मकल बालेर सुतेका आमाछोराको मृत्यु

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा मकल बालेर सुतेका आमाछोराको निसास्सिएर मृत्यु भएको छ। कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका कीर्तिपुर नगरपालिका–८ पाँगा बसपार्क नजिकै सुन्दरबस्तीका ३२ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोरा रोमशको मृत्यु भएको हो।

उनीहरुको अक्सिजन अभावमा निसास्सिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिए। भेन्टिलेटर नभएको कोठामा अक्सिजन अभावका कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिए पनि थप अनुसन्धान भइरहेको उनले बताए।

सँगै सुतेका श्रीमान् नवराज भने सकुशल रहेका छन्। बिहान श्रीमतीलाई उठाँउदा नउठेपछि प्रहरीलाई खबर गरिएको थियो।