आमालाई चिठ्ठी

                                                                                                – निषेश कार्की

 

समुन्द्रपारि कोशौँ टाढा बिरानो देशमा
अजनबी वरिपरि यो अपरिचित गाउँमा
वरिपरि स्वार्थले भरिएको जंगल घना
मुटुभरि सजिएको छ केवल तिम्रो सम्झना
देखाउन तिमीलाई यो दिलको घाउ
यो चिठ्ठीबाट आमा, समाएँ तिम्रो पाउ!

तिमी मेरो जीवनको अमूल्य प्रेमको हार
यो आँखामा सँधै, झल्किन्छ तिम्रो अनुहार
बिछोड तिमीसँग हुँदा, छोरा भयो कवि
आमा तिमी नै हौ, यो मेरो जीवनको देवी
छोराको जीवनमा कहिले घाम कहिले छाया
संसारमा सर्वश्रेष्ठ एउटै तिम्रो निश्चल माया।

कलिलो उमेरमै भाग्यले लेख्यो आएँ विदेश
फूलिसक्यो होला तिम्रो कालो लामो केश
फालिदेऊ आमा, हाम्रो बिछोडको खील
सबैभन्दा पवित्र यो संसारमा तिम्रो दिल
तिमी मेरो दिलको चम्किलो तेजस्वी तारा
तिम्रो लागि छाडी दिन्छु यो संसार सारा।

छोरा तिम्रो हुँ कु–कार्य कहिल्यै गर्दिनँ
तिमीलाई नभेटी म मर्दै मर्दिनँ
तिम्रो जिन्दगीको म नै हुँ एक सपना
तिम्रो प्रेमको पवित्र भाग्यमानी रचना
मेरो दिलको तिमी नै हौ अनमोल धन
किन यति विशाल छ आमा तिम्रो मन !

तिम्रो नाममा कहिल्यै मैले पत्र लेखिन
तिमी भन्दा यो संसारमा ठूलो केही देखिन
मलाई सम्झी आमा तिमी आँशु नझार्नु
फर्किन्न छोरा भनि आश कहिल्यै नमार्नु
मेरो नाममा तिमी कति चिठी कोर्छ्यौ
मेरो सम्झनामा तिमी कति कोल्टे फेर्छ्यौ?

तिम्रो शून्यता छ कि भनि मेरो मन झस्किन्छ
तिम्रो यादमा मेरो मुटु, हरपल चस्किन्छ
सम्झना तिमीलाई विदेशबाट लाखौँ लाख
यो संसारमा सबैभन्दा प्रिय तिम्रो काख
यो जिन्दगीमा तिम्रो नै माया हो जिन्दावाद
मलाई आमा चाहिन्छ केवल तिम्रो आर्शिवाद।

सम्झनामा मेरो आमा तस्वीर नछुनु
म छु तिम्रो साथ एक्लो कहिल्यै नहुनु
म नै हुँ तिम्रो दिलको अमूल्य ताज
म जीवित हुनुमा तिम्रो प्रेम हो राज
कोमल मुटु तिम्रो, सबै तिम्रा लागि सारा
मेरो यादमा बिन्ती नबगाउनू है आँशुका धारा।

तिम्रो मायाको आमा म नबुझ्ने भमरा
मेरो लागि बिन्ती, नरोप्नू यो दशैंमा जमरा
दशैंमा पनि म आउन सकिन लगाउन टिका
मेरो अनुपस्थितिमा बिन्ती नमान्नु है फिका
म आरामै छु यहाँ, नमान्नू केही पीर
मुटुमा हेर्नु आफ्नो, त्यहाँ मेरै छ तस्वीर।

मेरो आजसम्मको कमाएको एउटै छ धन
मेरो हरेक पाइलामा तिम्रो नै छ मिठो चुम्बन
हाम्रो प्रेमको तिमी गीत गाउनु मिलाएर मिठो लय
हाम्रो मिलनको पनि आउँछ आमा पक्कै एक समय
म मर्ने थिएँ यो जीवनमा तिम्रो प्रेम नभए नत्र
तिमीसँगको वियोगमा मुटु फुट्छ हुन्छ यत्र तत्र
नसोच्नुँ आमा बुढेसकालमा छोराले बनायो भनि अलपत्र
बिन्ती आमा नरुनु है पाएमा यो अभागीको पत्र।

नौ महिना पेटमा राखी, सहेर सबै पीडा दुःख
आजको दिनसम्म सकिन दिन तिमीलाई सुख
हाँसेर टार्थ्यौ मेरो हर बदमासी
आमा तिम्रो प्रेमको म अझै छु प्यासी
तिम्रो सम्झनामा, यो आँखा बन्छ आँशुको ताल
आमा धैर्य गर, म आउँछु अब अर्को साल।