बिरामी बोक्ने एम्बुलेन्सबाट साढे ३० किलो गाँजा बरामद

हेटौंडा। बिरामी बोक्ने एम्बुलेन्सबाट प्रहरीले साढे ३० किलो गाँजा बरामद गरेको छ।  हेटौंडा उपमहानगरपालिकाबाट ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो। शनिबार साँझ करीब ७ बजेतिर वडा नम्बर १९ बाट बा २ झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणमा गाँजा बरामद गरेको बताएको छ।

इलाका प्रहरी कार्यालय मकवानपुर नेवारपानीबाट खटिएको टोलीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो। उक्त सरकारी एम्बुलेन्स रौतहटको डुमरिया स्वास्थ्य चौकीको रहेको खुलेको छ।

पक्राउ पर्नेमा चालक डुमरिया नगरपालिका–९ का मोहम्मद खलिद, डुमरिया–४ का अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनी छन्। उनीहरूले मकवानपुरकै कुनै ठाउँबाट एम्बुलेन्समा गाँजा ओसार्ने गरेको पत्ता लागेको छ।एम्बुलेन्स रोकेर हेर्दा तीन वटा झोलाभित्र ६ पोकामा राखेको गाँजा र ९१ हजार रूपैयाँ पनि बरामद भएको छ। एम्बुलेन्ससहित नियन्त्रणमा लिइएकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।