माइक्रोबस दुर्घटना हुँदा सिन्धुलीमा १ को मृत्यु, २० घाइते

काठमाडौं। माइक्रोबस दुर्घटना हुँदा सिन्धुलीमा १ जनाको मृत्यु भएको छ। २० जना घाइते भएका छन्। झापाबाट काठमाडौं आउँदै गरेको बा४ख ६९६ नम्बरको माइक्रोबस बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२, भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना हुँदा काठमाडौं महानगरपालिका–११, गठ्ठाघर निवासी ३८ वर्षीय मोहन मर्हजनको ज्यान गएको हो।

सोही माइक्रोबसका चालक मर्हजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए। घाइते २० यात्रुका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

माइक्रोबस सडकबाट अन्दाजी ३५ मिटर तल खसी दुर्घटना भएको हो। बाक्लो हुस्सु र तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

अन्य सम्बन्धित समाचार:  टिपर र बस ठोक्किँदा १७ जना घाइते