प्रधानमन्त्री कार्यकर्ताका लागि तरबार र गोलीको माला बोकेर हिँड्नुहुन्नः प्रवक्ता बाँस्कोटा

रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको पत्यार लाग्छ ?

काठमाडौं। आफूले राष्ट्रियताको पक्षमा बोल्दा बालुवाटारबाट ज्यान मार्ने धम्की आएको भन्दै सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले लगाएको आरोपको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले खण्डन गरेका छन्।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीले त्यस्तो गर्नै नसक्ने बताएका हुन्।

बाँस्कोटाले प्रतिप्रश्न गर्दै भने,‘भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको पत्यार लाग्छ?, प्रधानमन्त्री त्यस्तो हुनुहुन्छ? कसैको ज्यानै लिने हो?’

उनले प्रधानमन्त्रीमा बहस गर्न रुचाउने र आलोचना सहनसक्ने प्रवृत्ति रहेको बताए। नेता रावलको भनाईमा सत्यता नभएको उल्लेख गर्दै प्रवक्ता बाँस्कोटाले कुनै कुरामा सहमति/असहमति जनाएकै आधारमा कसैको ज्यान मार्ने धम्की दिन नमिल्ने बताए।

‘प्रधानमन्त्रीले आफ्नै कार्यकयर्ताका लागि तरवार र खल्तीमा गोलीको माला बोकेर हिँड्नुहुन्न।’ बाँस्कोटाले भने, ‘उहाँको सुरक्षामा पछुवा पनि छन् र उहाँको साथमा अन्य सुरक्षाकर्मी पनि छन्।’

बाँस्कोटाले प्रधानमन्त्री निवासबाट त्यस्तो धम्की आएको भए खुलस्त पार्न पनि रावललाई चुनौती दिए। उनले भने, ‘साँच्चै त्यस्तो हो भने उहाँले भन्नुपर्छ। यो नम्बरबाट फोन आयो र कसले धम्की दियो भनेर बोल्नुपर्छ।’

रावलले केही दिन पहिले एमसीसीविरुद्ध बोल्दा बालुवाटारबाट ज्यान मार्ने धम्की आएको अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्री नेकपाकै र रावल पनि नेकपाकै भएकाले त्यस्तो हुनै नसक्ने उनको प्रष्टिकरण थियो।