ओली-प्रचण्ड छलफल सकारात्मक

काठमाडौं। केही दिन यताको संवादहीनतालाई चिर्दै बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीचको भेटवार्ता सकारात्मक भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो करीब २ घण्टा भएको छलफल सकारात्मक भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

सभामुख चयनका लागि अध्यक्षद्वयले फरक फरक नेतालाई अघि सारेपछि समस्या थप समस्या उत्पन्न भएको थियो। माघ ६ गते संसद् बैठक बस्नुअघि सभामुख चयन गरिसक्नेबारे ओली-प्रचण्ड दुवैले निरन्तर प्रयास गरिरहेका छन्। ओलीले पूर्वसभामुख एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रचण्डले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने अडान लिइरहेका बेला उपसभामुख डा. शिवमाया तुम्बाहाङफेको राजीनामा प्रकरणले सभामुख चयनमा सकस देखिएको छ।

यसअघि सचिवालय बैठकले तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएको भए पनि उनले पार्टीका दुई अध्यक्षहरुसँगको भेटवार्तामा आफूले राजीनामा नदिने चेतावनी दिएकी थिइन्। सभामुखको उम्मेदवार चयन नगरी राजीनामा नदिने अडान तुम्बाहाङफेले राखेपछि पुस २७ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक माघ ६ गतेसम्म पुर्‍याउनु परेको थियो।

पछिल्लो समय सभामुख चयन, एमसीसी परियोजना लगायतका विषयमा प्रचण्डले छुट्टै भेला गरेपछि दुई नेताबीच मतभेद र अविश्वासको स्थिति सिर्जना भएको थियो।

ओलीले उपसभामुखलाई राजीनामा दिन स्पष्ट निर्देशन नदिएको भन्दै अर्का अध्यक्ष प्रचण्ड ओलीसँग रिसाएका उनी निकट नेताहरूले बताउँदै आएका थिए।

बिहीबार बिहान ११ बजेदेखि शुरु भएको बैठक १ बजेसम्म चलेको थियो। ओली प्रचण्ड छलफलले ६ गते संसद् सुचारु हुनसक्ने अवस्था सिर्जना भएको बालुवाटार स्रोतले जनाएको छ।