छिट्टै ठडिने आशामा धरहरा (हेर्नुहोस् भिडियोमा)

गणेशराज ओझा/अन्जु सेन्चुरी। २०७२ साल बैशाख १२ गते ढलेको धरहरा विस्तारै उठ्डैछ। धरहरा निर्माणमा जुटिरहेका छन् सयौं कामदार। मुख्य जिम्मेवारी लिएको छ, जिआइइटिसी रमन जेभीले। भीमसेन थापाको पुरानो ९ तले धरहरा तस्वीरमा सीमित रहे पनि अब बन्ने २२ तले धरहरा पहिलेकै मौलिक स्वरुपमा उस्तै आकार दिने प्रयत्न हुँदैछ।

नयाँ धरहरा व्यवसायिक प्रयोजनको हिसाबले समेत निर्माण हुँदैछ। त्यसो त धरहरा निर्माणसँगै अत्याधुनिक ३ तले सवारी पार्किङ स्थलसमेत बन्नेछ। भुइँचालोले भत्काएको पुरानै धरहराको गजुर माथिल्लो भागमा राखिने योजनाका साथ काम भैरहेको छ।

नयाँ धरहरा पुरानो भन्दा शहीदगेटतिर १० मिटर अगाडि बनिरहेको छ। नयाँ धरहराको स्वरूप क्षतिग्रस्त धरहराको जस्तै भए पनि मोटाइ भने पहिलेको भन्दा बढी हुनेछ। जसको उचाइ करिब ७७ मिटरको हुनेछ।

अन्य सम्बन्धित समाचार:  गृहमन्त्री बादल थापाको राष्ट्रिय सभाको संसद पद गुम्यो

४२ रोपनी क्षेत्रफलमा फैलिने धरहरा नजिकै सङ्ग्राहालय  र मनोरम बगैंचासमेत निर्माण गरिँदै छ। भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेमभित्र टेम्पर्ड ग्लासले छोपेर राखिने छ। धरहरा बनाउन ३ अर्ब ४५ करोड रुपैयाँ खर्च हुने बताइएको छ। २०७६ माघ १० गतेको दिनसम्म ४९ वटा प्रोटेक्सन पाइल राख्ने काम सकिसकेको छ।

त्यसो त धरहरा नवनिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमै ‘मेरो धरहरा म बनाउँछु’ अभियान शुरु गरे पनि ढिलो गरी शुरू भएको धरहरा अब छिट्टै ठडिने आशामा छन् देशवासी।