‘अर्जुन रेड्डी’ को निर्देशन विशाल सापकोटाले गर्ने

काठमाडौँ। तेलगु फिल्म अर्जुन रेड्डीको नेपाली भर्सनलाई निर्देशक विशाल सापकोटाले निर्देशन गर्ने भएका छन्। चलचित्रको निर्देशक फाइनल भए सँगै विशाल सापकोटाले निर्देशन गर्ने पक्का भएको हो। निर्देशक सापकोटाले आगामी माघ २४ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र सेल्फी किङ’ लाई पनि निर्देशन गरेका हुन्।

‘युवा फिल्मस’ का तर्फबाट केशव खड्का र ‘अर्जुन रेड्डी’ निर्माण कम्पनी भद्रकाली पिक्चर्सका तर्फबाट निर्माता प्रणय रेड्डीले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका हुन्। केही समय अगाडि ‘युवा फिल्मस’ र ‘जी २१ फिल्मस’ ले सहकार्य गर्ने कुरा बाहिरिएको थियो।  यो खबरलाई पुष्टि गर्दै ‘जी २१ फिल्मस’का आसिफ शाहले सामाजिक सञ्जालमार्फत निर्देशक सापकोटालाई टिममा स्वागत गरेका छन्।

यस अगाडि नै ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक ‘कबिर सिङ’ निर्माण भइ प्रदर्शन भइसकेको छ। गत वर्षको भारतीय सफल भलचित्र मध्ये यो फिल्म पनि एक हो। फिल्ममा शाहिद कपुरको मुख्य अभिनय रहेको थियो।

नेपाली रिमेकमा अभिनयको लागि भने अहिले सम्म कुनै अभिनेता टुङ्गो लागिसकेको छैन। यस अगाडि चर्चित अभिनेता आर्यन सिग्देलको नाम चर्चामा आएको थियो तर आर्यनले यसको आधिकारिक हिस्सा आफू नभएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका थिए। यो सँगै अहिले अभिनेता विपिन कार्कीको नाम चर्चामा आएको छ।