प्रतिनिधि सभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित

काठमाडौँ। सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा सर्वसम्मत निर्वाचित भएका छन्। आइतबार अपरान्ह बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सभामुखमा निर्वाचित भएको घोषणा गरेको हो। नेकपाका संसदीय दलका उपनेता सुवास नेम्बाङले ‘अग्निप्रसाद सापकोटालाई सभामुखमा निर्वाचित गरियोस्’ भन्ने गरेको प्रस्तावलाई प्रतिनिधिसभाको बैठकले सर्वसम्मतीले पारित गरेको थियो।

प्रस्तावको समर्थकको रुपमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले रहेका थिए। जेष्ठ सदस्यको हैसियतले प्रतिनिधिसभा बैठकको अध्यक्षता ग्रहण गरेका राष्ट्रिय जनता पार्टी (राजपा)का नेता महन्थ ठाकुरले सापकोटा सभामुखमा निर्वाचित भएको घोषणा गरेका थिए।

सभामुख पदका लागि सापकोटाको मात्रै उम्मेदवारी परेको थियो। गत सोमबार नेकपाका तर्फबाट सापकोटाले सभामुखमा उम्मेदवारी दिएका थिए। सभामुख पदका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवारी दिएको थिएन।

अन्य सम्बन्धित समाचार:  नबोलाएको बैठकमा कसरी जानू: उपेन्द्र यादव