सकिन्छ। सुदूरपश्चिममा लगानी तथा सहकार्य गर्न धर्मराज जोशीलाई सम्पर्क गर्न सकिन्छ। साइटेक एनोभेशन एन्ड नलेज ट्रांस्फर कमिटी बारे बुझ्न डातारा सिग्देल [email protected]  स्टार स्कलरस् नेटवर्क बारे बुझ्न डाउत्तम गाउँले [email protected] लाई सम्पर्क गर्न सकिन्छ।
आलेख लेखनमा सहयोगडातारा सिग्देलडाउत्तम गाउँले